तेस्रो ‘अध्यक्ष कप पादमघाट मेला’ सुरु

कालिकोट । महावै गाउँपालिकामा तेस्रो ‘अध्यक्ष कप पादमघाट मेला’ भब्य रुपमा सुरु भएको छ । समाज कल्याण युवा मञ्च पादमघाटको आयोजना तथा ईको हिमाल नेपाल र महावै गाउपालिकाको आर्थिक तथा भौतिक सहयोगमा तेस्रो अध्यक्ष कप पादमघाट मेलाको आयोजनामा गरिएको छ ।

यही कार्तिक २७ गतेबाट सुरु भएको सांस्कृतिक कार्यक्रम तथा खेलकुद प्रतियोगिता मंसिर २ गतेसम्म सञ्चालन हुनेछ । तेस्रो अध्यक्ष कप पादमघाट मेलामा सास्कृतिक कार्यक्रमसहित विभिन्न खेलकुद प्रतियोगिताहरु हुनेछन् ।

राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने समाज कल्याण युवा मञ्चका अध्यक्ष अलि बहादुर सिंहले बताए । सिंहका अनुसार विभिन्न खेलकुदका कार्यक्रमहरु सहित कलाकारहरुको सम्मान गरिनेछ । सुन्दर तथा रमणीय ठाउँ पादमघाट गैराखाडामा यतिबेला खेलाडी, दर्शकलगायत अन्यको उपस्थिती बाक्लो रहेको बताएका छन् ।
महावै गाउँपालिकाका अध्यक्ष खेम बहादुरसिंह भिजनले नेपाली गीतसंगीतको संरक्षण तथा खेलकुदको विकासका लागि आफ्नो र पालिकामो सदैव साथ सहयोग रहने बताए । खेलकुद क्षेत्रमा आफ्नो पालिका मात्र नभएर स्वयम् आफू लागिपरेको उनको भनाई छ ।

कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका सदस्य दुर्गबहादुर रावतले महावै गाउँपालिकाले गरेको तेस्रो अध्यक्ष कप, पादमघाट मेलामा सफलताको शुभकामना दिएका छन् । रावतले खेलकुद क्षेत्रको विकास तथा नेपाली गीतसंगीतको संरक्षण गर्न महावै गाउँपालिकाले चालेको यो कदम महत्वपूर्ण रहेको बताए ।

उद्घाटन कार्यक्रममा समाज कल्याण युवा मञ्चका अध्यक्ष अलि बहादुर सिंहको अध्यक्षता, कर्णाली प्रदेश सरकारका सदस्य दुर्गबहादुर रावतको प्रमुख आथित्यता तथा महावै गाउँपालिकाका अध्यक्ष खेम बहादुर सिंह, उपाध्यक्ष दानसिंह सेजुवाल र नेता सर्पराज सिंहको विशेष आथित्यता रहेको थियो । कार्यक्रमका अथितिहरुले कार्यक्रम सफलताको शुभकामना दिएका छन् ।

पादमघाट मेलामा राष्ट्रिय कलाकार सुरेश शाही, देउडा गायक पुष्पराज आचार्य, गायक महेन्द्र शाही, देउडा गायक बिपना सिंह र गायक रमेश कठायत लगायत स्थानीय कलाकारको प्रस्तुती रहने छ । तेस्रो अध्यक्ष कप पादमघाट मेलामा भलिबल प्रतियोगितासहित अन्य खेलकुदका कार्यक्रम हुनेछन् ।

भलिबलमा प्रथमलाई १ लाख ५१ हजार र द्वितीयलाई १ लाख, १ हजार पुरस्कारसहित कप मेडल र प्रमाणपत्र रहेको छ । भलिबल खेलमा राष्ट्रिय खेलाडी खेमराज गिरीले प्रमुख रेफ्रिको भूमिका निर्वाह गर्नेछन् । कार्यक्रमको सञ्चालन विपद् शाखा प्रमुख चक्र विश्वकर्मा र स्वास्थ शाखा प्रमुख नन्दी शाहीले गरेका हुन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया