रणनीतिक सुधारमा केन्द्रित भएको पर्यटनमन्त्री दाबी

काठमाडौँ । काम गर्न नसकेको भन्दै चौतर्फी आलोचना भइरहँदा वर्तमान सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले दीर्घकालीन महत्व राख्ने रणनीतिक सुधारमा केन्द्रित भएको दाबी गरेका छन् । नीतिगत सुधार, संरचनागत परिवर्तन र आधुनिक प्रविधिमैत्री सेवालाई चुस्त र प्रभावकारी बनाउन आफू लागिरेको उनले दाबी गरेका हुन् । उनको नेतृत्वमा परिणाममुखी र दीर्घकालीनरूपमा प्रभावकारी हुने कामहरू अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संस्कृतिको संरक्षण प्रवद्र्धन, समग्र पर्यटन क्षेत्रको दिगो विकास तथा नागरिक उड्डयन क्षेत्रको उन्नयनमा कामहरू अगाडि बढेका छन् । यस अवधिमा गौतमबुद्ध तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिक उडान सुचारू भएको मन्त्रालयको दाबी छ । ठूलो धनराशि खर्चेर निर्माण गरिएका दुवै विमानस्थलका लागि व्यावसायिक उड्डयन कार्य योजना पारित गरी कार्यान्वयनमा ल्याइएको मन्त्रालयले जनाएको छ ।

सरकारले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न चहाने विमान कम्पनीलाई विभिन्न कर छुटलगायतका सुविधा उपलब्ध गराउने कार्ययोजना स्वीकृत भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अलजजिरा एयर, फ्लाइ दुबई र थाई एयर एसियाले उडान सुरू गरी सकेका छन् । कम भिजिविलिटी भएका बेला उडान भर्न समस्या भएको भन्दै केही विदेशी हवाइ कम्पनीले बीचमा उडान तालिका कटौती गरेको भए पनि अहिले पुनः थप गरिरहेका छन् ।

परम्परागत रूपमा रहेको इन्स्टुमेण्ट ल्याण्डिङ सिस्टम (आइएलएस) को विकल्पमा भूउपग्रहमा आधारित रिक्वायर्ड नेभिगेसन पर्फर्मेन्स–अथोराइजेसन रिक्वायर्ड (आरएनपी–एआर) प्रणाली जडान भइ सञ्चालनमा ल्याइएको छ । भारतले आफ्नो आकाशमा पहुँच पुग्ने भन्दै आइएलएस सञ्चालनका लागि अनुमति नदिएपछि नयाँ विकल्प अगाडि सारिएको हो । आरएनपी–एआर भूउपग्रहमा आधारित अवतरण प्रणाली हो भने आइएलएस उपकरणमा आधारित अवतरण प्रविधि हो । आरएनपी–एआर नेभिगेसन प्रणालीले जहाजलाई चुनौतीपूर्ण भूभाग र खराब मौसममा सुरक्षित अवतरणका लागि मद्दत गर्छ ।

नेपालमा लामो समयदेखि चर्चामा रहेको नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकायका रूपमा एउटै निकाय राख्न नहुने यसबाट स्वार्थ बाझियो भन्ने गुनासो सम्बोधन गर्न प्रक्रिया अगाडि बढाइएको छ । कानुनी सुधारबाट युरोपेली युनियनले नेपाली वायुसेवा कम्पनीमाथि लगाएको प्रतिबन्ध फुकुवा हुन सहयोग पुग्ने विश्वास लिइएको छ । नीतिगत सुधार, संरचनागत परिवर्तन र आधुनिक प्रविधिमैत्री सेवालाई चुस्त र प्रभावकारी बनाउन मन्त्रीको नेतृत्वमा मन्त्रालयले अहोरात्र पहल गरिरहेको छ ।

पर्यटनमन्त्री पाण्डेले ऐनको नयाँ मस्यौदा बनाउँदा समय लाग्ने भएकाले पुरानो ऐनको मस्यौदालाई नै खोजेर त्यसलाई परिमार्जनसहित मन्त्रिपरिषद समक्ष पेस गरिएको र सुधार गर्नुपर्ने विषय संसद्बाट संशोधन गरेर सुधार गरिने बताए । उनले मन्त्रालयको काम कारवाहीलाई चुस्त र प्रभावकारी बनाउन तत निकायका नीतिगत सुधार र संरचनागत परिवर्तनलाई महत्त्वकासाथ अगाडि बढाइएको विश्वास व्यक्त गरे ।

भ्रमण दशक कार्यान्वयन

मन्त्रालयको महत्वपूर्ण काममध्ये पर्यटन दशक (२०२५–२०३५) कार्ययोजना निर्माण गरी स्वीकृतिको क्रममा रहेको छ । भ्रमण दशक कार्यान्वयन गरेर वार्षिक ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । नेपालमा सन् २०१९ मा १२ लाख हाराहारी विदेशी पर्यटक आएका थिए । सन् २०२४ मा ११ लाख बढी पर्यटक नेपाल आएका थिए अन्तर सरकारी विषयगत समितिका दुई वटा बैठक पोखरा र ठाकुरद्वारामा सम्पन्न गरिएको मन्त्रालयले जनाएको छ ।

पर्यटन विभागबाट प्रवाह हुने सेवालाई अनलाइनबाट प्रवाह हुने व्यवस्था मिलाईएको मन्त्री पाण्डेले बताए । उनले अन्य राष्ट्रिय नीतिहरूसँग तादात्म्यता कायम भई पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । तीनवटै तहहरूबीच समन्वय र सहकार्यको संस्कृति विकास हुने मन्त्री पाण्डेको भनाइ छ ।

पर्यटन पूर्वाधार निर्माणमा तीव्रता

सुदूरपश्चिम प्रदेशको खप्तड र कर्णाली प्रदेशको रारामा पर्यटक प्रहरीको एकाइ विस्तार गरिएको छ । प्रत्येक प्रदेशमा एउटा हिल स्टेशन निर्माण गर्ने उद्देश्यले चारवटा प्रदेशका एक एक स्थान छनौट गरी विस्तृत परियोजना निर्माण कार्य सुरू गरिएको मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ । मन्त्रालयको अग्रसरता र समन्वयमा प्रदेश सरकार र एसियाली विकास बैंकबीच सम्झौता भई खप्तडबाट बढीमालिका सम्मको पदमार्ग निर्माण प्रक्रिया अगाडि बढेको छ ।

उक्त पदमार्ग रारासम्म विस्तारित हुनेगरी कार्य भइरहेको छ । थप ५७ हिमाल आरोहणको लागि खुला गरिएको छ । मन्त्रालयअन्तर्गतका सबै निकायहरूसँग सम्बन्धित व्यवसायको दर्तादेखि व्यवसाय सञ्चालन प्रक्रियाहरूलाई सहजीकरण गर्दै झन्झटमुक्त बनाउन डिजिटाइजेशन सहित एकद्वार प्रणाली अवलम्बन गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।

द्विपक्षीय हवाई सेवा सम्झौता

नेपाल र फ्रान्सबीच सम्पन्न भएको द्विपक्षीय हवाई सेवा सम्झौता र समझदारी पत्र संशोधन गर्ने कार्य अगाडि बढाइएको छ । नेपाल र इण्डोनेसियाबीच द्विपक्षीय हवाई सेवा संझौता गर्ने प्रक्रिया अघि बढाइएको छ । राजविराज विमानस्थलमा रात्रीकालीन अवतरण क्षमतायुक्त बनाइ सञ्चालनमा ल्याइएको छ । यो सँगै १० वटा विमानस्थल रात्रीकालीन उडान सञ्चालन योग्य रहेको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ट्क्सी वे निर्माण

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको क्षमता वृद्धि गर्न समानान्तर ट्याक्सी वे विस्तारसम्बन्धी परियोजनाको तोकिएकै समयमा सम्पन्न गर्नेगरी कार्यप्रगति भइरहेको मन्त्रालयले जनाएको छ । हालसम्म करिब ४५ प्रतिशत काम सम्पन्न भएको जनाइएको छ । विमानस्थलको हवाई यातायात क्षमता अभिवृद्धि गर्न गुरू योजना बमोजिम विभिन्न चरणमा निर्माण कार्य भइरहेको बताइएको छ ।

अन्तरप्रदेश हवाई आवद्धता

समग्र नागरिक उड्डयन क्षेत्रको सुधारका लागि अध्ययन गर्न एक उच्चस्तरीय समिति गठन भई कार्य अघि बढाइएको मन्त्रालयले जनाएको छ । वायुयान उडान प्रशिक्षण संस्था फाइङ स्कुल सञ्चालन गर्नका लागि इजाजत माग गरी सोको सम्बन्धमा मन्त्रालयले अध्ययन थालेको छ । युरोपियन युनियनको सुरक्षा चासोको सूचीबाट निस्किन महत्त्वपूर्ण दुर्घटना जाँचसम्बन्धी स्थायी संरचना निर्माण गर्नेगरी ऐनको मस्यौदा तर्जुमाको कार्यअघि बढाइएको छ । नेपाल सरकारको निर्णयअनुसार नागरिक उड्डयन क्षेत्रको सुधारसम्बन्धी उच्चस्तरीय अध्ययन तथा सुधार समिति गठन भई कार्य प्रारम्भ भएको छ ।

प्रतिक्रिया