सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई दियो १६८ रनको लक्ष्य

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को आज भएको खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई जितका लागि १६८ रनको लक्ष्य दिएको छ ।

सुदूरपश्चिमले बिहीबार भएको दोस्रो खेलमा काठमाडौंलाई १६८ रनको मध्यम लक्ष्य दिएको हो । टियु क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनायो ।

सुदूरपश्चिमका लागि ब्रेन्डन मक्मेलनले सर्वाधिक ५३ रन जोडे । उनले ३६ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । एनपिएलको पहिलो अर्धशतक उनले ३१ बलमा पूरा गरेका थिए । जेहार्डको बलमा मक्मलेन आउट भए । मक्मेलन र विनोद भण्डारीले दोस्रो विकेटका लागि ८६ रनको साझेदारी गरे ।

मक्मेलन आउट भए लगत्तैको बलमा भण्डारी पनि २८ बलमा २ चौका र २ छक्काको सहयोगमा ३५ रनाउँदै आउट भए । विनोद साहब आलमको बलमा एलबिडब्लु आउट भए । दिपेन्द्रसिंह ऐरीले २५ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४३ रन बनाए । दिपेन्द्र लामो सट प्रहारको चक्करमा करण केसीको बलमा बाउन्ड्रिमा माइकल लेभिटबाट क्याच आउट भए ।

ओपनरको भुमीकामा आएका सेफ जैबले ९ बलमा ११ रन जोडे । ओपनर जैब ११ रन बनाउँदै राशिद खानको बलमा बोल्ड आउट भए । रोहन मुस्ताफले ७ बलमा ४ रन जोडे । मुस्ताफा राशिद खानको बलमा बोल्ड आउट भए । आरिफ शेख ३ रन बनाउँदै रन आउट भए ।

एक समय ११.१ ओभरमा १ सय रन पूरा गरेको सुदूरपश्चिमले निरन्तर विकेट गुमाउँदा विशाल योगफल बनाउन सकेन । काठमाडौंका लागि राशिद खानले २ तथा करण केसी, जेहार्ड एरास्मस र साहब आलमले समान १ विकेट लिए ।

१ खेलमा जित १ मा बेहारेको काठमाडौं सुदूरपश्चिमलाई हराएर जितको लयलाई निरन्तरता दिन चाहन्छ । पहिलो खेल जितेको सुदूरपश्चिम त्यसलाई निरन्तरता दिन चाहन्छ ।

आजै भएको पहिलो खेलमा पोखरा एभेनजर्सलाई ७ विकेटले हराउँदै जनकपुर बोल्ट्सले लगातार तेस्रो जित हात पारेको छ । आजकै दोस्रो खेलको दोस्रो इनिङमा केही बेरमा काठमाडौं गुर्खाज सुदूरपश्चिम रोयल्सले दिएको १६८ रनको लक्ष्य पूरा गर्न जवाफी ब्याटिङमा उत्रनेछ ।

प्रतिक्रिया