कञ्चनपुर । बेमौसमी काँक्राखेती गरेर शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका भरत चौधरीले ३ महिनामै रु डेढ लाख बढी आम्दानी गरेका छन् । ३ कठ्ठा जग्गामा चौधरीले काँक्रो खेती गरेका छन् । हालसम्म २१ क्विन्टल काँक्रा बिक्री गरेको चौधरीले बताए । काँक्रो प्रतिकिलो रु ७० देखि रु ८० मा बिक्री हुँदै आएको छ ।
काँक्रो रोप्नेदेखि टिपेर बजारसम्म लैजाने कार्यमा चौधरी खटिँदै आएका छन् । बारीमा उत्पादित काँक्रो स्थानीय झलारी, कलुवापुर र अत्तरियालगायत बजारमा बिक्री हुने गरेको छ । ‘स्थानीय व्यापारीले काँक्रा बारीबाटै खरिद गरेर लैजाने गरेका छन्’, चौधरीले भने, ‘व्यापारी नआएको दिन आफैँ साइकलमा राखेर काँक्रा बजारमा पुर्याएर बिक्री गरिँदै आएको छ ।’
अझै बारीमा रु एक लाख मूल्य बढीका काँक्रा बिक्री गर्न बाँकी रहेको उनले बताए । गत वर्ष उनले दुई रु लाख मूल्यका बेमौसमी काँक्रो बिक्री गरेका थिए । पिपलाडी गाउँमा व्यावसायिक तरकारी खेतीमा धेरै किसान भए पनि बेमौसमी काँक्रो उत्पादन गर्नेमा चौधरी एक्लो किसानका रुपमा रहेका छन् ।
बेमौसमी काँक्रो खेती गरेर बजार मूल्य पनि बढी पाइने र बजारमा सहजै बिक्री गर्न सकिने भएकाले यस खेतीलाई दुई वर्षदेखि निरन्तर रुपमा गर्दै आएको चौधरी बताउँछन् । भारतीय तरकारीखेती गर्ने व्यक्तिहरुबाट चौधरीले बेमौसमी तरकारी खेती गर्ने तौरतरिका सिकेको बताए । काँक्रोसँगै चौधरीले लौका, भेन्टा, खुर्सानी, तिते करेला, चिचिण्डा, धनियाँ, आलु, लसुन, काउली, बोडीलगायतको खेती गर्छन् ।
काँक्रो खेतीबाट रु ३ लाख र अन्य तरकारीखेती गरी वर्षमा उनले रु ७ लाखदेखि रु १० लाखसम्मको आम्दानी गर्दै आएका छन् । तरकारी खेती गरी आएको आम्दानीबाट चौधरीले छोरालाई काठमाडौंमा डेरामा राखेर मेकानिकल इञ्जिनियर पढाउँदै आएका छन् ।
उनले छोरीलाई महेन्द्र नगरमा कम्प्युटर विज्ञानको पढाइ गराउँदै आएका छन् । ‘तरकारीखेतीबाट आएको आम्दानीमध्ये केही छोराछोरीका लागि खर्च हुन्छ’, चौधरीले भने, ‘बाँकी रहेको रकम घरखर्चमा सकिन्छ ।’ पिपलाडी गाउँमा तरकारीखेतीमा ५० बढी परिवार संलग्न रहेका छन् ।
त्यसमध्ये चौधरीलाई अधिक आम्दानी गर्ने किसानमा गणना गरिन्छ । चौधरी एक दशक अघिदेखि तरकारी खेतीमा संलग्न रहँदै आएका छन् । व्यावसायिक खेतीमा संलग्न रहँदै आएका चौधरीले भने अहिलेसम्म अनुदानका कुनै पनि कार्यक्रममा समावेश हुन नपाएको गुनासो गरे ।– रासस
प्रतिक्रिया