काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक कोर्स बदल्नुपर्ने बेला आएको बताएका छन् । माओवादी केन्द्र गोरखा–काठमाडौँ सम्पर्क समन्वय समितिको दोस्रो अधिवेशनको उदटन गर्दै उनले शासकीय स्वरुप र निर्वाचन प्रणाली बदलेर मात्रै राजनीतिक कोर्स बदल्न सकिने बताए ।
अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने शासकीय व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र सांसद नभई विज्ञ व्यक्ति मन्त्री बन्ने व्यवस्थामा गए मात्रै आफ्नो पार्टीले उठाउँदै आएको जनताको गणतन्त्र सुदृढ गर्न सकिने बताए । विभाजनको शृंखला रोकिएर एकताको प्रक्रिया सुरु भएको उल्लेख गर्दै उनले अब कोही समूह वा नेताले मात्रै रोकेर कार्यकर्ता र जनता नरोकिने जिकिर गरे । अब विभिन्न धारामा बाँडिएका शक्तिबीचको एकतालाई जोडेर लैजानुपर्ने उनको भनाइ थियो ।
अरू दलभन्दा राष्ट्र र परिवर्तनप्रति इमानदार माओवादी नै रहेछ भन्ने जनताले बुझ्दै गएको भन्दै अध्यक्ष प्रचण्डले अहिले माओवादीलाई जनतातर्फ फर्कने अवसर मिलेको र केही जिल्लामा २०६४ कै अवस्था फर्कन थालेको दाबी गरे । उनले पार्टीको चुनबाङ बैठकबाट गणतन्त्रको अभ्यास गर्दै जाँदा यसलाई यथास्थितिमा राख्ने र जनताको गणतन्त्र बनाउने शक्तिबीच टक्कर पर्ने अड्कल गरेको स्मरण गरे ।
यसैगरी, उनले जनयुद्धको तयारीदेखि पछिल्लो समयसम्म पार्टी नेतृत्वको वैचारिक तथा भौतिक रक्षामा गोरखा जिल्लाको अग्रणी भूमिका रहेको भन्दै प्रशंसा गरे । अध्यक्ष प्रचण्डले देशभर निराशा छाएका बेला २०७९ मा ९ वटा स्थानीय तह र हालै सम्पन्न उपनिर्वाचनमा पहिले पराजित भएका ठाउँमा पनि जितेर नयाँ इतिहास बनाएको बताए ।
यस्तै, शनिबार नै आयोजित अर्को कार्यक्रममा प्रचण्डले ३ वटा वामपन्थी दलसँग एकता वार्ता गरेको बताएका छन् । माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेसपा निकट नेपाल शिक्षक समाजबीच एकता घोषणा समारोहलाई सम्बोधन गर्दै प्रचण्डले त्यसबारे जानकारी दिएका हुन् ।
कुन–कुन दलसँग वार्ता गरेको भन्ने विषय उनले नखुलाए पनि माओवादीले नेकपा एस, नेत्रविक्रम चन्द विप्लव र महिन्द्र राय यादवसँग एकताका लागि प्रयास गरिरहेको छ । अध्यक्ष प्रचण्डले वाम एकताको विकल्प नभएकोमा धेरैको साझा निष्कर्ष बन्न थालेको भन्दै अब बृहत् एकता र ध्रुवीकरणको बाटो फराकिलो बन्ने विश्वास गरे ।
प्रतिक्रिया