काठमाडौँ । एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको १०औँ केन्द्रीय महाधिवेशन विराटनगरमा सुरु भएको छ । तर, महाधिवेशनको पहिलो दिन नै संगठनको भावी नेतृत्वको विषयमा देखिएको विवाद छताछुल्ल भएको छ । महाधिवेशनको उद्घाटनका लागि प्रमुख अतिथिका रुपमा उपस्थित भएका एमाले महासचिव शंकर पोखरेलले सहमतिबाटै नेतृत्व चयन गर्न निर्देशन दिए ।
उनको निर्देशनले पछिल्लो समय पार्टीभित्र देखिन छाडेको स्वस्थ प्रतिस्पर्धा र निर्वाचन प्रक्रियालाई फेरि एकपटक पार्टीको संगठनमा लाद्ने प्रयत्न भएको देखिएको छ । अहिले चौतारीको अध्यक्षका लागि उपाध्यक्षद्वय राजेश राई र गणेश पाण्डे प्रत्यासी छन् । गणेश पाण्डेलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले चयन गरिसकेका छन् । त्यसलाई महाधिवेशनमार्फत् सर्वसम्मतिको नाममा टुंग्याउन नेताहरूलाई जिम्मा दिइसकेका छन् । तर, अध्यक्षका अर्का प्रत्यासी राई भने निर्वाचनमार्फत् नै नेतृत्व चयन गरिनुपर्ने अडानमा छन् ।
उनको त्यो अडान आइतबार महाधिवेशन परिसरमा पनि देखियो । राई पक्षले पार्टीको निर्देशन र ‘टिके’ प्रथाको विरोध गर्दै निर्वाचनको माध्यमबाट नेतृत्व चयन गर्नुपर्ने भन्दै हस्ताक्षर क्याम्पेन नै चलायो । महाधिवेशस्थल परिसरमै ठुलो ब्यानरमा र लिखित कागजमै राई पक्षले हस्ताक्षर अभियान चलाएको थियो । जसले गर्दा एमालेको एउटा जनसंगठनको रुपमा रहेको प्रेस चौतारीको महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रियामै विवाद सुरु भएको छ ।
एमालेले अहिले पार्टीले कुनै पनि जनसंगठनको निर्वाचन नगर्ने र सहमतिमै नेतृत्व चयन गर्ने नीति अघि सारेको छ । जसकारण अहिले चौतारीको महाधिवेशनमा विवाद चलेको हो । देशभरका करिब एक हजार पत्रकारहरूको सहभागितामा सुरु भएको महाधिवेशन मंगलबारसम्म चल्नेछ ।
प्रतिक्रिया