काठमाडौँ । संयुक्त राज्य अमेरिकाले १४ लाखभन्दा बढी अवैध आप्रवासीलाई फिर्ता गर्ने सूचीमा १ हजार ३६५ जना नेपाली पनि परेका छन् । अमेरिकी अध्यागमन तथा कस्टम इन्फोर्समेन्ट (आइसिई) ले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ लाखभन्दा बढी आप्रवासी डिपोर्टको सूचीमा छन् । २० जनवरीमा राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेपछि अमेरिकामा रहेका अवैध आप्रवासी लखेट्ने गर्ने काम तीव्र रूपमा अघि बढाइएको छ ।
चुनावी अभियानदेखि नै अवैध आप्रवासीविरुद्ध आक्रामक बनेका ट्रम्पले कार्यभार सम्हालेकै दिन अमेरिकाको दक्षिणी छिमेकी मेक्सिकोको सीमाबाट भित्रिने आप्रवासी रोक्न संकटकालको घोषणा गर्दै सेना परिचालनको निर्णयसमेत गरेका थिए । अमेरिकामा मेक्सिको र एल साल्भाडोरबाट सबैभन्दा धेरै आप्रवासी प्रवेश गर्ने गरेका छन् । नेपालबाट अवैध रूपमा अमेरिका भित्रिने अधिकांश व्यक्ति विभिन्न देश हुँदै तिनै नाकाबाट जोखिमपूर्ण रूपमा जाने गरेको समाचार यसअघि नै प्रकाशित हुँदै आएका थिए ।
खुला सीमाबाट भित्रिने आप्रवासीका कारण देशको शान्ति सुरक्षामा खतरा बढेको भन्दै ट्रम्प प्रशासनले आप्रवासी नीतिमा आमूल परिवर्तन गरेको छ । ५ नोभेम्बरमा अमेरिकी निर्वाचनमा जित हात पार्ने क्रममा ट्रम्पले आप्रवासीका कारण अपराध बढेको तथा अमेरिकीहरूको जीवनस्तरमा समस्या परेको भन्दै चुनावी मुद्दा बनाएका थिए ।
विभिन्न अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार ट्रम्पले कार्यभार ग्रहण गरेको पहिलो दिनदेखि नै आप्रवासी गिरफ्तार गर्ने क्रम सुरु गरेका हुन् । यद्यपि, यस्ता आप्रवासीको एकिन र गिरफ्तारीमा स्थानीय राज्य सरकारभन्दा पनि संघीय तहकै एजेन्सीहरू बढी सक्रिय रहेको बताइएको छ ।
मेक्सिकोपछि अवैध आप्रवासी हटाउने चासोमा नाइजेरिया र अन्य अफ्रिकी देशबाट आएका नागरिक परेका छन् । सञ्चारमाध्यमहरूका अनुसार मेक्सिको, नाइजेरिया र अन्य अफ्रिकी देशका आप्रवासी खोज्ने क्रममा नेपालीहरू पनि परेको अनुमान गरिएको छ । यद्यपि, अमेरिकामा कति नेपाली अवैध रूपमा बसोबास गरिरहेका छन् भन्ने एकिन तथ्यांक छैन ।
सन् २०२३ मा सार्वजनिक तथ्यांक अनुसार अमेरिकामा २ लाख २३ हजार ९३० जना नेपाली छन् । तर, त्यसमध्ये अधिकांश नेपाली कानुनी प्रक्रिया पूरा गरेर गएका वा स्थायी आप्रवासन (पिआर) पाएका वा अमेरिकी नागरिकताधारी छन् ।
दक्षिण एसियाका कति ?
हाल अमेरिकाले डिपोर्ट गर्ने सूचीमा १ हजार ३६५ जना नेपाली छन् भने बंगलादेशका ४ हजार ८३७ जना छन् । यसैगरी, भुटानका १२२ र सबैभन्दा धेरै भारतका १७ हजार ९४० जना छन् । त्यस्तै अफगानिस्तानका १ हजार ७०८ जना, पाकिस्तानका ७ हजार ७६० जना र श्रीलंकाका ३ हजार ६५ जना सो सूचीमा छन् ।
दक्षिण अमेरिकामा हंगामा
अवैध अप्रवासी फिर्तीका लागि अमेरिकी गतिविधि तीव्र भएपछि बिहीबार द कम्युनिटी अफ ल्याटिन अमेरिका र क्म्यारेबियन स्टेट (सेलाक) ले बैठक नै राखेको छ । सो बैठकको उद्देश्य दक्षिण अमेरिकी राष्ट्रहरू एकजुट भएर ट्रम्प प्रशासनले आप्रवासीमाथि गरेको व्यवहारविरुद्ध आवाज उठाउने रहेको छ ।
गत शनिबार राति मात्र सैन्य विमानमार्फत् ८८ जना अवैध आप्रवासीलाई ब्राजिलमा ओरालिएको थियो । ब्राजिलको विदेश मन्त्रालयका अनुसार सबै आप्रवासीको हात बाँधिएको थियो । मंगलबार पनि ब्राजिल र अमेरिकाका विदेश मन्त्रालयबीचमा छलफल भएको थियो ।
अमेरिकामा मेक्सिकोसहित अन्य क्यारेबियन देशका आप्रवासी धेरै छन् । एल साल्भाडोरसहित ग्वाटेमाला र होन्डुरसबाट अमेरिका पुग्ने अवैध आप्रवासीको संख्या पनि कम छैन । डिपोर्ट हुनेको सूचीमा ग्वाटेमालाका २ लाख ५३ हजार ११३ जना छन् भने होन्डुरसका २ लाख ६१ हजार ६५१ जना छन् । ‘नर्थन ट्र्यांगल’ का रूपमा परिचित यी देशबाट अवैध रूपमा अमेरिका पुग्नेको संख्या कुल अवैध आप्रवासीमध्ये करिब २५ प्रतिशत छ । त्यतिमात्र होइन, आप्रवासी बोकेको सैन्य जहाजलाई अवतरण गर्न नदिएका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेड्रोबीच सामाजिक सञ्जालमै भनाभन भएको थियो । यसपछि अमेरिकाले कोलम्बियाको सामानमा २५ प्रतिशत अतिरिक्त कर लगाउने निर्णय गरेको थियो । सो निर्णयपछि पेड्रोले अमेरिकी सर्त मान्न तयार भएको जनाएपछि ट्रम्प प्रशासन आफ्नो निर्णयबाट पछि हटेको थियो ।
अवैध आप्रवासी नियन्त्रणको मुद्दासँगै जोडेर ट्रम्पले पदभार ग्रहण गर्नेबित्तिकै अमेरिकामा जन्मका आधारमा नागरिकता दिने प्रावधान हटाउने निर्णय गरेका थिए । तथापि अदालतले सो निर्णयको विरुद्धमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । अमेरिकामा रहेका बिनाकागजातका आप्रवासीको संख्या १ करोड १० लाखभन्दा बढी रहेको बताइएको छ । यो अमेरिकाको कुल जनसंख्याको ३ दशमलव ३ प्रतिशत हो ।
प्रतिक्रिया