तीनकुने घटना लोकतन्त्रमाथिको प्रहार भन्दै सदनमा छलफलको वातावरण बनाउन सभामुख घिमिरेको आग्रह

काठमाडौं । सभामुख देवराज घिमिरेले शुक्रबार तीनकुनेमा भएको घटना लोकतन्त्रमाथिको प्रहार भएकाले संसदमा छलफल र बहस गर्ने वातावरण बनाउन दलहरुलाई आग्रह गरेका छन् ।

संसद् भवन नयाँ बानेश्वरमा आज भएको राजनीतिक दलका प्रमुख सचेतकसँगको बैठकमा उनले राष्ट्रमाथि भएको घटनाबारे छलफल गरेर संसद जीवन्त रहेको महसुस गराउन आग्रह गरे । अधिवेशन सञ्चालन नभएको अवस्थामा पनि सदन सञ्चालन गर्नुपर्ने अवस्थामा सदन अवरोध कुनै पनि हालतमा उचित नहुने सभामुख घिमिरेले बताए ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि चैत १८ गतेको बैठकमा सम्बोधन गर्ने बताए । उनले संसद् अवरोध खुलाउने विषयमा प्रधानमन्त्री र विपक्षी दलका नेताबीच टेलिफोन संवाद भएको जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री ओलीले आजै सर्वदलीय बैठक बोलाएका छन् । यसैबीच, सत्तापक्षले सदनको अवरोध खुलाउन विपक्षी दललाई अनुरोध गरेको छ । विपक्षी दलले भने आफ्नो अडान यथावत् रहेको जनाएका छन् ।

प्रतिक्रिया