काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को आज भएको खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई जितका लागि १७१ लक्ष्य दिएको छ ।
शुक्रबार कीर्तिपुरको टियु मैदानमा भएको दोस्रो खेलमा कप्तान रोहित पौडेलको अर्धशतकको सहयोगमा लुम्बिनीले पोखरालाई जितका लागि १७१ रनको लक्ष्य दिएको हो ।
टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७० रन बनायो । लुम्बिनीका कप्तान रोहितले सर्वाधिक ९५ रन जोडे । उनले ५९ बलमा १० चौका र ४ छक्का प्रहार गरे ।
लिगमा पहिलो अर्धशतक रोहितले ३५ बलमा पूरा गरेका हुन् । उनले एनपिएलको एकै इनिङमा व्यक्तिगत उच्च रन बनाए । यसअघि जनकपुर बोल्ट्सका लाहिरु मिलन्थाले विराटनगर किङ्सविरुद्ध ७५ बनाएका थिए ।
लुम्बिनीको चौथो विकेटका लागि रोहित र टम मुर्सले ११० रनको साझेदारी गरे । मुर्सले ३८ बलमा २ चौका र २ छक्काको सहयोगमा ४५ रन बनाए । मुर्स रेमन रिफरको बलमा रन आउट भए । पोखराका लागि विपिन खत्रीले २ तथा म्याट क्रिचलीले १ विकेट लिए ।
दोस्रो खेल खेल्दै गरेको लुम्बिनी पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा बलियो योगफलका बाबजुद लुम्बिनी पराजित भएको थियो । लगातार दुई खेलमा पराजित पोखरा पहिलो जितको खोजीमा छ । पहिलो खेलमा चितवन राइनोजसँग तथा दोस्रो खेलमा जनकपुरसँग पराजित भएको थियो ।
आज भएको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको थियो । कर्णालीले तेस्रो खेलमा पहिलो जित हासिल गर्दा चितवनले तेस्रो खेलमा पहिलो हार व्यहोरेको हो । आजको दोस्रो खेलमा पोखराले लुम्बिनीविरुद्ध जवाफी ब्याटिङ गरिरहेको छ ।
प्रतिक्रिया