भूकम्प प्रभावित क्षेत्रमा पुननिर्माणको समझदारी

पोखरा । बिल्डअप नेपालर डिप्रोक्स लघुवित्त संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । बिल्डअप नेपाल इन्जिनियरिङ प्रालि र डिप्रोक्स लघुवित्त संस्थाबीच जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रहरूमा सिएसइबीइट्टा निर्माण माइक्रो उद्यम स्थापना गर्न इच्छुक उद्यमीलाई सशक्त बनाउन समझदारी पत्रमा हस्ताक्षर भएको हो । जनवरी १६ मा काठमाडौँमा भएको समझदारीपत्रमा भूकम्प प्रभावित क्षेत्रहरूमा दिगो पुननिर्माणका लागि मार्ग प्रशस्त गर्ने विश्वास लिइएको छ ।

२०८० सालको जाजरकोट भूकम्पबाट क्षतिग्रस्त जाजरकोट र रुकुम पश्चिमका घरहरू तथा पुर्वाधारहरूको पुननिर्माणमा केन्द्रित रहेको सम्झौतामा दुवै जिल्लाका ७९ हजार बढी घर पुननिर्माण गर्नुपर्ने उल्लेख गरिएको छ । समझदारी अन्तर्गत १५० वटा सिएसइबी इट्टा उत्पादन माइक्रो उद्यम स्थापनाका लागि ६ करोड रुपैयाँ ऋण परिचालन गर्ने जनाइएको छ । उक्त रकमले आगामी वर्षहरूमा झण्डै १० हजार विपद प्रतिरोधी घरको पुननिर्माणमा सहयोग पुग्ने बताइएको छ । बिल्डअप नेपालले डिप्रोक्स लघुवित्तमार्फत वितरण गरेको ऋणमा शतप्रतिशत ब्याजदर अनुदान उपलब्ध गराएर ती उद्यमीलाई थप सहयोग पु¥याउने वित्तीय बोझलाई कम गर्दै उद्यमको विकासलाई प्रोत्साहन गर्ने जनाइएको छ ।

काठमाडौँमा भएको समझदारीपत्र हस्ताक्षर कार्यक्रममा डिप्रोक्स नेपालका प्रमुख कार्यकारी अधिकृत शेषरामन आचार्यले भने,‘डिप्रोक्स ग्रामीण उद्यमशीलतालाई सहयोग गर्न र दिगो विकासलाई प्रवद्र्धन गर्न प्रतिबद्ध छ । बिल्डअप नेपालसँगको समझदारीमार्फत हामीले जाजरकोट र रुकुम पश्चिमका इच्छुक उद्यमीहरूलाई सिएसइबीइँटा निर्माण माइक्रो–उद्यम स्थापना गर्न सहयोग गर्ने लक्ष्य राखेका छौँ । यसले घर र भवनहरूको पुनर्निर्माण गर्न सहयोग पु¥याउनुका साथै स्थायी आर्थिक अवसर सिर्जना गर्नेछ ।’ त्यस्तै बिल्डअप नेपालका सह–संस्थापक तथा प्रबन्ध निर्देशक ब्योर्न सोडरबर्गले भने, ‘यस समझदारीले एउटा आशालाग्दो पहलको सुरुवातलाई संकेत गर्दछ। हामी विश्वस्त छौँ कि यस परियोजनाले बिल्डअप नेपालका उद्यमीहरूलाई सिएसइबीइँटा निर्माण व्यवसाय छिट्टै सुरु गर्न आवश्यक सहयोग प्रदान गर्नेछ ।’

बिल्डअप नेपालले ग्रामीण क्षेत्रका समुदाय र उद्यमीलाई न्यून लागतमा भुकम्प प्रतिरोधी घर निर्माण गर्न सहयोगसँगै सिएसइबी इँटा प्रविधिमा आधारित, स्थानीय सामग्री प्रयोग गरेर वातावरणमैत्री इँटा उत्पादन गर्न आवश्यक मेसिन, तालिम, र दीर्घकालीन सहयोग प्रदान गर्दै ग्रामीण उद्यमीहरूलाई सशक्त बनाउँदै माइक्रो–निर्माण कम्पनीहरू स्थापना गरिरहेको छ ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया