जनकपुरधाममा विवाह पञ्चमीको तयारी तीव्र

जनकपुरधाम । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव १६ मंसिरदेखि विधिपूर्वक हुँदै छ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरेअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।

त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारे । शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको भव्य समारोहबीच विवाह सम्पन्न भएको थियो ।


रामायणअनुसार जनकपुरधामको रंगभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवीदेवताको उपस्थिति रहेको विश्वास गरिन्छ । सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुन्छन् ।

महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ । पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रंगभूमिमा पु¥याइन्छ । त्यस्तै, जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रंगभूमिमा लगिन्छ ।

रंगभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । यस अवसरमा निस्केको भगवान्को डोला शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गर्छन् ।

रंगभूमि मैदानमा वर र वधुपक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ संख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको रमितालाई उछिनेको हुन्छ । पहिले तिरहुतियागाछीमा मनाइने यो महोत्सव २ दशकदेखि रंगभूमिमा विशेष कार्यक्रमसहित मनाउने गरिएको छ ।

श्रद्धालु भक्तजन बिहान सबेरैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्ने गर्छन् । यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना हुँदै आएको छ । देवताको मानवीयकरणको भावनासँग सम्बद्ध विवाह महोत्सवमा सरिक भएपछि मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने जनविश्वास छ ।

मधेस प्रदेशको राजधानी जनकपुरधाममा १६ मंसिरदेखि सुरु हुने श्री सीताराम विवाह पञ्चमी महामहोत्सवलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन २ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले लाखौँ तीर्थयात्रीको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीले जिम्मेवारी निर्वाह गर्ने जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार चोरी, डकैती र पाकेटमारजस्ता अपराध रोक्न तालिम प्राप्त सादा पोसाकका प्रहरी परिचालन गरिनेछ । धनुषाका सशस्त्र प्रहरी उपरीक्षक दर्शन गिरीले सिमानाबाट मेलासम्मको क्षेत्रमा भारतीय सीमा सुरक्षा बलसँग समन्वय गर्दै ७०५ सशस्त्र प्रहरी तैनाथ गरिने र अत्यधिक भिड हुने स्थानमा ड्रोनको सहायताले निगरानी गरिने जानकारी दिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले मेलामा आउने सवारीसाधन र भिड व्यवस्थापनका लागि १४० ट्राफिक प्रहरी परिचालन गर्ने र विशेष पार्किङस्थलको व्यवस्था गरिने जनाएको छ । भिभिआइपीका लागि छुट्टै मार्गको तयारीसमेत भइरहेको ट्राफिक प्रमुख प्रहरी निरीक्षक हरिबहादुर वलीले बताए ।

जनकपुरधाम उपमहानगरपालिकाले बाह्र बिघा रंगभूमि मैदानमा १०० अस्थायी शौचालय निर्माण, हनुमानगढीमा शौचालय तथा ठाउँ–ठाउँमा चापाकलको व्यवस्थापन गरिरहेको छ । नगरप्रमुख मनोज साहका अनुसार नगर क्षेत्रमा व्यापक सरसफाइसमेत गरिएको छ । प्रादेशिक अस्पतालले २४सै घण्टा चिकित्सक तयारी अवस्थामा राख्नुका साथै ७५ शय्या र आवश्यक औषधिको व्यवस्था मिलाएको अस्पताल निर्देशक डा.जामुनप्रसाद सिंहले जानकारी दिए । नेपाल रेडक्रसले १०१ निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै दुर्घटनामा परेकालाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था गरेको छ ।

खानेपानी संस्थानले ठाउँठाउँमा धाराको जडान गरेको छ भने विद्युत् प्राधिकरणले महोत्सव अवधिभर विद्युत् अवरोध हुन नदिन तयारी गरेको छ । नेपाल टेलिकमले मोबाइल नेटवर्क सुधार्न थप टावर र ओबी भ्यानको व्यवस्था गरेको छ । सडक डिभिजन कार्यालयले खाल्डाखुल्डी पुर्ने काम अन्तिम चरणमा पु¥याएको छ ।

यसपटक भारतको अयोध्याबाट ५०० को संख्यामा जन्ती आउने तयारी गरिएको छ । श्रीराम जन्मभूमि ट्रस्टका केन्द्रीय मन्त्री राजेन्द्र सिंह पंकजको नेतृत्वमा जन्ती अयोध्या हुँदै विभिन्न स्थान पार गरेर जनकपुरधाम पुग्ने महन्त रामतपेश्वर दास वैष्णवले जानकारी दिए ।
२१ मंसिरमा सीताराम विवाह महोत्सवको मूल समारोह हुनेछ । त्यसमा अयोध्याबाट आउने जन्तीको सहभागिता रहनेछ ।

अयोध्याबाट प्रस्थान गर्ने जन्तीको मार्ग, समय र रात्रि विश्रामस्थल निर्धारण गरिएको छ । अयोध्याबाट ११ मंसिरमा नै जन्ती प्रस्थान गरिसकेको छ । कारसेवकपुरम अयोध्याधामबाट बिहान साढे ८ बजे प्रस्थान गरेका जन्ती गुसाइकुञ्ज, अम्बेडकर नगर, बसखारी हुँदै सो दिनको रात्रि विश्राम आर्यमगढ(आजमगढ)मा गरेको थियो ।

त्यसैगरी दोस्रो दिन (१२ मंसिर) जन्ती आजमगढबाट मऊ, रसडा, फैफना कारो हुँदै रात्रि विश्राम बिहार राज्यको बक्सरमा ग¥यो । तेस्रो दिन (१३ मंसिर) बिहान बक्सरबाट प्रस्थान गरी ब्रम्हा स्थान चौराहा, आरा, बिहटा, दानापुर हुँदै रात्रि विश्राम पाटली पुत्र पटनामा भएको छ । चौथो दिन (१४ मंसिर) पटनाबाट हाजीपुर वैशाली हुँदै काँटीमा पुगेर रात्री विश्राम गरेका छ ।

पाँचौँ दिन (१५ मंसिर) काँटीबाट प्रस्थान गर्ने जन्ती शिवहर, रुन्नी सैदपुर हुँदै सीतामढीको पुनौराधाममा रात्रि विश्राम गर्नेछ । छैटौँ दिन (१६ मंसिर) सीतामढीबाट पुपरी, अहिल्यास्थान हुँदै बेनीपट्टीमा रात्रि विश्राम हुनेछ । सातौँ दिन (१७ मंसिर) बेनीपट्टीबाट बासोपट्टी, विसौल, फुलहर हुँदै रात्रि विश्राम मधवापुर मटिहानीमा हुनेछ ।

आठौँ दिन (मंसिर १८) गते जन्ती मटिहानीबाट जलेश्वर, पिपरा हुँदै साँझ नगरदर्शन गरी मिथिलापुरी जनकपुरधाममा विश्राम गर्नेछ । नवौँ दिन (मंसिर १९) जन्ती सीताराम विवाह महोत्सवको अवसरमा अपराह्न २ बजे राम मन्दिरमा आयोजना हुने तिलकोत्सवमा सहभागी हुनेछ ।

१०औँ दिन (मंसिर २०) जन्ती बिहान धनुषाधामको दर्शन र दिउँसो गंगासागरमा आयोजना हुने मटकोर समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ । यस्तै ११औँ दिन (मंसिर २१) सीताराम विवाह महोत्सवको मूल समारोहमा आयोजना हुने बाह्र बिघा (रंगभूमि) मा आयोजना हुने स्वयंवर, त्यसपश्चात नगर भ्रमण र रात्रिकाल विवाह महोत्सव समारोहमा जन्ती सहभागी हुनेछ ।

यसैगरी १२औँ दिन (मंसिर २२) बिहान जानकी मन्दिर परिसरमा सीताराम महाभिषेकम् (५१ तीर्थस्थलको जलबाट अभिषेक) गरिने र रामकलेवा (बिदाइ भोज) मा सहभागी भइ रात्रि सामूहिक विवाह कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम छ । १३औँ दिन (मंसिर २३) जन्ती बिहान जनकपुरधामबाट अयोध्याधाम फर्कनेछ । पिपरा, मनरा, मलंगवा हुँदै धनकौलमा स्वागत र रात्रि विश्राम वीरगञ्जको मौलीपुरमा हुनेछ । १४औँ दिन (मंसिर २४) जन्ती बिहान वीरगञ्जबाट प्रस्थान गरी मोतिहारी बाइपास, गोपालगञ्ज, कुशीनगर हुँदै गोरखपुर अयोध्याधाम पुग्नेछ ।

विवाह महोत्सवको मुख्य कार्यक्रमभन्दा ३ दिन पहिले जनकपुरधाममा परिक्रमा क्षेत्रमा माछा मासु र मदिरा बन्द गरिँदै आएको छ ।

जनकपुरधाममा सीता–राम विवाह पञ्चमीको लागि जानकी मन्दिर झकिझकाउ

त्रेता युगमा भगवान् राम र माता सीताबीच भएको विवाहको सम्झनामा जनकपुरधाममा मनाइँदै आएको साताव्यापी सीता–राम विवाह पञ्चमीको तयारी अन्तिम चरणमा रहेको छ ।

यस वर्ष २१ मंसिर शुक्ल पञ्चमी तिथि परेकाले यही दिन जनकपुरधामस्थित जानकी मन्दिरमा भगवान् राम र सीताबीच विधिपूर्वक विवाह समारोह आयोजना गरिएको मन्दिरका छोटा महन्त रोषण दास वैष्णवले जानकारी दिए ।

उनका अनुसार १६ मंसिरबाट वैवाहित कार्यक्रम प्रारम्भ हुनेछ । पहिलो दिन जनकपुर नगर दर्शन, मंसिर १७ मा फूलबारी लीला, मंसिर १८ मा धनुष यज्ञ, मंसिर १९ मा तिलकोत्सव, मंसिर २० मा मटकोर र मंसिर २१ मा विवाह (स्वयंम्बर) समारोह आयोजना हुनेछ । मंसिर २२ मा रामकलेवापश्चात विवाह समारोह विधिवत सम्पन्न हुनेछ ।

हरेक ५ वर्षमा भारतको उत्तर प्रदेशमा पर्ने अयोध्या (राम जन्मभूमि)बाट जनकपुरधाम आउने गरेको जन्ती यस वर्ष पनि आउन लागेको जानकी मन्दिरका छोटा महन्त वैष्णवले बताए । उनले भने, ‘अयोध्याबाट करिब ५०० बढी जन्तीको टोली प्रस्थान गरिसकेको छ । उनीहरू धनुष यज्ञको दिन मंसिर १८ गते जनकपुरधाम आइपुग्छन् ।’

यस वर्ष अयोध्याबाट आउन लागेको जन्ती विवाह पञ्चमी उत्सवको मुख्य आकर्षण हुनेछ । छोटा महन्त वैष्णवले जन्ती ४ दिन जनकपुरधाममा रहने र रामकलेवापश्चात बिदाइ गरिने बताए । उनले जन्तीको व्यवस्थापनको सम्पूर्ण प्रबन्ध मिलाइसकेको बताउँदै स्वागत भव्यरूपमा गर्न जनकपुरधामवासीसँग अपिलसमेत गरे ।

विवाह पञ्चमी महोत्सवका लागि जानकी मन्दिरलाई झकिझकाउ पारिएको छ । मन्दिर परिसरमा विवाह समारोहका लागि विशाल पण्डाल र मञ्च तयार गरिँदै छ । धनुष यज्ञ रंगभूमि बाह्र बिघा मैदानमा हुने भएकाले सरसफाइ गरिएको छ । ठाउँठाउँमा मिथिला पेन्टिङले जनकपुरधाम सिंगारिँदै छ । मधेस भवनको सडक छेउतिरको पर्खालमा मिथिला पेन्टिङ गर्न दर्जनौँ महिला खटिएका छन् ।

प्रतिक्रिया