नेपाली माछाले पाएन बजार, चिन्तित छन् किसान

चितवन । भारतीय माछाका कारण नेपाली माछाले बजार नपाउँदा किसान चिन्तित बनेका छन् । सिमाबाट भन्सार छलेर आएका माछाका कारण यहाँ उत्पादित माछाले बजार पाउन नसकेको किसानहरुले गुनासो गरेका छन् ।

मत्स्य व्यवसायी संघ चितवनका सचिव लुलाराज तामाङका अनुसार अहिले माछापालन गर्ने किसान माछा बिक्री नहुँदा निराश बनेका छन् । उनले भने, ‘अहिले मात्रै चितवनमा ३०० टन माछा बिक्रीका लागि तयारी अवस्थामा रहेको छ ।’

बिक्रीका लागि तयारी अवस्थामा रहेका माछाले बजार नपाउँदा किसान आफै भन्सार छलेर आएका माछाको निगरानीमा लागेका छन् । भन्सार छलेर आएका माछा सस्तो मूल्यमा पाइने र नेपाली माछाले सो मूल्यसँग प्रतिस्पर्धा गर्न नसकेको तामाङले बताए ।

काठमाडौंको बजारमा मात्रै दैनिक १५ टन माछा बिक्री हुने गरेको भए पनि अहिले नेपाली माछा नगन्य रुपमा मात्रै काठमाडौं भित्रिने गरेको उनले बताए । यहाँको माछाको बजार काठमाडौं, पोखरालगायतका ठाउँ हुने गरेको भए पनि अहिले माछा खपत कम भएको संघका सदस्य नीरञ्जन थापाले बताए ।

थापाका अनुसार अहिले भन्सार छलेर आएका माछाको निगरानीका लागि काठमाडौं, पोखरा प्रवेश गर्ने नाकामा सशस्त्र प्रहरी बलको सहयोगमा निगरानी बढाइएको उनले बताए ।

मङ्सिर र पुस महिनाभित्र नेपाली उत्पादनलाई बजारमा लगिसक्नुपर्ने भन्दै उनले यस्तै अवस्था रहे नेपालको उत्पादनले बजार पाउन कठिन हुने गुनासो गरे । अहिले किसानकोमा जलकपुर र पाङ्गास माछा तयारी अवस्थामा रहेका छन् ।

जिल्लामा हाल ८०० भन्दाबढी हेक्टर क्षेत्रफल जलाशयमा माछा पालिँदै आएको छ । पशुसेवा कार्यालय तथा विज्ञ केन्द्र भरतपुरका मत्स्य विकास अधिकृत गंगा भण्डारीका अनुसार जिल्लामा हाल एक हजार १०५ हेक्टर क्षेत्रफलमा पोखरी निर्माण गरी माछा पालिँदै आएको छ ।

त्यसबाट ४६ लाख ५५ हजार किलो माछा उत्पादन हुने गरेको उनले बताए । उनले भने, ‘बजारमा माछा आउन थालेको छ, भारतीय माछाका कारण नेपाली माछाले बजार नपाउने समस्या बढ्दो छ ।’

भारतीय माछाको चोरी पैठारी रोक्न सरकारले काम गरिरहेको उनले बताए । माडी, रत्ननगर, भरतपुरलगाय ठाउँ माछाका लागि पकेट क्षेत्रका रुपमा रहेका छन् । यस्तै खैरहनी र राप्तीमा पनि माछापालन हुँदै आएको उनले बताए ।– रासस

प्रतिक्रिया