कर्णालीमा बढ्दो सवारी दुर्घटना : ४ दिनमै ११ जनाको मृत्यु, ५१ घाइते

एकातिर कच्ची सडक, त्यसमाथि भौगोलिक विकटताका कारण उकालो–ओरालोमै धेरै घुम्ती र पुराना गाडीमा क्षमताभन्दा बढी यात्रु कोचेर तीव्र गतिमा हुइँक्याउँदा दुर्घटना बढिरहेको छ

काठमाडौँ । पछिल्लो समय कर्णाली प्रदेशमा सवारीसाधन दुर्घटनाको क्रम बढेको छ । पछिल्लो ४ दिन (शुक्रबारदेखि सोमबार) को अवधिमा मात्रै ४ वटा सवारीसाधन दुर्घटनामा परेका छन् । ती दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ भने ५१ जना घाइते भएका छन् ।

सोमबार जाजरकोटमा दुइटा सवारीसाधन दुर्घटनामा परेका छन् । जाजरकोको पूर्वी नलगाड र पश्चिमी क्षेत्र कुदुमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी ३९ जना घाइते भएको प्रहरीले जनाएको छ । जाजरकोटको भेरी नगरपालिका–७ स्याउलीबजारबाट नेपालगन्जका लागि छुटेको बा५ख १८९२ नम्बरको फोर्स गाडी मध्यपहाडी लोकमार्गअन्तर्गत भेरी नगरपालिका–१३ कुदु जिरो प्वाइन्ट नजिक दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । जाजरकोट प्रहरीका अनुसार उक्त गाडी सडकबाट २५÷३० मिटर तल खसेको थियो ।

यस्तै, जाजरकोटको बाउसे खोला भन्ने ठाउँमा पनि सोमबार नै जिप दुर्घटना भएको छ । बिहान ११ बजेतिर बारेकोटबाट सदरमुकाम खलंगा आउँदै गरेको घ१ज ५९५ नम्बरको बोलेरो जिप नलगाड नगरपालिका–४ को बाउसे खोलाको जिरो प्वाइन्टमा बीच सडकमा पल्टिएर दुर्घटना भएको जाजरकोट प्रहरीले जनाएको छ । दुर्घटनामा परी ७ जना घाइते भएका छन् ।

दुवै दुर्घटनामा परी घाइते भएकामध्ये ११ जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत् सुर्खेत ल्याइएको छ । सेनाको हेलिकोप्टरमार्फत् ३ पटक गरी ११ जना घाइते र ४ जना कुरुवासहित १५ जनालाई प्रदेश अस्पताल कालागाउँमा ल्याई उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कर्णाली प्रदेशमा सवारीसाधन दुर्घटनाको क्रम बढेको छ । गत आइतबार मात्रै कालीकोटमा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको थियो भने अन्य १२ जना घाइते भएका छन् । आइतबार दिउँसो करिब ३ बजेतिर कालीकोटको पलाता गाउँपालिका–३ राडुनेटामा कर्णाली प्रदेश१ज ५६ नम्बरको बोलेरो दुर्घटनामा परेको थियो । सो दुर्घटनामा परी पलाता गाउँपालिका–६ का दशकला शाही, पदम बम, भगवती रोकाया र गणेश शाही, पलाता–५ की छाया शाही, पलाता–३ का दमन रोकाया र सल्यान घर भएका ४५ वर्षीय चालक धनीराम रावतको मृत्यु भएको हो । ६ जनाको घटनास्थलमै र चालक रावतको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

५ जनाको सिट क्षमता रहेको जिपमा चालक सहित १९ जना सवार थिए । दुर्घटनाको मुख्य कारण खाल्डाखुल्डीयुक्त सडक र क्षमताभन्दा बढी भार रहेको प्रहरीले बताएको छ । २ वर्षअघि मात्रै खनेको कच्ची सडकमा अधिक भार बोकेर हिँड्दा जिप दुर्घटनामा परेको कालीकोट प्रहरीले बताएको छ । कच्ची सडकको उकालोमा जिपले तान्न नसकेर पछाडि सर्दा ठुलो क्षति हुने गरी दुर्घटना भएको हो । जिप सडकबाट करिब ५०० मिटर तल खसेको थियो ।

यसैबीच जिप दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा पलाँता गाउँपालिकाले सोमबार शोक बिदा दिएको थियो । दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा गाउँपालिकाले शोक विज्ञप्ति जारी गर्दै पालिकासहित मातहतका सबै कार्यालयलाई शोक बिदा दिएको हो ।
यस्तै, गत शुक्रबार मात्रै सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा ४ जनाले ज्यान गुमाएका थिए भने २५ जना घाइते भएका थिए । दैलेखबाट सुर्खेत आउँदै गरेको देउती नागरिकको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको फोर्स गाडी सुर्खेत–दैलेख सीमास्थित रातानांग्ला नजिकै सडकबाट करिब २०० मिटर तल भिरमा खसेको थियो । दुर्घटनामा परी दैलेखको भैरवी गाउँपालिका–५ का गाडी चालक ३८ वर्षीय सुरेश केसी, भैरवी गाउँपालिका–२ का ३६ वर्षीय कर्णबहादुर विष्ट, भैरवी गाउँपालिका–२ का १६ वर्षीय दीपिका महतारा र २१ वर्षीय संगीता विष्टको मृत्यु भएको थियो ।

यस्तै, गत ८ कात्तिकमा पनि सुर्खेतमै सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु हुनुका साथै ५ जना घाइते भएका थिए । जुम्लाबाट सुर्खेततर्फ आइरहेको कर्णाली प्रदेश ०२२१ ख १०१४ नम्बरको एसएमएल गाडी सुर्खेतको बराहताल गाउँपालिका–८ हुर्केमा भएको दुर्घटनामा परी गम्भीर घाइते भएका दैलेखको ठाटिकाध–४ का दीपक शाहीको मृत्यु भएको थियो ।

कर्णालीको भौगोलिक विकटता र ग्रामीण कच्ची सडकका कारण बढी दुर्घटना हुने गरेको प्रहरी बताउँछ । एकातिर कच्ची सडक, त्यसमाथि भौगोलिक अवस्थितिले उकालो–ओरालोसँगै धेरै घुम्ती हुँदा दुर्घटना बढिरहेको देखिन्छ । सवारीसाधनको पर्याप्त उपलब्धता नहुँदा र जाँचमा कडाइ नहुँदा पुराना गाडीमा क्षमताभन्दा बढी यात्रु कोचेर तीव्र गतिमा हुइँक्याउँदा दुर्घटनामा परी बर्सेनि सयौँ जनाले ज्यान गुमाउनुपरिरहेको छ ।

लामो दुरीको यात्रामा दुई जना चालक राख्नुपर्ने नियम भए पनि एउटै चालकले गाडी चलाउने, चालकले मापसे गर्ने, प्रभावकारी ट्राफिक जाँच नहुने भएकाले लाइसेन्सबिनै गाडी चलाउने कारणले पनि दुर्घटना निम्त्याइरहेको पाइन्छ ।

बागलुङमा पिकअप दुर्घटना हुँदा ५ जनाको मृत्यु
यता, गण्डकी प्रदेशको बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ‘पिकअपभ्यान’ जैमिनी–७ जैदीको व्यार्थला नजिकै सोमबार बिहान दुर्घटना हुँदा चालकसहित ५ जनाको मृत्यु भएको छ ।

ग२च ९२४७ पिकअप भ्यान सडकबाट ५०० मिटर तल खसेको प्रहरीले बताएको छ । मृत्यु हुनेमा जीपका चालक बागलुङ जैमिनी–८ छिस्ती केवइका ३८ वर्षीय महेन्द्र पुन, सोही ठाउँका २० वर्षीया रश्मी श्रीष, ५० वर्षीया नन्दकली पुन, १७ वर्षीय निरज श्रीष र ७५ वर्षीय कुलप्रसाद श्रीष छन् । भ्यानमा रहेका ४५ वर्षीय गंगाबहादुर श्रीषको भने जीवितै उद्धार गरिएको छ । शरीरका विभिन्न भागमा चोट लागेका उनलाई धौलागिरि अस्पतालमा ल्याएर उपचार भइरहेको छ ।

प्रतिक्रिया