वनस्पतिले भन्छन् जलवायु परिवर्तनको कथा

– कवि लेखनाथ पौड्यालले आफ्नो कविता ‘ऋतुविचार’मा गरेको वर्णन अहिले मिल्दैन । वसन्त, गृष्म, वर्षा, शरद, हेमन्त र शिशिर ऋतुको मौलिकतालाई जलवायु परिवर्तनको असरले नराम्ररी खल्बल्याइदिएको छ । अर्थात् ऋतुले पनि आफ्नो नियम पालना गर्न छोडेको छ ।

– काठमाडौँ तातेपछि त्यसको असरबारे वनस्पति र फलफूलले व्यवहारबाटै आफैं भन्न थालेका छन् । जस्तो कि काठमाडौँमा पहिला आँप केरा फल्दै फल्दैनथ्यो । फलिहाले पनि पाक्दै पाक्दैनथ्यो । अहिले आँप, केरा, लिची मजाले फल्छ । पाक्छ पनि । अहिले मेरो बगैँचाको फूलले पनि हाँसीहाँसी जलवायु परिवर्तनको कथा सुनाउन थालेका छन् । बगैँचाको ब्राजिलियन फूल ‘बैगनबेली’ पहिला वर्षमा एकपटक मात्रै फुल्थ्यो, तर अहिले वर्षैभरी फुल्न थालेको छ ।

अहिले पृथ्वी क्रमशः तात्दै गएको छ । १०० वर्षभन्दा अहिले पृथ्वीको तापक्रम बढेको छ । पृथ्वी तात्नुका अनेक कारण छन् तर पृृथ्वी तातेकै कारण त्यसको परिणाम हो जलवायु परिवर्तन । जलवायु परिवर्तनका कारण प्रकृतिमा धेरै परिवर्तन आएका छन् । कवि लेखनाथ पौडेलले आफ्नो कविता ‘ऋतुविचार’मा गरेको वर्णन अहिले मिल्दैन । वसन्त, गृष्म, वर्षा, शरद, हेमन्त र शिशिर ऋतुको मौलिकतालाई जलवायु परिवर्तनको असरले नराम्ररी खल्बल्याइदिएको छ । कविले भनेजस्तो ऋतुले आफ्नो नियम पालना गर्न सकेको छैन । अतिवृष्टि, अनावृष्टि, बेमौसमी वर्षा र बाढी बढेको छ ।

प्रकृति परिवर्तनशील छ । प्रकृतिमा परिवर्तन भइरहन्छ । वन र वनस्पतिमा पनि फेरबदल भइरहेको हुन्छ । तर जलवायु परिवर्तनका कारण बोटविरुवा वनस्पतिले पनि अर्कै भाषा बोल्न थालेका छन् । बनस्पति, फलफूल आदिको चक्र फेरिएको छ । काठमाडौँकै कुरा गर्दा पहिलेको भन्दा अहिलेको काठमाडौँ धेरै फेरिएको छ । धेरै अघि जानै पर्दैन, २५–३० वर्षअघिको काठमाडौँभन्दा आजको काठमाडौँ धेरै न्यानो भएको छ । पहिले जाडो याममा तुसारो पथ्र्यो, कुइरो लाग्थ्यो । बिहान पूरै ठिहिर्याउने जाडो हुन्थ्यो । ९–१० बजेदेखि बिस्तारै न्यानो हुँदै जान्थ्यो, दिनभर अलि न्यायो हुने अनि बेलुका ३–४ बजेबाट बिस्तारै चिसो हुँदै जान्थ्यो । जुन अहिले छैन ।

गर्मीको बेला वैशाख–जेठमा पनि बिहानमा चिसै हुन्थ्यो, १० बजेतिर न्यानो हुने, १२–१ बजेसम्म गर्मी अनि २ बजेपछि शीतल हुँदै गएर ६ बजेपछि त बिहानकै जस्तो चिसो हुन्थ्यो । अहिले हेर्यो भने गर्मी मौसममा बिहान ८ बजे नै गर्मी हुन्छ भने १२ बजे पिकमा हुन्छ र त्यो गर्मी बेलुका ६–७ बजेसम्म रहिरहन्छ । तापक्रमको मापन हेर्यो भने उहिले पनि अधिकतम तापक्रम ३१–३२ डिग्री सेल्सियस हो र अहिले पनि त्यति नै हो तर तातो रहिरहने समय बढेको छ । पहिला एक–डेढ घण्टा मात्रै उच्च तापक्रम अडिन्थ्यो, अहिले यो बढेर ६–७ घण्टासम्म रहिरहन्छ । त्यसैले अहिले गर्मी बढेको छ । यसलाई ग्राफमा खिच्ने हो भने उहिलेको तापक्रम माछापुच्छ«ेजस्तो देखिन्छ भने अहिलेको तापक्रमको ग्राफ अन्नपूर्ण हिमाल छेउको हात्तीमाता हिमालजस्तो देखिन्छ ।

यसलाई यसरी पनि हेर्न सकिन्छ, जस्तो कि १ लिटर पानी स्टोभमा उमाल्दा ५ मिनेटमा उम्लिन्छ भने १० लिटर पानी उमाल्दा १५ मिनेट लाग्ला । १ लिटर भए पनि १० लिटर भए पनि पानी उम्लिने त ९६ डिग्रीमै हो, तर समय फरकफरक लाग्यो । हो, त्यस्तै पहिला गर्मी छोटो समय रहन्थ्यो, अहिले लामो समय रहन्छ । यसले गर्दा वातावरणमा गर्मी बढेर गयो । काठमाडौँमा गर्मी बढ्नुका अनेक कारण छन् । हरियाली मासिनु, कंक्रिटका घर बढ्नुुु, बाटोघाटो पिच हुनु, यातायातका साधनले फाल्ने तातो हावा धुवाँ आदि महत्वपूर्ण कारण हुन् । त्यसमा ‘ग्लोबल वार्मिङ’को योगदान कति र स्थानीय भूमिका कति भन्ने अध्ययन भएको छैन ।

काठमाडौँ तातेपछि त्यसको असरबारे वनस्पति र फलफूलले व्यवहारबाटै आफैं भन्न थालेका छन् । जस्तो कि काठमाडौँमा पहिला आँप, केरा फल्दै फल्दैनथ्यो, फलिहाले पनि पाक्दै पाक्दैनथ्यो । अहिले आँप, केरा, लिची मजाले फल्छ । पाक्छ पनि । अहिले मेरो बगैँचाको फूलले पनि हाँसीहाँसी जलवायु परिवर्तनको कथा सुनाउन थालेका छन् । मेरो बगैँचाको ब्राजिलियन फूल ‘गगनबेली’ पहिला वर्षमा एकपटक मात्रै फुल्थ्यो तर अहिले वर्षैभरी फुल्न थालेको छ । त्यस्तै पहिला यो पहेँलो लहरा हुने फूल (स्वस्थानीको समयमा फुल्ने भएर यसलाई स्वस्थानी फूल पनि भन्छन्) कता कति हुन्थ्यो तर अहिले जताततै फुलेको र फैलिएको देखिन्छ । यो पनि उष्ण प्रदेशमा हुने ब्राजिलियन फूल हो । अहिले त रैथाने फूलभन्दा उष्णप्रदेशमा हुने फूल धेरै फुलेको देखिन्छ बगैँचामा । काठमाडौँको यो परिवर्तनमा ‘ग्लोबल वार्मिङ’ को योगदान कति छ त्यसको सुक्ष्म अध्ययन भएको छैन ।

जलवायु परिवर्तनको देखिनेगरीको असर हिम रेखा र वृक्ष रेखामा देखिएको छ । यी दुवै रेखा माथि सरेका छन् । हिम रेखा माथि सर्दा हिमताल घटेका छन् भने वृक्ष रेखा माथि सर्दा वन जंगलको र खेती पातीको चक्रमा असर गरेको छ । पहिला १ हजार मिटरभन्दा माथि साल हुँदैनथ्यो । अहिले साल माथि सरेको छ । भोजपत्र र ठिंग्रे सल्लाबारे गरिएको अध्ययनले पनि यो माथि सरेको देखिएको थियो । भोजपत्र र ठिंग्रे सल्ला ३ हजार ८०० मिटरको सीमारेखा नाघेर माथि सरेको छ । यो अध्ययनले नै देखाएको विषय हो । त्यस्तै गुराँसको वन पनि माथि सरेको मात्रै होइन फुल्न पनि चाँडै, माघमै, फुल्न थालेको छ भन्ने रिपोर्ट छ । त्यति मात्रै होइन ऋतुअनुसार विदेशबाट भित्रिने र बाहिरिने पाहुना चराको साइत पनि बिथोलिएको छ ।

जलवायु परिवर्तनको प्रत्यक्ष असर देखिने स्थान भनेको हिउँ तथा वृक्ष रेखाबीचको ३ हजारदेखि ४ हजार मिटर उचाइको भूभाग हो । यो बीचको भूभाग विशेष खालको छ । हिउँ पग्लेपछि तल्लो तहमा पानी (पर्माफ्रन्ट) हुने हुनाले ओसिलो रहिरहन्छ । त्यसैले माथिल्लो भागमा विभिन्न जातका जंगली फूल हुने ठाउँ हो यो । यहाँ भेडा, चौँरीका लागि घाँसे मैदान मात्रै होइन १ हजार २०० प्रजातिका त फूल मात्रै पाइन्छन् । पहिला हिमाली भेगमा हिउँको ढिक्का जम्थ्यो । र, जुन–जुलाईमा हिउँ पग्लिने हुनाले घाँस तथा वनस्पतिका लागि उर्वर वातावरण बन्थ्यो । तर अहिले हिउँ जम्ने र पग्लिने चक्र नै हराएको छ । त्यसैले बिस्तारै मिचाहा जातको झारले छोप्न थाल्यो । ठुलाठुला पाटनबाट थुप्रै प्रजातिका फूल, बुकीफूल र घाँसे मैदान हराउन थाले । त्यहाँ अहिले चौँरीखर्क तथा भेडीखर्कहरू सुब्खा हुन थाले । खर्कहरू हराउन थाले ।

पृथ्वी तात्नुको मुख्य कारणचाहिँ वायुमण्डलमा कार्बनको मात्रा बढ्नु हो । विभिन्न कारणले पृथ्वी तातेसँगै समुद्रको पानीको तापक्रम पनि बढ्यो । यसले समुद्र र जमिनको तापक्रममा सन्तुलन बिगार्ने काम गर्यो । यो असन्तुलनले सामुद्रिक हलचल बढायो र सामुद्रिक आँधी, हावाहुरी, हुन्डरी जस्ता प्राकृतिक क्रियाकलापमा अस्वभाविक गतिविधि थपिए । यसले हाम्रा ऋतुका प्राकृतिक नियमहरू फेरबदल ल्याइदियो । काठमाडौँमा आँप, केरा, लिची फल्ने र पाक्नेजस्ता कुरामा जलवायु परिवर्तनको हिस्सा कति, प्रकृतिको स्वभाविक परिवर्तनको हिस्सा कति र हाम्रा आन्तरिक गतिविधिको हिस्सा कति भन्ने विषयमा अझै विस्तृत अध्ययन भएको छैन ।

(८८ वर्षीय वनस्पतिविद् श्रेष्ठसँगको कुराकानीमा आधारित)

प्रतिक्रिया