काभ्रे । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका– १ गैरीगाउँ घिसिङ टोलमा एक हृदयविदारक घटना सार्वजनिक भएको छ । ५२ वर्षीया तिनमाया तामाङ आफ्नै घरको मझेरीमा मृत अवस्थामा फेला परेपछि प्रहरी अनुसन्धानले हत्याको रहस्य बाहिर ल्याएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार मिति २०८१–०८–३० गते साँझ ६ः२० बजे घटना भएको हो । मृतक तामाङको शव फेला परेपछि अस्थायी प्रहरी चौकी अट्टेडाँडाबाट खटिएको प्रहरी टोलीले घटनास्थललाई सुरक्षित राख्दै अनुसन्धान सुरु गरेको थियो ।
घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा मृतककी २८ वर्षीय ज्वाइँ सुकबहादुर तामाङलाई (मिति २०८१–०९–०५) यही पुस ५ गते पक्राउ गरिएको छ । अनुसन्धानका क्रममा सुकबहादुरले सासुले काम नगर्ने भन्दै बारम्बार गाली गर्ने गरेको र सोही दिन पनि गाली गरेपछि आवेगमा आएर मुक्का प्रहार गरी टाउको थाममा ठोक्काएर हत्या गरेको बयान दिएका छन् ।
प्रहरीले अभियुक्त सुकबहादुरलाई काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान कार्य अघि बढाएको छ । घटनास्थलमा SOCO अधिकृतसहितको टोलीले विस्तृत अनुसन्धान गरिरहेको छ । अभियुक्तको सुकबहादुर तामाङ वर्ष २८ का मण्डनदेउपुर नगरपालिका– २ का हुन् । प्रहरीका अनुसार घटनाबारे थप विवरण प्राप्त हुन बाँकी छ । प्रहरीका अनुसार परिवारभित्रको आपसी विवाद र मानसिक तनावले यो गम्भीर घटना भएको जनाएको छ ।
प्रतिक्रिया