पनौती नगरपालिकाको बजेट कटौती : प्राकृतिक विपत्ति र आर्थिक व्यवस्थापनको चुनौती

काभ्रे । पनौती नगरपालिकाको १६औँ नगरसभा नगरप्रमुख रामशरण भण्डारीको अध्यक्षतामा बिहीबार सम्पन्न भएको छ । १०–१२ असोजसम्मको अविरल वर्षाका कारण पनौतीमा बाढीपहिरोले गरेको ठूलो क्षति तथा आन्तरिक आयस्रोतको कमीका कारण चालु आर्थिक वर्ष २०८१÷२०८२ को बजेटमा ४६ करोड कटौती गरिएको छ । जसमा अधिकांश वडाका उपभोक्ता लक्षित योजना र केही विषयगत शाखाका योजना कटौतीमा परेको हो ।
सुरुआतमा प्रस्तावित १ अर्ब ६० करोडको बजेट संशोधन भई १ अर्ब १४ करोड कायम गरिएको छ । यस बजेटले समावेश गरेका केही पुराना योजनाहरू हटाइए भने विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्दै नयाँ योजनाहरू थपिएका छन् ।

विपत्तिको असर : घर, संरचना, र जनधनको क्षति

१०–१२ असोजको अविरल वर्षाका कारण पनौतीमा व्यापक जनधनको क्षति भयो । बाढीपहिरोका कारण १ विदेशी नागरिकसहित १९ जनाको मृत्यु, १ जना बेपत्ता, ५८६ वटा घर पूर्ण रूपमा क्षति र ९४४ घर उच्च जोखिमका रूपमा क्षतिग्रस्त भएको विवरण उपलब्ध गराएको छ । नगरमा पक्की सडक, सिँचाइ, खानेपानी र विद्यालय संरचनादेखि पुलजस्ता भौतिक संरचनामा समेत ठुलो नोक्सानी पुगेको छ । यस्तै कृषितर्फ ३ हजार ४८७ घरधुरी प्रभावित बनेका छन् । जसमा धन, आलु, मकै, तरकारी, तोरी, फलफूल, अन्य बाली गरी ११ हजार ६३७ रोपनी १४ आना ५८१ हेक्टरको २३ करोड ६४ लाख ४४ हजार उल्लेख छ यी बाहेक टनेलखेतीदेखि पशुपक्षीको क्षति पनि उल्लेख गरिएको छ ।

नगरपालिकाले तत्कालीन क्षतिहरूलाई सम्बोधन गर्न नगरसभाबाट ११ करोड ७३ लाख ७५ हजार रुपैयाँको विपद् व्यवस्थापन कार्यक्रम समावेश गर्दै संशोधित बजेट पास गरेको छ ।

बजेट कटौतीको कारण र चुनौती

गत आर्थिक वर्षबाट ३७ करोड मौज्दात हुने अनुमान गरिए पनि वास्तविक मौज्दात ७ करोड मात्र देखिएपछि बजेट घाटा ३० करोड पुगेको थियो । आन्तरिक स्रोत खुम्चिँदै गएपछि बजेट कटौतीको विकल्प नगरपालिकासँग रहेन । संघीय सरकार, प्रदेश सरकार र राजस्व बाँडफाँडमा आएको कमीकै कारण पनौतीलाई आन्तरिक स्रोत परिचालनमा चुनौती थपिएको छ ।

नगरप्रमुख भण्डारीका अनुसार, खानीहरूको सञ्चालन अनुमति दिएर चालु वर्षमा १७ करोड राजस्व उठाउने लक्ष्य राखिएको छ । यो प्रयासले आन्तरिक आम्दानीमा केही सुधार ल्याउने अपेक्षा गरिएको छ ।

समसामयिक मुद्दामा नगर सभाको निर्णयसमेत गरेको छ ।

सम्पत्ति करमा सुधार : वडा नम्बर र क्षेत्र निर्धारण गर्दै ५० देखि १०० प्रतिशतसम्म कर छुट दिने निर्णय गरेको छ । विपद्मा परेको वडाहरू र क्षेत्र तोकेर छुट दिने निर्णय गरेको बताइन्छ ।

यस्तै खानेपानी व्यवस्थापन : धुलिखेल खानेपानी उपभोक्ता समितिको सहयोगमा पनौती नगरपालिका क्षेत्रभित्र खानेपानी व्यवस्थापनका लागि १० लाख रुपैयाँ विनियोजन गरेको छ ।

प्रकोप व्यवस्थापन कोष : प्रकोप व्यवस्थापन कोषमा जम्मा भएको ३ करोड ११ लाख मध्ये १ करोड ८० लाख खर्च भएको प्रतिवेदन अनुमोदन गरेको छ ।

नगर सभाले विपत्ति र आर्थिक कठिनाइका बेला योजनाहरूलाई प्राथमिकता दिएर बजेट व्यवस्थापनमा काम गरेको छ । तर, केही जनप्रतिनिधिहरूले स्रोतको अभाव र संघीय सरकारको असहयोगका कारण दीर्घकालीन योजनाहरूमा कटौती गर्नुपरेको धारणा राखेका छन् ।

पनौती नगरपालिकाको यो निर्णय प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रहरूलाई पुनर्निर्माणमा प्राथमिकता दिने लक्षित रहेको बताइन्छ । तर, बजेट कटौतीले पुराना योजनाहरूमा प्रभाव पार्ने सम्भावना रहेको हुँदा दीर्घकालीन रणनीति आवश्यक देखिन्छ । नगर उपप्रमुख गीता बन्जराले भने विपद् व्यवस्थापनका लागि ठोस योजना र आन्तरिक स्रोतहरूको परिचालनले पनौतीलाई आर्थिक स्थायित्वतर्फ डो¥याउन सक्ने बताएकी छन् ।

प्रतिक्रिया