काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुन तस्करले प्रहरीलाई हप्काउने गरेको अभिव्यक्ति दिएका छन् । शनिबार नेपाल पुलिस क्लब परिसरमा नवनिर्मित नेपाल पुलिस क्लब ‘द ब्लु पेभिलियन’ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुन तस्करले प्रहरीलाई हप्काउने गरेको बताएका हुन् ।
झोलाभरि सुन बोकेर हिँडेको मान्छेलाई प्रहरीले हेर्यो भने प्रहरीले नै हप्काइ खाने अवस्था रहेको उनको अभिव्यक्ति छ । ‘पहिले–पहिले मेरो आँखामा सोझो हेरेर भन् त अपराध गरेको हो कि होइन ? भन्दा मान्छे सोझो हेरेर भन्न सक्दैनथ्यो । अप्ठ्यारो मान्थ्यो । अहिले त लाजशरम भन्ने कुरै छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘सुन तस्करले भेट्यो भनेदेखि पुलिसलाई हप्काइदिन्छ । किन हेर्या ? भन्छ । झोलाभरि सुन हुन्छ, तर किन हेरेको भन्छ ? उल्टै हप्काउँछ । हामीजस्ता भलाद्मी, सोझासिधा इमान्दारलाई किन हेर्या ? भन्ने जमाना आयो ।’
प्रधानमन्त्री ओलीले तस्कर, ठग र भ्रष्टहरूले असल मान्छेहरूलाई हप्काउने जमाना आएको भन्दै त्यसतर्फ सतर्क र सजग हुनुपर्ने बताए । उनले प्रहरीलाई निष्पक्ष र निर्धक भई काम गर्न आग्रह गरे । उनले नेपाल प्रहरीलाई सरकारको तर्फबाट र राजनीतिक तहबाट कुनै हस्तक्षेप नहुने उल्लेख गरे ।
ओलीले प्रहरीले मनोबल कमजोर पार्नुनहुने बताउँदै भने, ‘सरकारको तर्फबाट, राजनीतिक नेतृत्वको तर्फबाट कुनै हस्तक्षेप हुँदैन । तपाईहरू ठिक ढंगले अगाडी बढ्ने कुरामा कुनै रोकतोक हुँदैन । तपाईंहरू कमजोर मनोबल गर्न, आत्तिन र अनावश्यक ढंगले त्रसित हुनुहुँदैन ।’
प्रधानमन्त्री ओलीले सामाजिक अपराधहरू बढेको समेत बताए । उनले प्रहरीलाई प्रमाण र तथ्यमा आधारित भएर अनुसन्धान गर्न निर्देशन दिए ।
प्रतिक्रिया