गणतन्त्र पक्षधर दलको निष्कर्ष– तिनकुने घटनाका मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र

काठमाडौँ । आइतबार साँझ सिंहदरबारमा बसेको गणतन्त्र पक्षधर दलको बैठकले गणतन्त्रसँगै अहिलेको व्यवस्थाविरोधी गतिविधिको मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाह भएको निष्कर्ष निकालेको छ । गृहमन्त्री रमेश लेखकका अनुसार आइतबारको बैठकमा संविधान रक्षाको विषयमा सबै दल एकठाउँमा उभिएको र पूर्वराजाकै कारण अहिलेको गतिविधि बढेकामा एकमत भएका थिए ।

‘संघीय लोकतन्त्रिक शासन व्यवस्था उल्टाउने, नेपालको संविधानलाई नै समाप्त गर्ने जति गतिविधि भएका छन्, यो सबैको मुख्य जिम्मेवार पूर्वराजा नै हुन् भन्नेमा सबै दलको एकमत छ,’ लेखकले भने । यस्ता गतिविधि सह्य नहुने पनि दलहरूको निष्कर्ष रहेको बताउँदै उनले तिनकुनेमा भएको घटनालाई दलहरूले ‘अमानवीय, बर्बरतापूर्वक, निर्मम प्रकृतिको’ भएको निष्कर्ष निकालेको बताए ।

शुक्रबारको घटनापछि गणतन्त्रवादीहरूलाई एकैठाउँ उभ्याउन भन्दै प्रधानमन्त्री ओलीले बैठक राखेका थिए । सुरुमा सर्वदलीय बैठक भनिए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र पक्षधर दलहरूलाई मात्र बैठकमा बोलाएपछि बैठक सर्वदलीयबाट गणतन्त्र पक्षधरको भएको थियो । तर, संसद्को चौथो ठुलो दल रास्वपालाई भने बैठकमा डाकिएन ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस नेता कृष्ण सिटौला, माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, शक्ति बस्नेत, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष अशोक राई, जनमतका अध्यक्ष सिके राउत, जनमोर्चाका चित्रबहादुर केसीलगायत सहभागी थिए ।

प्रतिक्रिया