गढीमाई मेलामा दर्शनार्थीको घुइँचो

वीरगन्ज । भारतको विहार राज्य अन्तर्गतको पूर्वी चम्पारणका सुरेन्द्र यादव बालबालिकासहित बाराको प्रख्यात गढीमाई मन्दिरको दर्शन गर्न आइतबार मध्यरातमा आइपुगेका छन् । यहाँ गढीमाई मन्दिरमा भाकल गरेपछि मनोकामना पूरा भएको भन्दै उनी महागढीमाई नगरपालिका–१ स्थित बरियापुरमा दर्शन गर्न आएका हुन् । अहिले गढीमाई मन्दिरमा दर्शन गर्ने भारतीय र नेपाली दर्शनार्थीको घुइँचो लागेको छ ।

‘केही समयअघि गढीमाईको भाकल गरेका थियौँ । माईले हाम्रो मनोकामना पूरा गरेसँगै अहिले माईको पूजाअर्चना गर्न आएका हौँ’, दर्शनार्थी यादवले भने, ‘परिवारको सुख शान्ति र समृद्धिको कामना गर्दै गढीमाई मन्दिरमा आउने दर्शनार्थीहरूको उल्लेख्य मात्रामा हुनुहुन्छ ।’

बरियापुरस्थित गढीमाई मन्दिरमा यही १ मंसिरदेखि पञ्चवर्षीय गढीमाई मेला लागिरहेको छ । मेलामा भारतका विभिन्न राज्यका मात्रै नभएर अन्य विदेश मुलुकका भक्तजनको पनि बाक्लो उपस्थिति छ । ५–५ वर्षमा मेला लाग्ने भएकाले पनि श्रद्धालु भक्तजनहरूको निकै भव्य र सभ्य ढंगले उपस्थिति हुने गर्छ । नेपालका पनि विभिन्न जिल्लाबाट मेला भर्न आइरहेका छन् ।

गढीमाई पञ्चवर्षीय मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिका अध्यक्ष तथा महागढीमाई नगरपालिका प्रमुख उपेन्द्रप्रसाद यादवले गढीमाई मेलामा दशनार्थीहरूको सहभागिता अत्यधिक रहेको बताए । ‘विगतका वर्षमा जस्तै यसपालिको पञ्चवर्षीय गढीमाई मेलामा श्रद्धालु भक्तजनको उपस्थिति निकै बाक्लो छ’, उनले भने, ‘सम्भवतः महिनाभरिको मेलामा करिब १ करोडभन्दा धेरै दर्शनार्थीहरू उपस्थिति हुने अपेक्षा राखेका छौँ ।’ जसमा भारतीय पर्यटकको हिस्सा ६० प्रतिशत र स्वदेशी पर्यटकको ४० प्रतिशतको हाराहारीमा हुने अनुमान छ ।

गढीमाईको पञ्चवर्षीय मेला हेर्न आउने दशनार्थीको अत्यधिक चापको कारणले बाराको सदरमुकाम कलैयादेखि मन्दिर रहेको बरियापुरसम्म नै अत्यधिक भिडभाड र घुइँचो छ । अत्यधिक दशनार्थीहरूको भिडको कारणले ट्राफिक व्यवस्थापनमा जटिल बनेको छ ।

कलैयादेखि बरियापुरमा २ पांग्रे मोटरसाइकल, ३ पांग्रे अटोरिक्सा, ई–रिक्सा, जीप, कार, भ्यान, बस, मिनीबस, ट्रक लगायतका सवारीसाधनमा चढेर मन्दिरको दर्शन गर्न आउनेको घुइँचो देखिन्थ्यो । ग्रामीण भेगका दर्शनार्थीहरू ट्रयाक्टर रिजर्भ गरेर आउने गरेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख ट्राफिक प्रहरी निरीक्षक निलु दुवलले गढीमाई पञ्चवर्षीय मेलामा सवारीसाधनको भिडभाड अत्यधिक रहेको बताइन् । ‘दिनरात जुनसुकै बेलामा पनि दर्शनार्थीहरूको उपस्थित भइरहेको छ’, उनले भनिन्, ‘पर्याप्त जनशक्ति खटाएर ट्राफिक व्यवस्थापन भइरहेको छ ।’

१० हजारभन्दा बढी राँगाबलि

आइतबार बिहान ४ बजेदेखि ६ बजेसम्म धार्मिक परम्पराअनुसार पूजापाठ र अनुष्ठान गरेपछि ब्रह्मबाबाको नजिकै बनाइएको मौलोमा पञ्चबलि दिइएको थियो । आइतबार ६ बजेदेखि दिउँसोसम्म राँगा बलि दिइएको थियो । पञ्चवर्षीय गढीमाई मेला व्यवस्थापन समितिकाअनुसार करिब १० हजारभन्दा राँगाको बढी दिइसकेको छ । आइतबार पनि बिहानैदेखि बोका बलि चढाउने काम भएको थियो ।

प्रतिक्रिया