‘अस्थिर’ बाबुरामकाे पुनरागमन कसरत

काठमाडौँ । छिट्टै पार्टी बदल्ने र आफ्नो अडिग धार र एजेन्डामा नरहने नेतामध्येमा पर्छन्– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई । २०४६ सालदेखि उनको राजनीतिक अस्थिरताले पनि यसलाई पुष्टि गर्छ । जब उनले राजनीति सुरु गरे, त्यसै बेलादेखि उनको उतारचढाव र अस्थिरताको यात्रा सुरु भएको देखिन्छ ।

मसालदेखि नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) सम्म आइपुग्दा उनको ३५ वर्षीय राजनीतिक यात्रामा उनी धेरै पटक छटपटाएका छन् । उनको त्यो छटपटाहट अहिलेसम्म शान्त हुन सकेको छैन । कम्युनिस्ट धारलाई समातेर राजनीतिक यात्रामा लागेका उनले आफ्नो राजनीतिक धार नै परिवर्तन गरिसके । तर, अझै स्थिरताको छनक दिएका छैनन् ।

गत शनिबार नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठकमा बाबुराम भट्टराई नेतृत्वको नेसपा (नयाँ शक्ति)की उपाध्यक्ष मानुषी यमी भट्टराई देखिइन् । हुन त त्यहाँ जनमत पार्टीका अध्यक्ष सिके राउत पनि थिए । जनमतसँग नाउपाको एकता अन्तिम चरणमा भएकाले राउतको उपस्थिति सामान्य नै थियो । तर, मानुषीको उपस्थितिलाई सामान्य मान्न सकिने थिएन । उनी आफ्ना बुबा तथा पार्टी अध्यक्षको सन्देश बोकेर बैठकमा पुगेकी थिइन् । सोही सन्देशलाई केन्द्रमा राखेर उनले नाउपाको बैठकलाई सम्बोधन पनि गरिन् ।

यो घटनाले बाबुराम भट्टराई फेरि अर्को एकतामा हो कि ! भन्ने बहस सुरु भएको छ । नयाँ र वैकल्पिक शक्तिहरूसँग मिलेर जानुपर्छ भन्ने भट्टराईको पछिल्लो विचारधारा हेर्दा एकताका लागि उनले पहल सुरु गरेको स्पष्ट हुन्छ । नेसपाको प्रथम महाधिवेशनमा प्रस्तुत राजनीतिक तथा संगठनात्मक प्रस्तावमा पनि भट्टराईले फेरि एक पटक अर्को एकतामा लाग्ने संकेत गरेका छन् । नेसपाको राजनीतिक तथा संगठनात्मक प्रस्तावमा विवेकशील साझा पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतलाई नयाँ र वैकल्पिक शक्तिका रूपमा विश्लेषण गरिएको छ । र, देशलाई दिगो र अग्रगामी विकल्प दिन उनीहरूबीच सहकार्य र सहयात्राको प्रयत्न गनुपर्ने भनिएको छ ।

तर, नाउपा र जनमतसँग अहिले नै एकता हुन लागेको भन्ने चर्चालाई नेसपा भने खारेज गर्छ । यसलाई वैकल्पिक शक्तिहरूबीचको विचार र एकअर्काको मुद्दामा एकैठाउँमा उभिने सहकार्यका रूपमा हेरिनुपर्ने नेसपाको धारणा छ । तर, नाउपा र जनमतले आफूलाई वैकल्पिक शक्ति नभनिसकेको अवस्थामा भट्टराईले कसरी कार्यगत एकता गर्लान् भन्ने प्रश्न उठेको छ ।

सधैँ अस्थिर बाबुराम

भट्टराई नेतृत्वको संयुक्त जनमोर्चाले २०५२ माघमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० सूत्रीय माग पेस गर्दै १ फागुनदेखि जनयुद्धमा होमियो । त्यसपछि शान्ति प्रक्रिया, २०६४ सालको पहिलो संविधानसभा निर्वाचनबाट बनेको सरकारको अर्थमन्त्री बनेका उनी माओवादीभित्र चर्चित र प्रभावशाली नेतामा पर्थे । माओवादीमा उनलाई प्रचण्डपछिको नेतृत्वकर्ताका रूपमा पनि हेरिन्थ्यो । माओवादीभित्र भट्टराईको दबदबा यति धेरै थियो कि २०६८ सालमा भट्टराईलाई प्रधानमन्त्री बनाउन प्रचण्ड बाध्य भए ।

उनी प्रधानमन्त्री भएकै बेला संविधानसभा विघटन भयो । त्यसपछि प्रचण्ड र भट्टराईबीच शक्ति सन्तुलनको बहस चुलियो र प्रचण्डले माओवादीको सम्पूर्ण शक्तिमा हस्तक्षेपकारी भूमिका निर्वाह गरे । माओवादीमा एक्लै परेका भट्टराई संविधान जारी भएको एक सातामै माओवादीबाट अलग्गिए । ३ असोज, २०७२ मा संविधान जारी भएपछि ९ असोजमै उनले पार्टीको उपाध्यक्षसँगै सांसद पद नै परित्याग गरे ।

त्यसबेला उनले माओवादी मात्र त्यागेनन्, कम्युनिस्ट विचार नै छाडेर ३० जेठ, २०७३ मा नयाँ शक्ति नामको आफ्नै पार्टी घोषणा गरे । तर, उनलाई नयाँ पार्टी फापेन, पार्टी परित्यागपछि साथ दिएका नेताहरूले नै उनलाई छाडेर माओवादीमा फर्किएपछि नयाँ विचारधारामा हिँडेका भट्टराई झनै अस्थिर बने । २०७४ वैशाख र असारमा स्थानीय तहको निर्वाचन हुँदा उनले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग गठबन्धन गरे र गठबन्धनसँगै एकतालाई पनि सँगसँगै लिएर गए । ८ वैशाख, २०७४ देखिको प्रयास २३ वैशाख, २०७६ मा बल्ल सफल भयो । र बन्यो– समाजवादी पार्टी । त्यसपछिको बदलिँदो राजनीतिक परिवेशमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीबीच १० वैशाख, २०७७ मा एकता भयो र जनता समाजवादी पार्टी बन्यो । त्यसमा भट्टराईको निकै सक्रियता देखिएको थियो ।

तर, उनको त्यो मिहिनेत लामो समय टिकेन । जसपाभित्रै पूर्वराजपा गुट र पूर्वसपा गुट मौलायो । र, अन्तमा जसपा टुक्रिएरै छाड्यो । तर, २०७८ भदौमा जसपाको आधिकारिकता यादव–भट्टराईसँग आयो । पार्टीको केन्द्रीय अध्यक्षमा यादव र संघीय परिषद् अध्यक्ष भट्टराई भए । तर, भट्टराई महत्वकांक्षी हुँदा उनीहरूबीच विवाद बढ्न थाल्यो । ३० असार, २०७९ मा पार्टी विभाजन गर्ने गतिविधिमा लागेको भन्दै जसपाको यादव पक्षले भट्टराईलाई कारबाही गर्दै पदबाटै हटाइदियो ।

त्यसपछि साउनमा नै उनले महिन्द्र राय यादवसहित नेतालाई साथमा लिएर नेपाल समाजवादी पार्टी (नेसपा) गठन गरे । पार्टीमा भट्टराई र यादव दुवै जना अध्यक्षको हैसियतमा थिए । २०७९ को दोस्रो प्रतिनिधिसभा निर्वाचनताका नेसपा र माओवादी केन्द्रबीच एकताको चर्चा चुलियो । सोहीअनुसार माओवादीकै चुनाव चिह्न लिएर नेसपाले निर्वाचनमा भाग लियो । भट्टराईले त आफ्नो निर्वाचन क्षेत्र प्रचण्डलाई हस्तान्तरण गरेर चुनाव जिताउनै लागिपरेका थिए ।

तर, निर्वाचनपछि भट्टराई फेरि राजनीतिमा अस्थिरताको बाटोतिर लागे । पार्टी एकताको विषयमा भट्टराई मौन बस्दा महिन्द्र राय यादव एकताको पक्षमा उभिएर माओवादीसँग एकताको सम्झौतामा हस्ताक्षर गरे । माओवादीसँगको एकताका लागि सुरुमा आफैँले अग्रसरता देखाएका भट्टराईले पछि माओवादीसँग एकता प्रथम दृष्टिमै अमान्य भएको भन्दै ४ चैत, २०८० मा महिन्द्र राय यादव पक्षधर नेताहरूको जिम्मेवारी नै खोसिदिए । त्यसपछि एक्लिएका भट्टराई फेरि एक पटक नाउपा र जनमतसँग अस्थिरताको अर्को अध्यायमा लागेका छन् ।

त्यसअघि नेसपा नयाँ शक्ति अध्यक्ष बाबुराम भट्टराई र नाउपा संरक्षक चौधरीबीच एकता वार्ता चलेको थियो । त्यो छलफलमा जनमत र नाउपा मिल्दा आफू तल बसेर पनि सहयोग गर्न तयार रहेको भट्टराईले बताएको संरक्षक चौधरीको दाबी छ । यद्यपि छलफलका शृंखला बाँकी नै रहेकाले एकीकरण प्रक्रियामा नेसपा नयाँ शक्ति सामेल हुने÷नहुने अनिश्चित नै छ ।

‘भुत्ते विचारधाराले पुनरागमन सम्भव छैन’

बाबुराम भट्टराई नेपालका सम्मानित र चर्चायोग्य व्यक्तित्व हुन् । शान्ति प्रक्रियामा मुख्य पात्रका रूपमा देखिएका उनी पूर्वप्रधानमन्त्री पनि हुन् । तर, पछिल्लो समय उनी सरकारले आयोजना गर्ने र पूर्वप्रधानमन्त्रीहरूको सहभागिता रहने कार्यक्रममा देखिँदैनन् । उनलाई बोलाइएन वा बोलाएर पनि गएनन्, त्यो फरक विषय हो । तर, उनी ओझेलमा भने परेका छन् । पूर्वप्रधानमन्त्रीका रूपमा झलनाथ खनाल, माधवकुमार नेपाल, शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले पनि राजनीतिमा आफ्नो प्रभुत्व जमाउन सफल छन् । तर, भट्टराई भने राष्ट्रिय राजनीतिको किनारामा गुमनाम जस्तै छन् ।

राजनीतिको किनारामा रहेका उनलाई फेरि एक पटक पुनरागमन गर्नुछ र आफ्नो शाख जोगाउनु छ । त्यसैको प्रयासमा उनी अहिले लागेका छन् । त्यसका लागि उनको पहिलो विकल्प नै मधेसको राजनीति हो । त्यही कारण उनले माओवादी परित्यागपछि उपेन्द्र यादवसँग साथ खोजेका थिए । देशको शासनसत्ता समेत सम्हालिसकेको व्यक्ति राष्ट्रिय राजनीतिबाटै किनाराकृत बनेपछि उनी त्यसयता निरन्तर शक्ति आर्जनको कसरतमा छन् । नयाँ र वैकल्पिक शक्ति निर्माण भन्दै जनमत बटुलेर राष्ट्रिय राजनीतिमा पुनरागमनको दाउमा रहेका उनले त्यसयता धेरै पार्टीसँग एकता गरिसकेका छन् ।

कम्युनिष्ट विचारधारा छाडेर नयाँ शक्तिको नाममा भट्टराईले ‘भुत्ते विचारधारा’ अँगालेको राजनीतिक विश्लेषकहरू बताउँछन् । हरेक एकता र राष्ट्रिय राजनीतिमा फर्किने प्रयास असफल हुनुमा भट्टराईको आफ्नै कमजोरी देखिएको विश्लेषण गर्दै एक राजनीतिक विश्लेषक उनको अस्पष्ट विचारधाराले कुनै परिवर्तन र स्थिरता दिन नसक्ने भएकाले उनले अँगालेको विचारधारा ‘भुत्ते’ भएको बताउँछन् ।

राजनीतिको उत्तराद्र्धमा पुगेका उनलाई अब आफ्नो शाख जोगाउन सहज भने छैन । आफ्नै अस्थिरताका कारण पनि उनी अब राजनीतिमा उँभो लाग्न नसक्ने राजनीतिक विश्लेषक डम्बर खतिवडा बताउँछन् । ‘उहाँ आफैँ अस्थिर हुनुहुन्छ, अब राजनीतिको भेलमा अघि बढ्न निकै गाह्रो छ । जोसँग एकता गरे पनि स्पष्ट विचारधारा नभएकाले त्यो सफल हुनसकेको छैन,’ विश्लेषक खतिवडाले भने, ‘अहिले नाउपा र जनमतसँग एकता हुने रे भन्ने सुनेको छु । यदि एकता भयो भने पनि त्यो ७ देखि ८ महिनाभन्दा जाँदैन ।’

प्रतिक्रिया