काठमाडौँ । नेकपा एमालेले साधारण सदस्यबाटसमेत निकालेका भीम रावल सुदूरपश्चिम पुगेसँगै एमाले छाड्ने नेता कार्यकर्ताको लर्को लागेको छ । मातृभुमी जागरण अभियान घोषणा गरेर गृहजिल्ला छिरेका रावलको पक्षमा लाग्ने एमालेका नेता कार्यकर्ताको संख्या ह्वात्तै बढेको हो । यो १ साताकाे अवधीमा अछाममा मात्रै एमाले छाडेर १ हजार ५ सय भन्दा बढी एमालेका सक्रिय नेता कार्यकर्ता मातृभुमी जागरण अभियानमा लागेका छन् ।
शुक्रबारमात्रै अछाम साँफेबगर नगरपालिकाका ८ को एमालेको वडा कमिटी मातृभूमि जागरण अभियानमा समाहित भएको छ । एमाले वडा कमिटी अध्यक्ष शम्भुबहादुर कुँवरको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । ‘एमाले वडा कमिटीका सम्पूर्ण पदाधिकारी मातृभूमि जागरण अभियानमा समाहित भएको घोषणा गर्दै सोही कमिटी उक्त अभियानको तदर्थ समितिमा रुपान्तरण गर्ने निर्णय गरिएको छ,’ निर्णयमा भनिएको छ ।
त्यस्तै, वडा नम्बर १० को एमाले कमिटी पनि मातृभूमि जागरण अभियानमा समाहित भएको छ । सोही कमिटीलाई उक्त अभियानको वडा समिति बनाइएको हो ।
अन्य पालिकाहरू चौरपाटी, ढकारी, तुर्माखाँद, बान्नीगढी जयगढ, मेल्लेख र रामारोशन गाउँपालिकाका कतिपय वडा कमिटीहरू पनि मातृभूमि जागरण अभियानमा समाहित भएको नेताहरूको दाबी छ । उक्त, पालिकाहरुको यकिन संख्या भने आउन सकेको छैन ।
अछामकाे मंगलसेन नगरपालिका वडा १० बाट ४० र वडा १२ बाट ८ जना नेता तथा कार्यकर्ताले एमाले परित्याग गरी रावलकाे अभियानमा जाेडिएका छन् ।
कमलबजार, पञ्चदेवल विनायक नगरपालिकास्थित सबै एमालेका नेता–कार्यकर्ताहरू डा भीम रावलको समर्थनमा जुट्ने दाबी रावल निकट नेताहरुले गरेका छन् । यसअघि नै १ हजार १ सयभन्दा बढी नेता कार्यकर्ता रावलको मातृभूमि जागरण अभियानमा समाहित भइसेका थिए ।
कैलालीमा पूर्वमन्त्री सुवेदीसहित ३५८ जना रावलको अभियानमा
अछामसँगै कैलालीमा पनि रावलको अभियानमा जोडिनेको संख्या ३ सय ५८ पुगेको छ । शनिबार (आज) मात्रै एमाले कैलालीको कारबाहीमा परेका सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री तथा एमालेका प्रदेश कमिटी सदस्य कृष्ण राज सुवेदी, जिल्ला कमिटी सदस्य भिष्मराज सुवेदी सहित ३५८ जनाले डा. रावलको मातृभुमी जागरण अभियान रोजेका छन् ।
प्रदेश कमिटी सदस्य सुबेदी सहितका नेताकार्यकर्ताले पत्रकार सम्मेलनको आयोजना गर्दै एमाले छाडेर रावलको अभियानमा जोडिएको जानकारी दिएका हुन । उक्त अभियानमा कैलालीको गोदावरी र गौरिगंगा नगरपालिकाका संगठित सदस्य र एमालेका शुभचिन्तकहरु जोडिएको सुबेदीले बताएका छन् ।
प्रतिक्रिया