अखिल क्रान्तिकारीको अध्यक्षमा रोक्काको उम्मेदवारी घोषणा

काठमाडौं । अखिल क्रान्तिकारीको केन्द्रीय समितिको २३औँ राष्ट्रिय सम्मेलनमा अध्यक्ष पदका लागि श्याम रोक्काले उम्मेदवारी घोषणा गरेका छन् । ‘जसको नीति, उसैको नेतृत्व’ र ‘विद्यार्थी आफैँले परिवर्तनको नेतृत्व गर्नुपर्ने’ मान्यतासहित रोक्काले औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

उनले असमान शिक्षाको अन्त्य गर्ने र शैक्षिक माफियाविरुद्धको निर्णायक लडाइँ लड्ने अठोटसहित उम्मेदवारी दिएको बजानकारी दिए । उनले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको नाममा छात्रवृत्ति कोष स्थापना गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । रोक्काले विभिन्न एजेन्डा प्रस्तुत गर्दै आफ्नो उम्मेदवारीलाई बलियो बनाउन प्रयास गरेको बताए ।

उनले प्रविधिमैत्री शिक्षा र रचनात्मक विद्यार्थी आन्दोलनको विकास, सत्ताको लोभमा फसेको विद्यार्थी आन्दोलनलाई सडक आन्दोलनको पहिचानमा रूपान्तरण, विद्यालयदेखि विश्वविद्यालयसम्म शैक्षिक सुधार कार्यक्रम सञ्चालन, पढ्दै कमाउँदै अभियानको सुरुवात, निशुल्क र समान शिक्षा सुनिश्चित गर्न संघर्ष, गुणस्तरीय स्ववियुको विकास, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टीका साथै सामूहिक प्रयासको आवश्यकतालाई एजेन्डामा समावेश गरेको जानकारी दिए ।

रोक्काले विद्यार्थी आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन व्यक्तिगत प्रयास मात्र पर्याप्त नभएको भन्दै सामूहिक बहस र सहभागिताको आवश्यकतामा जोड दिए । उनले आफ्नो एजेन्डालाई नियमित रूपमा लिखित सामग्री र भिडियो सन्देशमार्फत सार्वजनिक गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

रोक्काले आफू सहिद परिवारको सदस्य भएकाले पार्टीका शीर्ष नेतादेखि प्रतिनिधिसम्मको सहानुभूति र समर्थन रहेको दाबी गरेका छन् । बागमती प्रदेश आफ्नो गृह क्षेत्र भएकाले र विशेष प्रदेशमा आफ्नो कार्यक्षेत्र बलियो रहेको कारण आफूलाई जित सहज हुने विश्वास उनले व्यक्त गरेका छन् ।

प्रतिक्रिया