‘मूर्ति चोर को हो ? वंश मास्ने को हो ?’ भन्दै दिवा स्वप्न नदेख्न पूर्वराजालाई प्रचण्डको चेतावनी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई दिवा स्वप्न नदेख्न चेतावनी दिएका छन् । शुक्रबार सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित कार्यक्रममा उनले पूर्वराजाको सक्रियताप्रति आपत्ति जनाउँदै धेरै चुरीफुरी नगर्न चेतावनी दिएका हुन् ।

उनले वंश मास्ने र मूर्ति चोर्नेहरूले धाक लगाउन मिल्छ ? भन्दै प्रश्न गरे । ‘२५० वर्षसम्म राजा महाराजाले देशलाई कहाँ पुर्याए, नेपाली जनताले बिर्सिएको छ ? मूर्ति चोर को हुन् ? नेपालका ठूल्ठूला मूर्ति चोरेर अहिले राजा ? भाइमारा को हो ?’, उनले भने, ‘आफ्नै वंश मास्नेले आएर फेरि धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ? नेपाली जनताले बिर्सिएको भन्ठानेको ? ।’

अध्यक्ष प्रचण्डले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको छानबिन गर्न चाहेको सुनाए । आफूले पूरा कार्यकाल प्रधानमन्त्री बन्न पाएको भए दरबार हत्याकाण्डको छानबिन निचोडमा पुर्याउने बताए।

अध्यक्ष प्रचडले भने, ‘मैले पहिलोचोटी प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको फेरि एकपटक छानबिन गर्नुपर्नेछ भन्ने ठानेको थिएँ, मैले त्यतिबेला पाँच वर्ष शासन गर्न पाएको भए एकपटक छानबिन गरेर भाइमारा र राजद्रोही यिनीहरुलाई इतिहासको ठेगान लगाउने विचार थियो ।’ उनले ज्ञानेन्द्रको दुस्साहसलाई जवाफ दिन आफूहरू तयार भएको बताए ।

प्रतिक्रिया