बाँस बनस्पति मात्रै होइन, बहुउपयोगिता पनि हो : मन्त्री शाही

खाेटाङ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले बाँस बनस्पति मात्रैमा सीमित नभएकाले यसको व्यापक प्रचारप्रसार गरेर यसको बहुउपयोगिताका बारे चर्चा गर्नुपर्ने बताएका छन् ।

उनले बाँस बनस्पति झाँगमा मात्र सीमित नभएकाले यसबाट धेरै सामग्री निर्माण गर्न सकिने भएकाले बाँसको उपयोगिता फाइदाका बारेमा प्रचारप्रसार गरी बाँस नहुने स्थानमा रोपण गरेर भए पनि यसको उपभोग गरी फाइदा लिनुपर्ने बताए ।

बिहीबार खोटाङको सदरमुकाम दिक्तेलमा भएको प्रथम राष्ट्रिय बाँस सम्मेलनको उद्घाटन कार्यक्रम बोल्दै मन्त्री शाहीले बाँस बहुउपयोगी वनस्पति भएकाले यसबारे जनस्तरसम्म जानकारी गराएर बाँसको प्रयोगमार्फत आर्थिकोपार्जन र व्यवसायीकरण गर्नसके राम्रो आम्दानीको माध्यम हुने बताए ।
नेपालका जुनसुकै ठाउँमा बाँस उत्पादन गर्न सकिने भए पनि अहिलेसम्म त्यसको उचित प्रयोग गर्न नसक्दा बाँस त्यसै खेर गइरहेको छ उनले बताए । मन्त्री शाहीले भने, ‘बाँसको उपयोगितामार्फत गाउँघरमै रोजगारी सिर्जना गर्न सकिन्छ, युवा जगतलाई विदेश पलायन रोक्न सकिन्छ र गाउँमै आयआर्जनमार्फत आत्मनिर्भर हुन सकिन्छ ।’

बाँसको उपयोगितालाई जनस्तरसम्म फैलाउनसके थप प्रभावकारी हुने मन्त्री शाहीको भनाइ थियो । बाँस जन्मदेखि मृत्युसम्म चाहिने भएकाले यसको प्रमुख विशेषता रहेको बताए । अब बाँस पाउने जिल्लाको बाँसको संरक्षण तथा प्रवद्र्धन गरिने भन्दै मन्त्री शाहीले बाँस नहुने जिल्लामा बाँस रोपण गरेर भए पनि बाँसको बहुउपयोगिको सामग्री निर्माणमा जोड दिई स्वरोजगार सृजना गरिने बताए । अब अभियानका रूपमा बाँसको खेती गर्न प्रेरित गराई जिल्ला तथा पालिकास्तरमा पनि यो अभियान सञ्चालन गर्ने मन्त्री शाहिले बताए । बाँसले भ–संरक्षणमा सहयोग गर्ने र वातावरण पनि राम्रो हुने भएकाले अभियानका साथ बाँसको खेती जनस्तरमा प्रचारप्रसार गरी आग्रह गरिने मन्त्री शाहीले बताए ।

‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ भन्ने मूल नारासहित सुरु गरिएको सम्मेलन बिहीबारबाट ३ दिनसम्म जारी रहने छ । उक्त प्रथम राष्ट्रिय बाँस सम्मेलनले जनस्तरमा सकारात्मक सन्देश दिने पनि बताइएको छ । बाँससम्बन्धी विविध सम्भावना, अवसर र चुनौतीहरूको खोजी गर्ने, बाँसको खेतीलाई सुधार र बिस्तार गर्दै अन्य खेती हुन नसक्ने जग्गामा बाँसको खेती बिस्तार गर्ने, बाँसबाट प्राप्त हुने विविध वस्तु तथा सेवाहरूको प्रदर्शनी गर्ने, बाँसको प्रवद्र्धनका लागि सरोकारवालाहरूको ध्यानाकर्षण गर्दै आवास तथा सामग्री उत्पादनमा बाँसको उपयोगिता बढाउने उद्देश्यका साथ नेपाल प्रमुख राष्ट्रिय बाँस सम्मेलनको आयोजन गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जानकारी दिएको छ ।

बाँसको अध्ययन तथा अनुसन्धानलाई थप बढवा दिने, आर्थिक उपार्जनका लागि बाँसलाई वैकल्पिक स्रोतको रूपमा विकास गर्ने, बाँसको व्यवसायीकरण र प्रत्यक्ष तथा अप्रत्यक्ष लाभका बारेमा जानकारी गराउने उद्देश्य राखिएको छ । बाँस सम्मेलनमा सरकारी तथा गैरसरकारी निकाय, व्यक्ति, वन उपभोक्ता समूह, विश्वविद्यालय तथा अनुसन्धान केन्द्र गरी १०औँ हजार मानिसले बाँसबाट बनेका सामग्रीको स्टलहरू प्रत्यक्ष अवलोकन गर्नेछन् । दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिका सम्मेलनको मुख्य आयोजक रहेको छ भने वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र बबरमहल, वन तथा वातावरण मन्त्रालय, कोसी प्रदेश र ग्रिन बाम्बो क्रिएसन प्रालि ललितपुर आयोजक रहेको छ ।

प्रतिक्रिया