बाजुरामा भिरमा अड्किएका आठ जनाको उद्धार

बाजुरा । जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकाको भिरबाट लडेर मृत्यु भएकाको उद्धारका लागि गएका आठ जनाको सकुशल उद्धार गरिएको छ । आइतबार दिउँसो कर्णाली नदीमा माछा मार्न गएका र घर फर्कने क्रममा सोही गाउँपालिका–२ फयाल गाउँका स्थानीय पुसे भण्डारीको भिरबाट लडेर मृत्यु भएको थियो ।

भिरबाट लडेका भण्डारीको उद्धारका लागि गएका सोही गाउँका आठ जना स्थानीयसहित सुरक्षाकर्मी रातभर भिरको फेदीमा रहेको कर्णाली नदीको किनारमा रोकिएकाको र र्याफ्टिङमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

भिरबाट लडेर मृत्यु भएका भण्डारीको उद्धारमा गएका स्थानीय र प्रहरीको आज बिहान हिमाली गाउँपालिकाको धुलाचौरबाट र्याफ्टिङ ल्याएर सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देव चौधरीले जानकारी दिए ।

उनका अनुसार आइतबार राति भीरबाट लडेर एक जनाको मृत्यु भएको खबर आए पनि राति भइसकेको र भिरबाट शव ल्याएर फर्किन सकिने अवस्था नभएकाले उनीहरू घटनास्थलमै बास बसेको बताए । आज अहिले कर्णाली नदीमा र्याफ्टिङको सहायताले सबैको सकुशल उद्धार गरिएको छ ।

माछा मार्न गएका बेला भण्डारी हाँडे भिरबाट लडेका हुन् । मृतकको कानुनी प्रक्रिया पूरा गरेर शव आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया