रारामा पर्यटक प्रहरी राख्ने तयारी

मुगु । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारामा पर्यटकको सुरक्षार्थका लागि पर्यटक प्रहरी राख्ने तयारी भएको छ । रारा क्षेत्रमा घुम्न आउने आन्तरिक तथा वाह्य पर्याटकहरुको सुरक्षाका लागि नेपाल सरकारले पर्यटक प्रहरी राख्ने भएको हो ।

कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय स्थल तथा नेपालकै सबैभन्दा ठूलो र गहिरो ताल राराताल घुम्न आउने पर्यटकहरुको सुरक्षाका लागि रारामा पर्यटक प्रहरी राख्न शुक्रबार पर्यटन विभाग र छायाँनाथ रारा नगरपालिकाबीच सम्झौता भएको छ ।

पर्यटन विभागका निर्देशक लिलाधर अवस्थी र छायाँनाथ रारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपती शाहीबीच सम्झौतामा हस्ताक्षर भएसँगै रारामा पर्यटक प्रहरी रहने निश्चित भएको छ ।

सम्झौतामा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले पर्यटक प्रहरीको जनशक्ति, दरबन्दी र प्रहरी पोष्टको व्यवस्थापन गर्ने र छायाँनाथ रारा नगरपालिकासँग सहकार्य र समन्वय गरि पर्यटकहरुलाई कामकाजमा खटाउने उल्लेख गरेको छ ।

छायाँनाथ रारा नगरपालिकाले रारामा पर्यटक प्रहरीलाई बस्नको लागि घर, खानेपानी, विजुलीलगायतका आवश्यक पुर्वाधारको व्यवस्था गर्नु पर्ने र पर्यटक प्रहरीका लागि उचित कार्य वातावरण निर्माण गर्नुपर्नेछ । मुगुमा रहेको रारामा ताल मात्र नभएर यो क्षेत्रमा धार्मिक स्थलहरु, हिमाल, गुफा रहेका छन् ।

जंगलहरुकाबीचमा रहेका यी स्थानहरुमा यहाँ आएका पर्टकहरु एक्लै घुम्न डराउने गर्छन् । अब पर्यटक प्रहरी राखिए सुरक्षाको महसुस गरि पर्यटकहरु स्वतन्त्र रुपमा यी पर्यटकीय स्थलहरुको पनि भ्रमण गर्ने तथा पर्यटकहरुको रारा बसाइ पनि लम्बिने छायाँनाथ रारा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शाहीले बताए ।

पर्यटकहरुको बसाई लम्बिने बित्तिकै स्थानीय जनताहरुको आर्थिक स्थितिमा पनि सुधार आउने उनको भनाइ छ । पर्यटक प्रहरीलाई राख्ने स्थानको छनौट, घर, खानेपानी, बिजुली र अन्य आवश्यक पूर्वाधारको व्यवस्थापन गरेर छिट्टै रारामा पर्यटक प्रहरी राख्न आफूहरु लागिरहेको छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख बिष्णुकुमार भामले बताए ।

प्रतिक्रिया