काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला र पुरुषको समान सहभागिताबाट समाजका सबै क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक भएको बताएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग परिसंघद्वारा आज यहाँ आयोजित महिला नेतृत्व सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाली परम्परा र संस्कृतिले महिलालाई देवीसरह मान्दै परिवर्तनशील र गतिशील शक्तिका रुपमा चित्रण गरेकाले महिलाको समान सहभागिता आवश्यक भएकामा जोड दिए ।
‘रथको एउटा पांग्रो मात्रै चलेर रथ गुड्न सक्दैन, त्यसकारण हामीले महिला र पुरुषससहितको समान सहभागिताबाट सिंगो समाजलाई अगाडि बढाउनुपर्छ, सामाजिक न्याय र समानता स्थापित गर्दै गरिबी हटाउने सवालमा निजी क्षेत्रसँग मिलेर काम गर्नुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रपति, प्रधानन्यायाधीशलगायत विशिष्ट पदमा हामीले महिलालाई स्थापित गरिसकेका छौँ, राजनीतिमा महिलाको सहभागिता बढ्दो छ, यो खुसीको विषय हो तर हामी यसमा मात्रै सन्तुष्ट भएर बस्नु हुँदैन, हामीले शिक्षा, उद्यम र रोजगारीका क्षेत्रमा महिलालाई अगाडि बढाउनुपर्छ ।’
सरकार र निजी क्षेत्रको सहकार्य बढाउँदै उद्यम विकास तथा महिला सशक्तीकरणलाई प्रोत्साहन गरिएको बताउँदै उनले अर्थतन्त्रको विकासका साथै सुशासन प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताए । प्रधानमन्त्री ओलीले भने, ‘हामी अघि बढ्नुपर्छ, पछाडि फर्कनु हुँदैन, ब्याक गियर त कहिलेकाहीँ घुम्तीमा मात्रै लगाउने हो, लोकमार्गमा ब्याक गियर लगाइँदैन, लोकतन्त्र हाम्रो राजमार्ग हो ।”
प्रधानमन्त्रीले कानुनहरु काम अल्झाउन नभई विकासमा सहयोगी हुन बनाइनुपर्ने उल्लेख गर्दै सम्मेलनबाट प्राप्त सुझाव अध्ययन गरी सरकारका नीति, व्यवहार र कानुनहरुलाई परिस्कृत गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया