काठमाडौँ । काठमाडौँस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिमाथि थुनछेक बहस सकिएर धरौटीमा रिहा भएका छन् । तर, सोही प्रकरणमा पक्राउ पुर्जी जारी भएका सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बराललाई भने प्रहरीले अहिलेसम्म पनि पक्राउ गरेको छैन । बराल पक्राउ नपर्नुको मुख्य कारण हो– सत्ताको संरक्षण । उनी एमालेबाट गाउँपालिका उपाध्यक्ष निर्वाचित भएका हुन् ।
स्वर्णलक्ष्मी सहकारीका पूर्वसञ्चालकसमेत रहेका बरालविरुद्ध २१ पुसमा फरार प्रतिवादी बनाउँदै मुद्दा दायर गरिएको थियो । त्यसअघि काठमाडौँ जिल्ला अदालतबाट ३ चरणमा पक्राउ पुर्जी जारी हुँदा बरालविरुद्ध दोस्रो चरणमा भदौ २ गते पक्राउ पुर्जी जारी भएको थियो । तर, पक्राउ पुर्जी जारी भएको ५ महिनासम्म पनि उनलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।
बराललाई प्रहरीले फरार प्रतिवादी भने पनि २ महिना अघिसम्म उनी गाउँपालिकाको सार्वजनिक कार्यक्रममै उपस्थित हुने गरेका थिए । र, आफ्नो सामाजिक सञ्जालमा पनि त्यसका तस्बिरहरू सार्वजनिक गर्थे । तर, प्रहरीले भने उनलाई फरार प्रतिवादीको सूचीमा राख्दै आएको छ ।
गत शुक्रबार फिक्कलमा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको गाउँ अधिवेशन भएको थियो । सो अधिवेशनको संयोजन र समन्वय उनै बरालले गरेका थिए । नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सचिवालय सदस्य तथा सिन्धुली इन्चार्ज पुरुषोत्तम दाहालले सामाजिक सञ्जलमार्फत् यसलाई पुष्टि गरेका छन् । दाहालले कार्यक्रम संयोजन गरिदिएकामा बराललाई धन्यवाद व्यक्त गर्दै लेखेका थिए, ‘यस अधिवेशन संयोजनका लागि फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवार र उपाध्याक्ष राजु बराल… ज्यूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।’
उता, गाउँपालिका अध्यक्ष पार्वती सुनुवार भने गएको ३ महिनादेखि बराल आफ्नो सम्पर्कमा नरहेको बताउँछिन् । तर, स्रोतका अनुसार बराललाई जिल्लामै देख्ने स्थानीय थुप्रै छन् । भदौ २ मा नै पक्राउ पुर्जी जारी भए पनि अध्यक्ष सुनुवार भने ३ महिना अघिदेखि मात्र आफ्नो सम्पर्क नभएको बताउँछिन् । पक्राउ पुर्जी जारी भएपछि पनि सार्वजनिक कार्यक्रममा उपस्थित भएको र सामाजिक सञ्जालमा तस्बिरहरू राखेको देखिन्छ नि ! भन्ने जिज्ञासामा सुनुवार गैरजिम्मेवारीपूर्ण जबाफ दिएर पन्छिन खोजिन् । ‘अब पक्राउ नपर्दासम्म त तस्बिरहरू राख्न मिलिहाल्यो नि !,’ उनले प्रतिप्रश्न गर्दै भनिन्, ‘रवि लामिछाने पनि पक्राउ हुनुअघि पत्रकार सम्मेलन नै गरेर गएको होइन र ?’
गाउँपालिकाको उपाध्यक्ष जस्तो महत्वपूर्ण सार्वजनिक पदमा बसेको व्यक्तिको बचाउमा उत्रिने गरी अध्यक्ष सुनुवारको जबाफले पनि बरालको पक्षम सिंगो पार्टी लागेको संकेत गर्छ । किनकि गाउँपालिका अध्यक्ष सुनुवार पनि एमालेबाटै निर्वाचित भएकी हुन् । गत स्थानीय तहको निर्वाचनमा माओवादीका उम्मेदवार लोकेन्द्रबहादुर कार्कीलाई हराउँदै बराल उपाध्यक्षमा निर्वाचित हुँदा कांग्रेस उम्मेदवार नृपबहादुर भुजेललाई पराजित गर्दै सुनुवार अध्यक्षमा विजयी भएकी थिइन् । बराल भने यसअघिको कार्यकालमा सोही गाउँपालिकाको वडा–५ का वडाध्यक्ष थिए भने एमालेको सिन्धुली–काठमाडौँ सम्पर्क मञ्चका सचिवसमेत थिए ।
फरार प्रतिवादी बराल गाउँघरमै सक्रिय रहेका थुप्रै उदाहरण बाहिरिँदा पनि पक्राउ नपर्नु र त्यसका लागि पालिका अध्यक्षको हैसियतले सहजीकरण गर्न सकिन्थ्यो नि ! भन्ने जिज्ञासामा सुनुवारले भनिन्, ‘पक्राउ गर्न सहजीकरण गर्ने काम मेरो होइन, तपाईंले नै गर्नुहोला त्यो काम ।’ उनको अर्को जबाफ थियो, ‘हामीले उहाँलाई अपराधी ठहर्याउने होइन । कारबाही गर्ने तपाईंहामीले होइन । त्यसका लागि अदालत छ ।’ अदालतले नै पक्राउ गर्न अनुमति दिएको र प्रहरी अनुसन्धानमा पनि रकम हिनामिना गरेको देखिएका व्यक्तिको बचाउमा अध्यक्ष सुनुवारको प्रतिक्रिया थप शंकास्पद छ ।
यही शंकालाई बल पुर्याउने गरी सुनुवारले माघे संक्रान्तिको शुभकामना दिँदै एउटा तस्बिर फेसबुकमा पोस्ट गरेकी थिइन् । सो तस्बिरमा फरार भनिएका राजु बराल पनि देखिएका छन् । यसबारे जिज्ञासा राख्दा सुनुवारले पुरानै तस्बिर पोस्ट गरेको जबाफ दिइन् । तर, बराल भएकै तस्बिर किन त ? भन्ने प्रश्नको जबाफ भने उनीसँग थिएन ।
नाता सहकारी ठगीमा मुद्दामा पनि प्रतिवादी
२०८० माघमा राजु बरालविरुद्ध काठमाडौँमै रहेको अर्को नाता बचत तथा ऋण सहकारीको बचत हिनामिनाको आरोपमा मुद्दा दर्ता भएको थियो । त्यसबेला बरालसहित ११ जनाविरुद्ध बचतकर्ताको ७२ लाख ३२ हजार ३५० रुपैयाँ अपचलन गरेको आरोप लगाइएको थियो । बराल उक्त सहकारीको उपाध्यक्ष थिए । त्यसबेला उनीविरुद्ध पक्राउ पुर्जी जारी नभए पनि फरार रहेकाले फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो ।
सुप्रिम घोटालामा गत वैशाखमै दायर भएको थियो मुद्दा
गत वैशाखमा बरालसमेतलाई प्रतिवादी बनाई बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीमा भएको घोटाला प्रकरणमा जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएको थियो । त्यसबेला बरालसहित गीतेन्द्रबाबु (जिबी) राई, पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन, कुमार रम्तेललगायत २८ जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो ।
उक्त मुद्दामा १ अर्ब २ करोड बिगो मागदाबी लिनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन बुझाइएको थियो । सहकारीमा राखेको निक्षेप हिनामिना गरेर ठगी गरेको आरोपमा १ हजार ८३१ जनाले जाहेरी दिएका छन् । आइतबार मात्रै सोही मुद्दामा रवि लामिछाने सहितलाई समेटेर पूरक मुद्दा दायर गरिएको छ । तर, ९ महिनाअघि नै मुद्दा दायर भएका प्रतिवादी बराल भने खुलमखुला हिँडिरहेका छन् ।
०००
रविविरुद्ध रुपन्देहीमा पनि मुद्दा, छविलाई पठाइयो हिरासत
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनालाई अभियुक्त बनाउँदै रुपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको छ । बुटवलस्थित सुप्रिम सहकारी ठगी अभियोगमा सरकारी वकिल कार्यालय रुपन्देहीले मुद्दा दर्ता गराएको हो ।
उनीहरूविरुद्ध फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको मुद्दा दर्ता भएको छ । प्रहरीले पूर्वगृहमन्त्री लामिछाने, पूर्व डिआइजी छविलाल जोशीसहित १४ जनालाई मुद्दा चलाउन रायसहितको प्रतिवेदन गत शुक्रबार बुझाएको थियो । यससँगै सुप्रिम सहकारी ठगी प्रकरणमा प्रतिवादीको संख्या पनि ४२ पुगेको छ ।
यसअघि जिल्ला सरकारी वकिल कार्यालयले जिबी राई, सुप्रिमका अध्यक्ष ओमप्रकाश गुरुङ, सहकारीका व्यवस्थापक सागर केसी, कुमार रम्तेलसहित २८ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगीसम्बन्धी कसुरमा ३ वैशाख, २०८१ मा मुद्दा दर्ता गरेको थियो ।
प्रहरीको अनुसन्धान प्रतिवेदनअनुसार सुप्रिम सहकारीका १० हजार ३९१ जनाले बचत गरेको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको छ । त्यसमध्ये १४ करोड रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको छ । अनुसन्धान प्रतिवेदनमा रविविरुद्ध व्यक्तिगत रूपमा २ करोड र गोर्खा मिडियाका नाममा सामूहिक २ करोड १५ लाख २८ हजार गरी ४ करोड १५ लाख २८ हजार रुपैयाँको बिगो मागदाबी गरिएको छ । यसअघि रवि लामिछाने जिल्ला अदालत कास्कीमा ६५ लाख र जिल्ला अदालत काठमाडौँमा ६० लाख धरौटी बुझाएर छुटिसकेका छन् ।
उता, पूर्व डिआइजी छविलाल जोशी जिल्ला अदालत कास्कीबाट धरौटीमा रिहा भएको १ सातापछि आइतबार काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका छन् । काठमाडौँ जिल्ला अदालतमा दायर भएको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको थुनछेक बहसका लागि उनी आइतबार अदालतमा उपस्थित भएका थिए ।
जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासमा उनको बयान भएको थियो । उनको बयान र सरकारी वकिलको बहस सकिए पनि जोशीको तर्फबाट बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर उनलाई हिरासतमा पठाउने आदेश दिइएको छ । सूर्यदर्शन सहकारी ठगीको अभियोगमा कास्की अदालतबाट ८८ लाख धरौटीमा रिहा भएका जोशी आइतबार बिहान जिल्ला अदालतमा हाजिर भएका थिए ।
प्रतिक्रिया