मुगु । साविकको रोवा गाविस हालको छायाँनाथ रारा नगरपालिका मुगुका दुई विकट वडामा विद्युत सेवा पुगेको छ । छायाँनाथ रारा नगरपालिका १० र ११ वडामा राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेको हो ।
छायाँनाथ रारा नगरपालिका मुगुको आर्थिक सहयोग तथा गमगाढ विद्युत वितरण केन्द्र गमगढी मुगुको प्राविधक सहयोग एवं सहजिकरणमा छायाँनाथ रारा नगरपालिका वडा नं १० र ११ का दस गाउँबस्तीमा विद्युत सेवा पुगेको छ ।
छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख बिष्णुकुमार भामले बुधबार एक कार्यक्रमबीच दुवै वडामा रहेका विद्युतका स्वीच दबाएर छायाँनाथ रारा नगरपालिका वडा नं १० र ११ का गाउँबस्तीमा विद्युतीयकरण भएको औपचारिक उद्घाटन गरेका हुन् ।
वर्षौँदेखि अन्धकारमा बस्न बाध्य भएका स्थानीयलाई बिजुली आएसँगै दैनिक जनवीजनका धेरै काममा सहजता आउने नगरप्रमुख भामले बताए । ‘अब बिजुली आयो अन्धकारमा बस्नु पर्दैन, दियालोको भरपर्नु पर्दैन, अब विद्यार्थीलाई टुकी बालेर पढ्नु पर्दैन’, उनले भने । चुनावी घोषणामा साविकको रोवा गाविस र हालको छायाँनाथ रारा नगरपालिकामा विद्युत पुर्याउने बाचाका साथ बत्ती दुवै वडामा पुगेको नगरप्रमुख भामको भनाई छ ।
छायाँनाथ रारा नगरपालिकाभित्र ८७ बस्तीमध्ये ८२ बस्तीमा विद्युतीयकरण भएको उल्लेख गर्दै अब बाँकी रहेका ५ बस्तीमा यो आर्थिक वर्षमा विद्युत सेवा पुर्याउने लक्ष्यका साथ काम भइरहेको नगरप्रमुख भामले जानकारी दिए ।
छायाँनाथ रारा नगरपालिकाको १ करोड ९३ लाखमा करिब चार वर्षको अर्थक प्रयासले छायाँनाथ रारा नगरपालिका वडा नं १० र ११ का गाउँबस्तीमा विद्युत सेवा पुगेको छायाँनाथ रारा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुशपति शाहीले बताए । जसबाट छायाँनाथ रारा नगरपालिका वडा नं १० मा ६ सय घरधुरीका २२ सय नागरिक र वडा नं ११ का २ सय ४५ घरधुरीका १४ सय गरी ३ हजार ६ सय नागरिक विद्युत सेवाबाट लाभाविन्त भएका छन् ।
नेपाल विद्युत प्राधिकरण गमगाढ वितरण केन्द्रका प्रमुख साजन ऐडिले छायाँनाथ रारा नगरपालिकाका अधिकांश बस्तीमा विद्युत सेवा पुगेको बताए । भौगोलिक विकटता केही समस्या छ । तर स्थानीय सरकारसँगको सहजिकरणमा गाउँ–गाउँमा विद्युत सेवा पुर्याइने कार्यालय प्रमुख ऐडिले बताए ।
गमगाढ विद्युत वितरण केन्द्रको पावरहाउसमा रहेका मेसिनको वेरिङमा आएको समस्याका कारण विद्युत सेवा नियमित भएको छैन । राष्ट्रिय प्रसारण लाइनमा मर्मतको काम भइरहेकाले सट डाउन लिने गरेको र बेलाबखत विद्युत अवरुद्ध हुने गरेको तथा बेलुकादेखि बिहानसम्म विद्युत नियमित रहेको कार्यालय प्रमुख ऐडिको भनाई छ ।
वर्षौँ पछि विद्युत सेवा पुगेपछि स्थानीय खुसी भएका छन् । विद्युत पुगेपछि विगतका दुःख सम्झँदै स्थानीयले खुसी साटेका छन् । स्थानीय ठीमु नेपालीले विद्युत नहुँदा दियालोको भरमा उज्यालो गर्दै आएको बताइन् । दियालोले स्वास्थ्यमा समस्या हुने थाहा भए पनि बाध्यताले उज्यालोको लागि दियालोको भर पर्नुपर्ने बाध्यता रहेको उनको भनाई छ । अब ती दुःखका दिन जानेमा विश्वस्त भएको नेपालीले बताइन् ।
अर्का स्थानीय याक्जोल नेपालीले विद्युत सेवा ६६ वर्षको उमेरमा देख्न पाएकोमा आफू खुसी भएको बताए । उनका अनुसार केही वर्ष पहिला रोवा खोलामा पेल्टेकसेटबाट विद्युत निकालिएको भए पनि दिगो थिएन ।
नियमित विद्युत सेवा नपाएकाले अब राष्ट्रिय प्रसारण लाइनको विद्युत सेवा नियमित हुने र विद्युत सेवा पाउनेमा ढुक्क भएको नेपालीले बताए । विद्युत नहुँदा विद्यार्थीहरुलाई घरमा पठनपाठनमा बाधा पुगेको थियो । उनले भने, ‘अब बिजुली आयो, अन्धकारमा बस्नु पर्दैन, दियालोको भरमा पढ्नु पर्दैन, अब विद्यार्थीलाई टुकी बालेर पढ्नु पर्दैन भन्ने आशामा विद्याथीहरु रहेका छन ।’
उद्घाटन कार्याक्रममा नगरप्रमुख बिष्णु कुमार भाम, पूर्वशिक्षा राज्यमन्त्री हस्तबहादुर मल्ल, उ प्रमुख ऐश्वर्य मल्ल, निवर्तमान नगरप्रमुख हरिजंग शाहीलगायत वडा अध्यक्षहरु र स्थानीयहरुको उल्लेखनीय उपस्थित रहेको थियो ।
मुगु
प्रतिक्रिया