लुम्बिनी । रुपन्देहीको लुम्बिनीमा पिकअप भ्यान दुर्घटना हुदा एक बालिकासहित दुइ जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका– ७ स्थित शिवगढिया मोडमा सोमबार बेलुका सवा ५ बजे लु १ च २७६३ नम्बरको पिकअप भ्यान पल्टिँदा १२ वर्षीया अस्मिता यादव र ४८ वर्षीया जानमती यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये ३ जनाको लुम्बिनीस्थित लाइफ केअर अस्पताल मजिदिया र १९ जनाको उपचार भैरवास्थित युनिभर्षल काँलेज अफ मेडिकल साइन्सेज रानीगाउँमा भइरहेको र अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।
घटनाको प्रत्यक्षदर्शी सन्दीप गुप्ताका अनुसार तीव्र गतिमा गुडीरहेको अवस्थामा सो पिकअप भ्यान मोडमा पुगेपछि अनियन्त्रित भई आफैँ पल्टिएको थियो । लुम्बिनीस्थित मायादेवी मन्दिरबाट मुण्डन संस्कार सकेर घर फर्किँदै गर्दा उक्त दुर्घटना भएको थियो ।
मृतक अस्मिता यादव गैडहवा गाउँपालिका‐१ शिवपुरवाकी हुन भने जानमती यादव शुद्दोधन गाउँपालिका‐ ६ मानमटेरियाका निवासी हुन । रिता, गोलकी, अंशिका, रिया, निभा, गदरी, गीता, प्रभावती, रुची, रुपाली, गीता, रुपा, प्रतिभा, लक्ष्मी, प्रदीप, बिमलावती, सरस्वती, पुस्दीप र संदीप यादव लगायतको उपचार भइरहेको र अवस्था सामान्य छ ।
चालकले मादक पदार्थ सेवन गरी सवारी चलाएको परिक्षणमा देखिएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी उपनिरिक्षक दिपक मगरातीले बताए ।
२४ जना महिला तथा बालबालिका बोकेर पडरिया, लोहखडिया र शिवगढिया चोक हुँदै लुम्बिनी सांस्कृतिक नगरपालिका– ८ भरवलिया गाउँतर्फ जाँदै गरेको सो पिकअप भ्यान दुर्घटनापछि कपिलवस्तु जिल्ला शुद्धोधन गाउँपालिका– ४, बिठुवा बस्ने सवारी चालक २६ वर्षीय अशोक पासीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रबक्ता एवम प्रहरी नायब उपरिक्षक (डिएसपी) सुरज कार्कीले बताए ।
‘पिकअप भ्यानहरू मुख्यतः सामान बोक्नका लागि डिजाइन गरिएका हुन्छन, तर अगाडिको क्याबिनमाः २ जना (ड्राइभर र एक सहचालक) वा अधिकतम ३ जनामात्र बस्न मिल्ने ब्यवस्था हुन्छ’, मैकेनिकल इन्जिनियर सुरज बनियाले भने, ‘मानव बोक्ने उद्देश्यले प्रयोग नगर्ने भए पनि व्यवहारिक रूपमा केही ग्रामीण क्षेत्रमा सामानसहित मान्छेहरू पनि बोक्ने गरिएको पाइन्छ, यसको भारवहन क्षमता करिब १ देखि १.५ टन हुन्छ, तर चालक र सहचालक बाहेक अन्य २४ जनालाइ राखेर यात्रा गर्नु ट्राफिक नियमको गम्भीर उल्लंघन हो र यही दुर्घटनाको प्रमुख कारण पनि हुन सक्छ ।’
प्रतिक्रिया