रारामा बढ्यो पाहुना चराहरुको संख्या

मुगु । मुगुको रारा तालमा पाहुना चराहरुको संख्या गत वर्षभन्दा यस वर्ष बढेको छ । समुन्द्री सतहबाट दुई हजार ९ सय ७२ मिटर उचाइमा रहेको रारा तालमा भारत, मानसरोबर, साईबेरिया लगायतका विभिन्न खाडी मुलुकबाट दर्जनौँ प्रजातिका चराहरु यस वर्ष बढेका छन् ।

चराविद्हरुका अनुसार रारामा पाइने चराहरु साइबेरिया लगायत विभिन्न देशहरुबाट मंसिर महिनाबाट आउन सुरु गर्छन् । यस वर्ष माघबाट हिउँ परेको हुँदा हिजोआज धमाधम हाँस, जलेवा, काला, खैरा, पहेँलालगायत फरक फरक रङ भएका धेरै चराहरु रारामा देखिने गरेका छन् ।

ती चराहरु वैशाख महिनासम्म रारामा बस्ने त्यसपछि गर्मी बढेपछि मानसरोबर, साइबेरिया जाने गरेका छन् । यस वर्ष पुस महिनामा रारामा डुंगा नचल्दा, मानिसहरुको आगमन कम हुँदा पाहुना चरा बढेको स्थानीयको भनाइ छ ।

रारा राष्ट्रिय निकुञ्जको रेकर्ड अनुसार विगतका वर्षमा रारा तालमा रमाउने पाँच प्रजातिका ३४२ हाँसहरु रहेको देखिन्छ भने यसबर्ष चरा गणना अनुसार १५ प्रजातिका हाँस ५०० भन्दा बढी भेटिएको पाइन्छ ।

विशेष गरी राराको मिलीचौर, ओखरबोट, मिजार, दोफे, महादेव मन्दिर, आर्मी ब्यारेक क्षेत्रमा बढी हाँसहरु भेटिने गरेका छन् । रारामा विशेष गरी कमन कुट, खोया हाँस, मलाट हाँस, काले, खैरो, पहेँलो रङका हाँसहरु रहेको रारा राष्ट्रिय निकुञ्जले जनाएको छ ।

प्रतिक्रिया