केही वर्षअघिसम्म अक्सर कात्तिक महिनाको अन्तिमदेखि कर्णालीका हिमाली जिल्लामा हिमपात हुने गथ्र्यो । तर पछिल्ला वर्षहरूमा कर्णालीका हिमाली जिल्लामा हिमपात अनियमित भएको छ ।
हिमालमा समयमा हिउँ नपर्नु जलवायु परिवर्तनको प्रत्यक्ष असर हो । विगत केही वर्ष पहिले कात्तिक अन्तिमसाता र मंसिर पहिलो सातादेखि कर्णालीका हिमाली क्षेत्रका जिल्लामा हिमपात भएर सेताम्मे हुने हिमाल पछिल्ला केही वर्षदेखि कालापत्थरजस्तै देखिएका छन् ।
यो वर्ष कणालीको हुम्लामा सामान्य हिमपात भएको छ । तर अन्य जिल्ला मुग, जुम्ला, डोल्पा र कालीकोटमा मौसम प्रतिकूल भएर चिसो अत्यधिक भए पनि माघको अन्तसम्म हिउँ परेको छैन ।
कर्णालीका लागि जल, जडीबुटी, जमीन र जंगल प्रकृतिका वरदान हुन् । यहाँको विकास र समृद्धिका आधार हुन् । तर प्राकृतिक विपत्ति र जलवायु परिवर्तनका कारण कर्णालीमा नयाँ–नयाँ समस्या देखा पर्दैछन । मानव जीवन थप कष्टकर बन्दै गएको छ । समयमै हिउँ नपर्दा डाँडाकाँडा नांगा हुन थालेका छन् ।
खोलानाला सुक्दै गएका छन् । खेतीबालीमा नयाँ–नयाँ रोग देखा पर्न थालेका छन् । बहुमूल्य जडिबुटी लोप हुँदै गएका छन् । बाढी पहिरो, आगलागी, खडेरीजस्ता प्राकृतिक विपद्का घटना बढ्दै गएका छन् । फलतः यहाँको खेती किसानी र पशुपालनमा प्रतिकूल असर पर्न थालेको छ ।
विगत ४ वर्षदेखि डोल्पामा मंसिर महिनामा हिमपात नभएको ठुलोभेरी नगरपालिका–३ दुनैका भीमबहादुर थापाले बताए । उनका अनुसार समयमै हिमपात नहँुदा कृषि क्षेत्रमा असर गर्नेदेखि र रोगब्याधी बढ्दै गएको छ ।
कृषि क्षेत्रमा नकरात्मक असर
कर्णालीका जिल्लामा जलवायुको प्रत्यक्ष प्रभावका कारण कृषि बालीहरूमा देखिने नयाँ नयाँ खालका रोगले उत्पादनमा कमी आइरहेको छ । हरेक वर्ष नयाँ खालका रोगका कारण कर्णालीको कृषि उत्पादनमा चुनौती थपिँदै गएको छ ।
जलवायु परिर्वतनको असरले समयमै हिउँ नपरेका कारण कर्णालीका हिमाली भेगका जमीनमा चिस्यानको कमी भएको छ । समयमै पर्याप्त मात्रामा हिमपात भएको अवस्थामा हिउँदे बाली उत्पादन वृद्धि हुने गर्दछ भने हिमपात भएन भने सुक्खा लागेर उत्पादन घट्ने गर्दछ । हिमपातले गहुँ, जौ, उवा जस्ता हिउँदेबालीका लागि सिँचाइकै काम गर्छ । ‘कात्तिक–मंसिर महिनामा हिउँ परे, माटो भिज्छ र उत्पादन राम्रो हुन्छ,’ छायानाथ रारा नगरपालिका–६ का किसान तीर्थबहादुर भामले भने, ‘विगत केही वर्षदेखि समयमा हिमपात नहुँदा सबैभन्दा बढी स्याउ उत्पादनमा असर परेको छ । स्याउ फुल्ने भनेको फागुन र चैतमा हो । माघमा परेको हिमपातले स्याउको जरासम्म सिँचाइ हुन पाउँदैन ।
जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा प्रत्यक्ष रूपमा परेको स्थानीयको भनाइ छ । मौसम फेरिएर पुस–माघमा हिउँ नपर्ने र फागुन–चैतमा हिउँ पर्ने अवस्था आएको छ । मौसमी हिमपात हुन छाडेर बेमौसमी हिमपात हुन थालेपछि स्थानीयले हिमाली तथा उच्च पहाडी क्षेत्रमा जलवायु परिवर्तनको असर महसुस गर्न थालेको अनुभव गरेका छन् ।
ती महिनामा नपरे ढिलोमा पुस र माघको पहिलो सातामा प्रायः बाक्लो हिउँ पथ्र्यो । त्यो बेला परेको हिउँ चैत÷वैशाखसम्म पनि खेतबारीमा रहन्थ्यो भने हिमाल बाह्रै महिना हिउँले ढाकिएका हुन्थे । छायानाथ रारा नगरपालिका–५ ढुम गाउँका कमल बुढा भन्छन्, ‘अहिले त हिमालमा हिउँ नै छैन, हामी २ वर्षदेखि राम्रोसँग हिउँ देख्न पाएका छैनौँ ।’
जलवायु परिवर्तनकै असरले कर्णालीको कृषि उत्पादन घट्दै गएको छ । पछिल्ला केही वर्षदेखि कृषि क्षेत्रमा जलवायु परिर्वतनले नकारात्मक असर गरिरहेको जिल्ला कृषि विकास कार्यालय मुगुका बागवानी बिकास अधिकृत अनिस शाक्यले बताए । उनका अनुसार तापक्रम र वर्षाको चक्रमा परिवर्तन भइरहेको छ, पानी पर्ने समय परिवर्तन हुनासाथ त्यसले उत्पादनमा असर गर्छ । यद्यपि तापक्रम बढ्दै जाँदा हिमाली क्षेत्रमा पनि धानको उत्पादन हुने क्षेत्र बिस्तार हुँदै गएको छ ।
माघमै फुल्यो लालीगुराँस
यतिबेला मुगुसहित कर्णालीका हिमाली तथा उच्च पहाडी क्षेत्रमा ढकमक्क गुराँस फुलेका छन् । पहिले पहिले चैत–वैशाखमा फुल्ने गुराँस पछिल्ला केही वर्ष यता माघमै फुल्ने गरेको छायानाथ रारा नगरपालिका–११ का स्थानीय दानबहादुर सवातले बताए ।
गुराँसजस्तै अन्य बोटविरुवामा पनि २ महिना अगावै नयाँ पालुवा लाग्न थालेको स्थानीयहरू बताउँछन् । चैतमा फुल्ने स्याउ पुसमा नै फुलेका र स–साना दानासमेत लागेको स्थानीयहरूको भनाइ छ ।
चैतमा हुने तापक्रम फागुनमा, फागुनमा हुने तापक्रम माघमा हुन थालेपछि चैतमा फुल्ने लालीगुराँस माघ महिनामा फुल्न थालेको स्थानीयको बुझाइ छ ।
सुक्दै पानीका मुहान
जलवायु परिवर्तनको असरकै कारण पुस–माघमा पनि डढेलो लागेर वनजंगल विनास हुन थालेको छ । गाउँका कुवा, पोखरी, खोला नदीको पानी घट्दै गएको छ । कतिपय खोला त मुहान सुकेर सुक्खा बनेका छन् । अधिकांश बस्तीमा कुवा र पोखरीबाट खानेपानी उपभोग गर्दै आएका स्थानीय खानेपानीको मुहान सुक्दै गएपछि बसाइँ सर्नसमेत थालेका छन् ।
हिमालमा हिउँ बाक्लो पर्दा पहिला कर्णालीको पानीको बहाव ठुलो हुने गरेको थियो । तर हिमाल नै कालापथ्थरजस्तै भएपछि कर्णाली नदी पनि घट्दै गएको स्थानीयहरू बताउँछन् ।
केही वर्षयता वातावरणीय प्रदूषण र प्राकृतिक विपत्तिका कारण यहाँको भूगोलमा अप्राकृतिक समस्या देखिन थालेको वन तथा वातावरण क्षेत्रका जानकारको दावी छ ।
खडेरीको दर बढेको छ । कहिले वर्षा निकै कम हुने त कहिले निकै बढी वर्षा हुने गरेको छ । पछिल्ला वर्षमा त कर्णालीमा पर्याप्त मात्रामा वर्षा भएकै छैन । सानातिना नदी खोलामा पानीको बहाव घट्दै गइरहेको छ । वर्षभरि हिउँ रहने क्षेत्र सुक्खा बन्दै गएका छन् ।
केही वर्ष पहिले र अहिलेको कर्णालीको हावापानी र वातावरणमा निकै परिवर्तन भएको छ । जलवायु परिवर्तनले पारिस्थितिक प्रणाली, जैविक विविधता, कृषि, भौतिक वातावरण र मानव स्वास्थ्यमा प्रतिकूल असर पु¥याउँदै छ ।
बहुमूल्य जडीबुटी लोपोन्मुख अवस्थामा छन् । विभिन्न वन्यजन्तुको वासस्थान संकटमा पर्न थालेका छन् ।
भोकमरीको चिन्ता
माघ महिनाको अन्त्यतिर आइपुग्दा पनि हिउँ नपरेपछि मुगुबासीहरू चिन्तित भएका छन् । हिउँद महिनामा पर्याप्त मात्रामा हिउँ परे हिउँदे अन्नबाली र फलफूलको उत्पादन राम्रो हुने भए पनि यस वर्षको फागुन लाग्दासम्म पनि हिउँ नपरेपछि उनीहरू भोकमरीको डरले त्रसित भएका छन् ।
मुगु हिमाली जिल्ला भएकाले यहाँका खेतबारीमा वर्षमा मुस्किलले २ बाली मात्र हुन्छ । जेठ–असारमा लगाएको वर्षे बाली असोज/कात्तिकमा र कात्तिक–मंसिरमा लगाएको हिउँदे बाली चैत/वैशाखमा भित्र्याइन्छ । जेठ/असारमा राम्रो वर्षा भए वर्षेबाली र हिउँदमा राम्रो हिऊँ परे हिउँदे बालीले राम्रो उत्पादन दिन्थ्यो । कृषकहरूलाई ६ महिनासम्म खानाको समस्या हुँदैनथ्यो । तर, यो वर्ष अन्नबाली खासै राम्रो नभएकाले भोकमरीको जोखिम बढ्ेको छायानाथ रारा नगरपालिका–१० को रूपबहादुर सेजुवाल भनाइ छ ।
‘कात्तिकमा लगाइएको गहुँ र जौ पानी र हिउँ नपर्दा राम्रोसँग उम्रन सकेको छैन । उम्रेका बोट पनि सुक्दै गएका छन्’, सेजुवालले घर परिवार पाल्ने चिन्ता गर्दै भने, ‘हिउँ परे फागुनमा पाखे धान लगाइन्थ्यो । अब यो पटक भोकमरी पर्ला जस्तो छ ।’
अन्नबाली मात्र होइन, हिउँ पर्दा स्याउ, ओखर, जडीबुटी पनि राम्रो फल्ने र पाइने हुन्छ । ‘अन्न कम उत्पादन भए पनि जडीबुटी संकलन गरेर, फलफूल बेचेर घरखर्च र बालबच्चाहरूको पढाइ खर्च जुटाउँथ्यौँ । तर, यो वर्ष जडीबुटी र फलफूलको पनि राम्रो उत्पादन होलाजस्तो छैन’, सोरु गाउँपालिका सीप गाउँका किसिम क्षेत्री चिन्ता व्यक्त गर्छन् ।
मौसम पूर्वानुमान महाशाखाले हिउँ पर्ने सम्भावना भएको सूचना रेडियो, टेलिभिजन र सामाजिक सञ्जालमा प्रवाह गर्दा कृषकहरू खुसी हुने तर, भोलिपल्ट हिउँ नपर्दा खिन्न हुने अवस्था छ ।
अनुकूलनका कार्यक्रममा जोड : मन्त्री शाही
संघीय सरकारका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही जलवायु परिवर्तन अनुकूलनका कामलाई सरकारले मुख्य प्राथमिकता दिएर काम अगाडि बढएको बताउँछन् । जलवायु परिवर्तनले नेपाल लगायतका विकासशील मुलुकहरूमा पारेको असर कम गर्न अनुकूलनका कार्यक्रममा जोड दिनुपरेको उनको तर्क छ ।
जलवायु परिवर्तनले पछिल्लो समय विश्वभरी नै असर गरेको देखिन्छ । विगत लगभग १५० वर्षमा पृथ्वीको औसत तापक्रम १ दशमलव ५ डिग्री बढेको छ । तापमान वृद्धिले मौसममा फेरबदल भएको छ । पानी पर्ने, हिऊँ पर्ने समयमा फेरबदल भएको छ । जसले गर्दा कृषि क्षेत्रमा असर पारेको छ । जलवायु परिवर्तनले विकसितको तुलनामा नेपालजस्ता विकासोन्मुख देशमा अझ असर गरेको पाइन्छ ।
समग्र देशभरीको तुलाना कर्णाली प्रदेश अझै जलवायु परिर्वतनको चपेटामा परेको मन्त्री शाहीले बताए । कर्णाली प्रदेशका हिमाली जिल्लामा तापक्रम वृद्धि भइरहेको छ । आर्थिक स्रोतको अभावदेखि संरचनाको निर्माण, बाढी पहिरोको समस्या समधानका उपाय विपद्बारे पूर्व जानकारी दिने संयन्त्रको अभावले पनि कर्णाली प्रदेश अरू प्रदेशको तुलनामा जलवायु परिर्वतको जोखिममा रहेको छ । यो तथ्यलाई मनन गर्दै वन तथा वातावरण मन्त्रालयले जलवायु परिवर्तन नीति बनाउनेदेखि कार्यन्वयनको काम अघि बढाएको पनि उनले उल्लेख गरे ।
मन्त्री शाहीका अनुसार वन तथा वातावरण मन्त्रालयमा जलवायु परिवर्तन महाशाखा स्थापना गरी प्रधामन्त्रीको अध्यक्षतामा जलवायु परिवर्तन परिषद्मार्फत् हरेक क्रियाकलापका बारेमा सम्बोधन गर्ने गरिएको छ । विगतका वर्षहरूमा भएका कामलाई हेर्दा विशेष गरी जलवायु परिर्वनको असरसँग जुध्नका लागि सुदुरपश्चिम र कर्णाली प्रदेशका स्थानीय तहसँग समन्वय गरी अनुकूलनका कार्यक्रम सञ्चालन भइरहेको मन्त्री शाहीको भनाइ छ ।
मुगु
प्रतिक्रिया