काठमाडौँ । कोसी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि झापामा आक्रमण भएको छ । झापाको कन्काई नगरपालिका–१ मा उनीमाथि आक्रमण भएको झापा प्रहरीले जनाएको छ ।
कन्काईमा कार्यक्रम सकेर घर फर्कने क्रममा थापामाथि विद्युत् प्राधिकरणका कर्मचारीले गाडी ओभरेटको विषयमा विवाद गरेर आक्रमण गरेको बताइएको छ । थापा दोमुखामा आयोजित नेपाल प्रेस युनियनको कार्यक्रममा सहभागी भएर फर्किंदै गरेको बताइएको छ ।
थापासँग एउटै गाडीमा रहेका झापा कांग्रेस सचिव कृष्ण हुमागाईंका अनुसार गाडी छेकेर चालकले उनीमाथि आक्रमण गरेका हुन् । ‘पिएसओसहितको गाडीमा हामी थियौँ, हामीभन्दा अघि रहेको बिजुली अफिसको गाडीले बाटो छेकेको छेक्यै गर्यो,’ हुमागाईंले भने, ‘त्यसपछि भिआइपीको गाडी हो भन्दै पिएसओले वाकीटकी देखाएपछि गाडी छेकेर रोके । अनि मनपरी बोल्दै आक्रमण गरे ।’
चालकले ‘देश लुट्ने यिनै हुन्, नेता जति सबै चोर हुन्’ भन्दै आँखामा मुक्का हानेको हुमागाईंले बताए । मुक्का प्रहारपछि थापाको अनुहारबाट भल्भली रगत आएको उनले जनाए । बा१झ ६५३ नम्बरको गाडीमा आउँदै गरेका थापामाथि बा १ झ १८७० मा सवार व्यक्तिले आक्रमण गरेका थिए । साँघुरो बाटोमा गाडी ‘ओभरटेक’ गर्न खोजेपछि मुक्का प्रहार भएको हो ।
बिर्तासिटी अस्पतालमा सामान्य उपचारपछि पूर्व मुख्यमन्त्री थापा घर फर्केका छन् । हातपातमा संलग्न रहेको आरोपमा प्रहरीले प्राधिकरणको सुरुंगा शाखाका हेल्पर र सवारी चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–११ का ४९ वर्षीय भक्तबहादुर कटवाल र कन्काई–३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठ छन् ।
प्रतिक्रिया