सधैँ ओझेलमा महिला श्रमिक

रुकुम पश्चिम । रुकुम पश्चिमकी ५४ वर्षीया तुला गिरी सडकमा गिट्टी कुटेर जीविकोपार्जन गर्छिन् । बिरामी परेर वा अरू कुनै कारणले एक दिन मात्रै गिट्टी कुट्न पाइनन् भने उनी भौकै बस्नुपर्ने अवस्था छ । ८ मार्च अर्थात् विश्व नारी दिवस, नेपालमा पनि धुमधामसहित यो दिवस मनाउँदा तुलाजस्ता वास्तविक श्रमिक महिलाहरूलाई भने ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’झैँ हुने गरेको छ ।

उनलाई नारी दिवस के हो र के हुन्छ भन्ने केही थाहा छैन । आज शनिवारबाहेक अरू केही थाहा नपाएको बताउँदै भन्छिन्, ‘काम नगरे, दाम आउँदैन । दामको लागि काम गर्नुपर्छ । हाम्रा लागि जहिलै नारी दिवस हो ।’

नेपालमा महिला अधिकार र श्रमका कार्यक्रमको भाषण गरेर दिवस मनाए पनि ग्रामीण क्षेत्रका श्रमिक महिलाको अधिकार झन् झन् कुन्ठित हुँदै गएको श्रमिक महिलाहरू बताउँछन् । महिलाहरूको सामाजिक, राजनीतिक, आर्थिक जीवनमा परिवर्तन ल्याउन भनेर गरिएको आन्दोलन अर्थात् यो दिवसले वास्तविक श्रमिक महिलाहरूको जीवनमा सुधार ल्याउन सकेको छैन । महिला दिवसको दिन महिलाका अधिकार, महिलाले भोग्नुपरेको समस्या, महिला सशक्तीकरणको नारा लगाएर चर्को भाषण गरिन्छ । तर, सोही दिन श्रमिक महिला दिनभर आफ्नो काममा खटिनुपर्ने बाध्यता छ ।

‘इतिहासलाई नियाल्दा विश्वमा श्रमिक महिलाहरूको आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार प्राप्तिका लागि गरिएका महत्वपूर्ण आन्दोलनहरूको सम्झना र सम्मानको रूपमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइन्छ । तर, अधिकांश श्रमिक महिलाहरूलाई दिवसले छुँदैन’, महिला मानवअधिकार रक्षक सञ्जाल रुकुम पश्चिमकी ब्युझना पुन भन्छिन्, ‘हामीकहाँ अझै पनि महिलालाई काम दिने कुरामा विभेद छ । यदि काम दिइहाले पनि दक्षताअनुसारको पारिश्रमिक पाउँदैनन् ।’ गाउँठाउँमा अझै पनि सामाजिक विभेद यथावत छ । शक्ति र पहुँचवाला महिलाहरू न्यायका लागि लडिरहँदा पहुँच नहुने महिला विभिन्न असमानता र हिँसा सहेर बस्न बाध्य भएको दृष्टान्त दिँदै पुनले भनिन्, ‘पुरुषभन्दा महिला कमजोर हुन्छन् र उनीहरूले पुरुष बराबर काम गर्न सक्दैनन् भन्ने मानसिकता नहटेकाले श्रमिक ज्यालामा एकरूपता हुन नसकेको हो ।’

नारी दिवसको उल्लासले सहरका कार्यक्रमहरू र र्यालीहरूलाई रंगीन बनाउँछ । तर, यस्ता उत्सवले जाजरकोट, डोल्पा, रुकुम, रोल्पाजस्ता ग्रामीण भेगमा बिहान सबेरै उठेर घाँसदाउरा गर्न लागिपरेका श्रमिक महिलाको जीवनलाई भने खासै छोएको देखिँदैन । जाजरकोटको तल्लुबगरमा पल्लिदारको काम गर्छिन् बली शाह उनलाई पनि यो उत्सवमा हर्ष छैन । उनका लागि नारी दिवस बिहानै उठेर गोठको स्याहार, घरको काम सकेर पुलमाथिबाट सामान बोक्नु हो । दिनहुँ झोलुंगे पुल वारिबाट पुलपारि लिएर भारी बिसाएपछि मात्रै उनको थकाइ मेटिन्छ । मजदुरी गरेरै जीविका चलाइरहेका शाहजस्तै हजारौँलाई महिलालाई यो दिवसको उल्लास छैन ।

श्रमको उचित मूल्य, सीप विकासका तालिम र आर्थिक पहुँचको सुनिश्चितता नै महिला सशक्तीकरणका लागि पहिलो अभ्यास भएको जाजरकोटको नलगाड नगरपालिका महिला तथा बालबालिका शाखामा कार्यरत ज्योति रावल बताउँछिन् । कानुनमा ‘समान कामका लागि समान ज्याला’को व्यवस्था गरिए पनि लैंगिक रूपमा ज्यालामा तलमाथि गर्ने गरेको उनको बुझाइ छ । जाजरकोटमा महिला मजदुरले पुरुषकोभन्दा आधा कम ज्यालामा नै काम गरिरहेका छन् । यसरी लैंगिकरूपमा ज्यालामा विभेद गर्नेलाई कडा कारबाही गरिनुपर्ने उनले बताइन् । व्यावहारिक रूपमा नै महिलालाई समान हैसियतको नागरिकका रूपमा स्वीकार नगरेसम्म श्रमिक महिलाहरू ओझेलमा पर्ने देखिन्छ ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया