काठमाडौं । अघिल्लो हप्तासम्म नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता हुने पक्का भयो भनेका एकता अभियानका अध्यक्ष वामदेव गौतमको कुरो फेरिएको छ । अस्थिर राजनीतिक चरित्रका कारण चर्चामा आइरहने उनी अहिले फेरि एमाले तिर नजिकिएका छन् । त्यतिमात्रै होइन पार्टी एकताका लागि नेकपा माओवादी केन्द्रसंग पनि संवादमै छन् ।
एमालेका पूर्व उपाध्यक्ष गौतम यति बेला एमाले समाजवादी र माओवादी तीनतिर वार्ता भइरहेको भन्न थालेका छन् । एक हप्ता अघि ‘म र माधव नेपाल एक हुने भयौं, हाम्रो सबै कुरा मिलिसक्यो ’ भन्दै निकै उत्साही भएर समाजवादीको केन्द्रिय कार्यालयबाट निस्किएका वामदेव यति बेला जता पनि जानसक्ने अभिव्यक्ति दिन थालेका छन् ।
गौतमलाई नजिकबाट चिन्ने उनले माले पार्टी बनाउदाका तत्कालिन मालेका एक नेताले भने, ‘गौतमको चरित्र नै यस्तै छ । उनी कतिबेला कोसँग नजिक हुन्छ वा टाडिन्छन् भन्न सकिन्न ।’ उनले अहिले जे बोली रहेको छन् त्यो उनको अस्थिर राजनीतिक चरित्रको गतिलो उदाहरण भएको उनको टिप्पणी छ । नेकपा विभाजन पछि उनका धेरै सहयोगीहरु कोही एमाले, कोही एकीकृत समाजवादी र कोही माओवादी केन्द्रमा सामेल भइसकेका छन् तर वामदेवका पछिल्ला तीनवर्ष भने कहिले हौसिने कहिले निराश हुने गर्दैमा विते ।
तत्कालिन नेकपा विभाजनका बेला पनि उनको अडान ठीक नरहेको ती नेताले बताए । नेकपाको सचिवालमा प्रचण्ड र माधव नेपाललाई कहिले उचाल्ने र कहिले ओलीसँग कुम जोड्न जाने उनको शैलीले पनि अहिलेको कम्यनिस्ट आन्दोलनमा क्षतिपुगेको उनको ठम्याइँ छ । वामदेवकै कारण नेकपामा ओलीले खेल्ने मौका पाएको उनले बताए । ‘वामदेवले सचिवालयमा खुट्टा दह्रो टेकेको भए नेकपामा विभाजन नहुन सक्थ्यो, उनी कहिल्यै पनि अडानमा अडिन सक्दैनन ।’ सिलवर जस्तै तात्ने र सेलाउने गौतमको शैली रहेको उनले बताए ।
तत्कालिन नेकपाको सचिवालयमा विवाद उत्कर्षमा पुग्दा गौतमको शैली, अभिव्यक्ति र भूमिका स्मरण गर्दा माथीको आरोपमा खण्डन गर्ने अवस्था देखिदैन । एक हप्ता अघिसम्म समाजवादीको संरचना अनुसार जाँदा समाजवाद स्थापनाको बाटोमा पुग्न सकिने ठोकुवा गर्दे आफू सोही पार्टी सक्रिय हुने बताएका उनले एमालेको पछिल्ला केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले पेस गरेको प्रतिवेदनको एक अंश ‘पार्टी छोडेर गएकालाई पनि ल्याउने’ पढेपछि एका एक कुरा फेदै एमालेसँग पनि एकतावार्ता हुँदै गरेको भन्न थालेका हुन् ।
स्रोतकाअनुसार उनले समाजवादीमा मागेअनुसार जिम्मेवारी पाउने छाँट नदेखेपछि अन्तै कुरा मोडिएको हो । उनले समाजवादीमा संगठन विभाग प्रमुख मागेका थिए तर, उक्त जिम्मेवारी दिने कुरामा समाजवादीले सहमती जनाएको छैन ।
एमाले विभाजन पछि सो पार्टी छाडेर एकताअभियानका संयोजकभएका गौतमले एमाले र अन्य वाम घटकसँग पनि कुराकानी चलिरहेका कारण तत्काल कोहीसँग एकता गरिहाल्ने कार्यक्रम नरहेको बताए छन् । उनको अभियानका महासचिव डिबी कार्कीले भने, ‘हाम्रो मुख्यवार्ता चाँहि समाजवादीसँग नै चलिरहेको छ । तर एमालेसँगको वार्ता पनि टुंगिएको छैन् ।’ यसले पनि उनको समूहको कोसँग एकता हुन्छ भन्न सक्ने अवस्था छैन ।
कार्कीकाअनुसार एकता अभियानमा माओवादीलगायतका कम्युनिस्ट पार्टीबाट पनि नेताहरु आएकाले माओवादीसँग पनि वार्ता किन नगर्ने भन्ने बिचार आएकाले माओवादीसँग पनि वार्ता चलेको छ । तीनवटा पार्टीसँग वार्ता भएपनि जसले पहिला टुंग्याउँछ उसैसँग एकता हुन सक्ने कार्कीले बताए । उनले भने, ‘हामीले एकताका लागि सबै जिम्मेवारी वामदेव कमरेडलाई दिएका छौं उहाँले गरको हरेक निर्णय हामी स्वीकार गछौं ।’
पार्टी एकताका लागि गौतमले उनकै अध्यक्षतामा ६ सदस्सीय वार्ता टोली बनाएका छन् । सो टोलीमा अध्यक्ष गौतम, उपाध्यक्ष डिल्लीराज भट्टराई, महेन्द्र अर्याल, महासचिव डिबी कार्की, सचिव भगवती विष्ट र लोकनाथ धमला रहेका छन् । भट्टराई र अर्याल माओवादीबाट आएका हुन् । ‘धेरै सदस्य भएकाले धेरै कुरा आउने गरेका छ । सबैको कुरा सुन्नै प¥यो निर्णय के हुन्छ भन्न सकिन्न’ स्रोतले भन्यो ।
प्रतिक्रिया