कहालीलाग्दो भविष्यको संकेत : शताब्दी अन्त्यसम्म हिमनदी नै नरहने जोखिम !

काठमाडौँ । २१ मार्च विश्व हिमनदी दिवस । यसैको पूर्वसन्ध्यामा एउटा संवेदनशील र कहालीलाग्दो भविष्यको संकेत गर्ने रिपोर्ट सार्वजनिक भएको छ ।
२१औँ शताब्दीको अन्त्यसम्ममा अहिले रहेका धेरै हिमनदीहरू नरहन सक्ने रिपोर्ट १८ मार्चमा विभिन्न संयुक्त राष्ट्रसंघीय निकायहरूको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले प्रकाशित गरेको हो । रिपोर्टअनुसार पछिल्ला ६ मध्ये ५ वर्ष अत्यधिक रूपमा हिमनदीहरू पग्लने क्रम बढेको छ । ‘यो हिमस्खलनको असर आर्थिक इकोसिस्टम र कम्युनिटीमा मात्र परेको छैन, विश्वव्यापी रूपमै परेको छ,’ रिपोर्टमा चेतावनीयुक्त भाषामा उल्लेख गरिएको छ ।

हिमनदी र हिमालमाथि आइपरेको यो खतराको असर त्यस क्षेत्रका बासिन्दा, समुदाय र आर्थिक क्षेत्रमा अझ धेरै परेको छ । आँखैअगाडि हाम्रा पानीका स्रोतहरू पग्लिरहेका छन् भन्ने कुरामा संयुक्त राष्ट्रसंघीय पानी रिपोर्ट, हिमाल र हिमनदीसँग सरोकार राख्ने सबैको सहमति छ । संसारको सबैभन्दा अग्लो र व्यापक हिमनदीहरू भएको तेस्रो ध्रुवका हिमनदीहरू पनि अहिले भइरहेको परिवर्तनका कारण कमजोर अवस्थामा छन् । हामीलाई चेतावनी नै दिने शैलीले ती पग्लिरहेका छन् ।

हिमनदी विस्फोट हुने र बाढी आउने लगायतका अनेकौँ अल्पकालीन जोखिमहरू अहिले पनि देखिएका छन् । दीर्घकालीन असर भने यतिमा सीमित हुनेछैन । पानीको प्रवाह घट्ने तथा खडेरीका कारण पानी, खाद्यान्न र जीवनयापनमा समेत अनेकन समस्या देखिन सक्ने जोखिम अहिले नै देखिएको छ ।

हिमालय क्षेत्रमा देखिन सक्ने यस्ता जोखिमका कारण इकोसिस्टममा त समस्या आउन नै छ । साथै अनियन्त्रित बसाइँसराइका कारण अन्य क्षेत्र पनि सुरक्षित नरहन सक्छन् । यो रिपोर्ट प्रकाशित भएपछि इसिमोडका महानिर्देशक पेमा ग्याम्त्सो भन्छन्, ‘यो रिपोर्ट सबैका लागि खतराको घन्टी हो । साथै सचेत हुन मौका पनि ।’ जलवायु परिवर्तनका कारण हिउँ र बरफ पग्लिँदै जाँदा पनि आफूलाई सुरक्षित ठान्नेहरूका लागि पनि यो खतराको घन्टी हो । संसारका ६० प्रतिशत पिउने पानीको स्रोत पहाड र हिमाल नै भएका कारण उनी अहिलेको अवस्था चिन्ताजनक भएको बताउँछन् ।

जलवायु एजेन्डामा हिमालको ‘क्राइस्फेयर’ को महत्व सबैभन्दा बढी रहेको पनि उनको मत छ । रिपोर्टअनुसार ‘अर्थ सिस्टम’ देखि विश्व जलवायु परिवर्तनसम्म हिमालको ‘क्राइस्फेयर’ सबैभन्दा संवेदनशील विषय हो । साथमा हिमाली क्षेत्रका हिमनदी पनि त्यत्तिकै संवेदनशील हुन् । यसले नै ध्रुवीय क्षेत्रबाहेक अन्त सबैभन्दा धेरै हिउँ र बरफ संग्रह गरेको हुन्छ । जनसंख्या वृद्धि र औद्योगिक विकाससँगै अहिले तीव्र गतिमा यिनको क्षति भइरहेको छ ।

संसारभर रहेका पहाडी क्षेत्रमा हामीले अहिले नै धेरै प्राकृतिक दुर्घटनाहरू देखिरहेका छौँ । जलवायु परिवर्तनका कारण हिमनदी पग्लिँदै जाने, हिमालको सतह बढ्दै जाने, अधिक वर्षा हुने या खडेरी हुनेलगायत समस्या देखिएका छन् । सबैभन्दा मनन गर्नुपर्ने कुरा के हो भने एसियाका हिमाली क्षेत्रका ५० प्रतिशत मानिस २ देश भएर बग्ने नदीको छेवैमा छन् । यसको मूल भनेको पहाड या हिमाल नै हो । यीमध्ये धेरैले खाद्य सुरक्षका लागि संघर्ष गरिरहेका छन् ।

यिनीहरूको जीवन हिउँ पग्लिने समस्याले अझ धेरै कठिन हुन सक्ने विज्ञहरूको मत छ । विज्ञानले भनिसकेको छ कि सन् २०५० सम्ममा हिमनदीहरू अहिलेको अवस्थामा रहने छैनन् । यसले समस्या अझ धेरै थप्न सक्छ । यसकारण पनि संसारको कमजोर तथा अप्ठ्यारोमा परेकाहरूको जीवन रक्षार्थ अहिले पनि जलवायु परिवर्तन र कार्बन उत्सर्जनको विषयमा सतर्क हुनुपर्ने समय आइसकेको सरोकारवाला बताउँछन् ।

इसिमिोडकी ‘क्राइस्फेयर’ तथा पानी समूहकी प्रमुख निरा श्रेष्ठ प्रधान हिमनदीको वातावरणीय, सांस्कृतिक र आर्थिक महत्व बुझ्दै यसलाई जोगाउन महत्वपूर्ण कदम चाल्न आवश्यक रहेको बताउँछिन् ।

प्रतिक्रिया