नेपालमा मानवीय क्षति पुर्याउने गरी भएका जलवायुजन्य घटनामध्ये पहिलोमा बाढीपहिरो र दोस्रोमा चट्याङ रहेको देखिन्छ । जलवायुजन्य घटना न्यूनीकरणका सन्दर्भमा आयोजना गरिने छलफल तथा अन्य सार्वजनिक सभा समारोहमा बाढी, पहिरो, हिमालमा हिउँ पग्लिएको र हिउँ नपरेर हिमाल कालापत्थर बन्ने गरेकाजस्ता घटना सधैँ उठाइन्छन् । तर, चट्याङले पुर्याइरहेको क्षतिको विषय बहसमा आउन सकेको छैन । यसको एउटा कारण चट्याङबाट हुने क्षति सहरमाभन्दा गाउँमा बढी हुनु र यसबाट प्रभावित हुने धेरैजसो परिवार कच्ची घरमा बसोबास गर्ने गरिब परिवार हुनु पनि हो ।
पृथ्वीको औसत तापक्रम वृद्धि वर्तमान विश्वको साझा समस्या हो, जसका कारण विश्वव्यापी रूपमा जलवायुजन्य घटनाहरू जस्तैः समुद्रको सतह बढ्नु, अत्यधिक वर्षा, खडेरी, बाढी, पहिरो तथा चट्याङका घटनाहरू संसारभर वृद्धि भएका छन् । विविध मानवीय क्रियाकलाप र बढ्दो हरितगृह ग्याँसको उत्सर्जनका कारण पछिल्ला दशकमा विश्वको तापमान अस्वभाविक रूपमा वृद्धि भएको छ ।
तापक्रम वृद्धि तथा छोटो समयमा हुने अत्यधिक वर्षाका घटनाले विश्वव्यापी रूपमै हरेक वर्ष उच्च रेकर्ड कायम गरिरहेका छन् । विश्वव्यापी तापक्रमसम्बन्धी प्रतिवेदनहरूका अनुसार सन् २०२४ को विश्वव्यापी औसत तापक्रम १५ दशमलव १० डिग्री सेल्सियस थियो, जुन सन् २०२३ को भन्दा शून्य दशमलव १२ डिग्री सेल्सियस बढी हो । यिनै तथ्यांकका आधारमा २०२४ लाई सन् १८५० यताको सबैभन्दा तातो वर्षको रूपमा लिइएको छ । त्यस्तै केही अध्ययन प्रतिवेदनहरूले पछिल्लो एक दशकलाई अहिलेसम्मकै तातो दशकका रूपमा उल्लेख गरेका छन् । पछिल्लो तथ्यांकअनुसार तापक्रम वृद्धिको वर्तमान प्रवृत्ति प्रतिदशक शून्य दशमलव २ डिग्री सेल्सियस रहेको छ । यही ढंगमा तापक्रम वृद्धि हुने हो भने सन् २०३० को दशकभित्रै १ दशमलव ५ डिग्री सेल्सियसको सीमा पार गर्ने सम्भावना धेरै उच्च छ ।
सन् २०१६ मा भएको पेरिस सम्झौताले विश्वव्यापी तापक्रम वृद्धिलाई औद्योगीकरणपूर्वको तापक्रमको तुलनामा १ दशमलव ५ डिग्री सेल्सियस वृद्धिभित्रै सीमित गर्ने लक्ष्य राखेको थियो । यद्यपि कुनै वर्ष १ दशमलव ५ डिग्री सेल्सियसमाथि जानुलाई पेरिस सम्झौताको लक्ष्य उल्लंघन भएको मानिँदैन ।
विश्वभर हुने जलवायुजन्य घटनाहरूको विश्लेषण गर्दा जलवायुजन्य घटनाबाट प्रभावित हुने मुलुकमध्ये नेपाल अग्रपंक्तिमा पर्दछ । औसत तापक्रम वृद्धि, जलवायु परिवर्तन र त्यसले निम्त्याउने अन्य प्रकोपहरूबाट नेपाल पनि अछुतो छैन । सन् २०२१ मा वन तथा वातावरण मन्त्रालयले तयार गरेको संकटापन्नता, जोखिम विश्लेषण र अनुकूलताका उपायसम्बन्धी प्रतिवेदनले पनि बाढी, पहिरो, चट्याङ र हिमताल विष्फोटजस्ता जलवायुजन्य घटना देशभर बढ्दै गएको उल्लेख गरेको छ ।
यस आलेखमा भने नेपालले बर्सेनि ठूलो जन–धनको क्षति बेहोरिरहेको तर सार्वजनिक बहसमा खासै नआएको र पूर्वसावधानीका प्रयास पनि खासै हुन नसकेको चट्याङबारे चर्चा गरिएको छ ।
विश्वमा चट्याङका कारण बर्सेनि २४ हजार मानिसको मृत्यु हुन्छ भने करिब २ लाख ४० हजार मानिस घाइते हुन्छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार सन् २०१५ देखि सन् २०२५ सम्ममा नेपालमा चट्याङ्का कारण ८११ जनाले ज्यान गुमाएका छन् भने २ हजार ६६६ जना मानिस घाइते भएका छन् । यस आधारमा नेपालमा चट्याङका कारण प्रतिवर्ष ८२ जना मानिसको मृत्यु भएको देखिन्छ । यसरी मृत्यु हुनेमध्ये ५० दशमलव ८ प्रतिशत पुरुष, ३५ दशमलव ३ प्रतिशत महिला छन् भने १४ प्रतिशतको लिंग पहिचान हुन सकेको छैन । यस अवधिमा चट्याङकै कारण देशमा करिब ९ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ । यद्यपि स्वतन्त्र निकाय तथा चट्याङको क्षेत्रमा काम गर्ने अध्येताहरूले गरेको अनुसन्धानमा भने मृत्यु हुने दर बढी देखिन्छ ।
सह–प्राध्यापक एवं चट्याङविज्ञ श्रीराम शर्मासहितको टोलीले सन् २०२१ मा गरेको अध्ययनअनुसार, १४ अप्रिल २०११ देखि १५ अप्रिल २०२० सम्म नेपालमा चट्याङका कारण ९३० जनाको मृत्यु भएको थियो भने २ हजार ४५४ जना घाइते भएका थिए । यस हिसाबले नेपालमा हरेक वर्ष सरदर १०३ जनाले चट्याङका कारण ज्यान गुमाएको देखिन्छ । अध्ययन अवधि एउटै नभएकाले पनि तथ्यांकमा एकरूपता नभएको हुन सक्छ ।
नेपालमा मानवीय क्षति पुर्याउने गरी भएका जलवायुजन्य घटनामध्ये पहिलोमा बाढी पहिरो र दोस्रोमा चट्याङ रहेको देखिन्छ । जलवायुजन्य घटना न्यूनीकरणका सन्र्दभमा आयोजना गरिने छलफल तथा अन्य सार्वजनिक सभा समारोहमा बाढी, पहिरो, हिमालमा हिउँ पग्लिएको र हिउँ नपरेर हिमाल कालापत्थर बन्ने गरेका जस्ता घटना सधैँ उठाइन्छन् । तर, चट्याङले पुर्याइरहेको क्षतिको विषय बहसमा आउन सकेको छैन । यसको एउटा कारण चट्याङबाट हुने क्षति सहरमाभन्दा गाउँमा बढी हुनु र यसबाट प्रभावित हुने धेरैजसो परिवार कच्ची घरमा बसोबास गर्ने गरिब परिवार हुनु पनि हो ।
सहरमा निर्माण गरिएका घरमा चट्याङ प्रतिरोधी प्रविधि हुने भएकाले सहरी क्षेत्रमा भन्दा गाउँमा चट्याङको असर बढी देखिन्छ । गत १० वर्षमा चट्याङबाट मृत्यु हुनेको संख्या काठमाडौँमा २ जना र ललितपुरमा २ जना रहेको छ । अन्य जिल्लामा पनि सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा बढी क्षति भएको पाइन्छ ।
त्यसो त हरेकजसो प्राकृतिक विपद्मा बढी प्रभावित हुनेमा गरिब तथा सीमान्तकृत समुदायका व्यक्ति नै हुने गर्दछन् । चट्याङ्का कारण प्रभावित हुनेमा पनि गाउँघरमा बसोबास गर्ने निम्न वर्ग र सीमान्तकृत समुदायका व्यक्ति नै पर्दछन् ।
सन् २०२५ यता जुम्लाको पातारासी गाउँपालिकाको बाघजाले लेकमा चराउन लगेका करिव १ हजार ५०० भेडा चट्याङ् लागेर मरे । चट्याङ्का कारण हरेक वर्ष किसानले ज्यानको साथै बस्तुभाउका साथै आफ्ना पशुचौपाया गुमाउन पुगेका छन् । जीविकोपार्जनको मुख्य स्रोतका रूपमा रहेका पशुचौपाया गुम्दा विदेश जान बाध्य भएका कथा पातारासीमा हामीले अध्ययनका क्रममा पाएका थियौँ ।
चट्याङका कारण खेतबारीमा काम गरिरहेका निम्न र गरिब समुदायका मानिस नै प्रभावित हुने गरेका छन् । केही वर्षअघि सप्तरीमा खेतमा काम गरिरहेका ४ जना महिलाको चट्याङ लागेर मृत्यु भयो । यी केही उदाहरण मात्र हुन् । हरेक वर्षका प्रि–मनसुन र मनसुन सिजन सुरु भएपछि चट्याङका कारण मानवीय क्षति हुने गरेका समाचार आउने गरेका छन् ।
तापक्रम वृद्धि र चट्याङ पर्ने घटना बीचमा सकारात्मक सम्बन्ध रहेको छ । वैज्ञानिकहरूका अनुसार १ डिग्री तापक्रम वृद्धि हुँदा चट्याङ् पर्ने दर १० देखि २० प्रतिशतले वृद्धि हुन्छ । वैज्ञानिक अनुसन्धानको निष्कर्षबारे जानकारी दिने साइन्स जर्नलमा सन् २०१४ मा प्रकाशित एक लेखअनुसार १ डिग्री तापक्रम वृद्धिले १२ प्रतिशत चट्याङ् पर्ने दर बृद्धि हुने उल्लेख छ ।
नेपालको तापक्रम वृद्धिदर भूगोल र क्षेत्र अनुसार फरक छ । विश्व बैंकको ‘क्लाइमेट चेन्ज नलेज म्यानेजमेन्ट पोर्टल’का अनुसार सन् १९०१ मा नेपालको औसत तापक्रम १३ दशमलव ६६ डिग्रि सेल्सियस रहेकोमा सन् २०२३ मा १४ दशमलव शून्य ७ डिग्री सेल्सियस पुगेको छ । तापक्रम बृद्धिको क्रम यस्तै रहे आउँदा वर्षहरूमा नेपालमा चट्याङबाट हुने क्षतिका घटना अझै बढ्ने जोखिम छ ।
चट्याङ् कसरी पर्छ ?
सूर्यको तापका कारण वाष्पीकरण भएका पानीका कणहरू वायुमण्डलको एउटा निश्चित बिन्दुमा पुगेपछि चिसिएर बरफ बन्छन् । माथि पुगेका ती गह्रुंगा कणहरू तलतिर झर्न थाल्छन् भने हलुका कणहरू माथितिर सोझिन्छन् । त्यसक्रममा घर्षण सुरु हुन्छ । यो प्रक्रियामा नेगेटिभ र पोजेटिभ चार्ज बोकेका कणहरूबीचको घर्षण बढ्दै गएपछि ठूलो मात्रामा करेन्ट प्रवाह हुन्छ र त्यसले चट्याङ् उत्पन्न हुन्छ ।
त्यसो त भूगोलका सबै ठाउँमा चट्याङ् पर्ने दर एकैखालको हुँदैन । विश्व मानचित्रमा ३ वटा बढी चट्याङ पर्ने स्थान (हटस्पट) छन् । पहिलो मध्य अफ्रिकामा पर्छ, । दोस्रो दक्षिण र उत्तरी अमेरिकाको बीचको भू–भागमा पर्छ भने तेस्रो पूर्वी एसियामा पर्दछ । पूर्वी एसियाका इन्डोनेसिया, सिंगापुर, मलेसिया चट्याङ पर्ने मुख्य क्षेत्र हुन् । त्यसको एउटा सानो चोइटो बंगालको खाडी वरिपरि पनि छ र त्यसैको छिटा नेपालसम्म आइपुग्छन् ।
मानवीय क्षति कम गर्न पूर्वसूचनाको खाँचो
तापक्रम वृद्धिका कारण हुने जलवायुजन्य बाढी, पहिरो, चट्याङ र हिमताल विस्फोट जस्ता घटनालाई रोक्न सकिँदैन । तर, पूर्व सावधानी अपनाउने हो भने यस्ता घटनाबाट हुने मानवीय तथा भौतिक क्षति कम गर्न सकिन्छ । पूर्व सूचनाका कारण कसरी जोखिम न्यूनीकरण गर्न सकिन्छ भन्ने एउटा उदाहरण गत मनसुनको समयमा कञ्चनपुरमा भएको अतिभारी वर्षाका बेला पूर्व सूचनाकै कारण रोक्न सकिएको मानवीय क्षति हो । त्यस समयमा जल तथा मौसम विज्ञान विभागले कञ्चनपुरमा ठूलो वर्षा हुँदै छ भनी जारी गरेको सूचनाका आधारमा त्यहाँका स्थानीय तह तथा प्रहरी प्रशासनले गरेको तयारीका कारण सम्भावित ठूलो मानवीय क्षति रोकिएको थियो ।
नेपालले बर्षा तथा बाढी पूर्वानुमानमा ठूलो फड्को मारेको छ । कुनै बेला आकासमा नांगो आँखाले हेरेर मौसमको पूर्वानुमानसम्बन्धी सूचना जारी गर्ने अवस्थामा रहेको जल तथा मौसम विज्ञान विभाग अहिले ३ दिनअघि नै कुन क्षेत्रमा कस्तो किसिमको वर्षा हुँदै छ भन्नेबारेमा स्पष्ट पूर्वसूचना दिन सक्ने अवस्थामा पुगेको छ । नदी प्रणालीमा जडान गरिएका पूर्वसूचना प्रणालीले गर्दा बाढीका कारण हुनसक्ने मानवीय क्षति धेरै कम भएको छ ।
विज्ञहरूका अनुसार चट्याङ्को पूर्वानुमान गर्न सक्ने प्रविधि विकास भइसकेको छ । नेपालको जल तथा मौसम विज्ञान विभागसँग चट्याङ्को पूर्ण रूपमा पूर्वानुमान गर्न सक्ने प्रवधि नभए पनि विभिन्न मोड्युल तथा राडारबाट प्राप्त मौसमी सूचना, वायुमण्डलमा विकास भएको बादलको अवस्था र त्यसको प्रकारका आधारमा चट्याङ पर्न सक्ने सूचना दिने गरेको छ । यसबाट चट्याङबाट हुने मानवीय तथा अन्य क्षतिलाई पनि कम गर्न सकिन्छ । तर, त्यसका लागि चट्याङको ‘अब्जर्भेसन मनिटरिङ सिस्टम’ जडान गर्नुपर्ने पहिलो काम हो । यो प्रणालीबाट आधा घण्टाअघि नै वायुमण्डलको स्थितिका बारेमा सूचना प्रदान गर्न सकिन्छ । कम्तीमा पनि चट्याङ पर्न सुरु हुनु आधा वा १ घण्टाअघि आमजनतामा सूचना प्रवाह गर्न सक्ने हो भने त्यसबाट हुनसक्ने सम्भावित मानवीय तथा अन्य क्षतिलाई कम गर्न सकिन्छ ।
(वाग्ले भट्टराई र पोखरेल वातावरण पत्रकार हुन् ।)
प्रतिक्रिया