काठमाडौं । चितवनमा एक युवकमाथि निर्घात कुटपिट गर्ने प्रहरी सहायक निरीक्षक (असई) निलम्बित भएका छन् । भरतपुर महानगरपालिकास्थित बाइपासमा युवकमाथि निर्घात कुटपिट भएको भिडियो सामाजिक सञ्जालमा एकाएक भाइरल भएपछि ती प्रहरीका असई निलम्बित भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि छानबिन गरेर घटनामा अस्थाई प्रहरी बिट गणेशस्थान भरतपुरमा कार्यरत असई बुद्धिबहादुर घर्ती भुजेललाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको हो ।
घटनाको छानबिन गर्न सोमबार बिहान मात्रै डीएसपी महतोकै नेतृत्वमा समिति बनाइएको थियो । सेतो सर्ट र कालो पाइन्ट लगाएका युवकलाई प्रहरीले निर्घात कुटपिट गरेको भिडिओमा देखिन्छ । भिडिओ सार्वजनिक भएपछि प्रहरीको आलोचना भएको छ ।
सवारी चेकजाँच गर्ने क्रममा ती युवकमाथि कुटपिट भएको देखिन्छ। ड्युटीमा खटिएका प्रहरीले उनलाई लखेटि लखेटि लात्ति प्रहार गर्छन् । सामाजिक सञ्जालमा ‘भाइरल’ भिडियोमा बर्दी लगाएका एक प्रहरीले ती व्यक्तिलाई लात्ताले हानेर ढालेको देखिन्छ ।
नजिकै प्रहरीले चेकिङ गरिरहेको र त्यहीँ सामु उभिएका व्यक्तिलाई ती प्रहरीले कुटपिट गरेको देखिन्छ । प्रहरीको लात्ताले ती व्यक्ति ढलेका छन् । ढलेपछि समेत कुटपिट गरेको भिडियोमा देखिन्छ ।
भिडियोमा सुनिएअनुसार, ती व्यक्तिलाई प्रहरीले ‘कसलाई फोन गर्छस्, गर ! पावर देखाउन खोजेको ?’ भन्दै मरणासन्न हुने गरी कुटपिट गरेका छन् ।
प्रतिक्रिया