पर्यटन व्यवसायी वाग्लेको निधन

काठमाडाैँ । वरिष्ठ पर्यटन व्यवसायी तथा कांग्रेस नेता चिरिन्जीवी वाग्लेका छोरा देवेन्द्र वाग्लेको निधन भएको छ । तत्कालीन नेपाल पर्यटन व्यवसायी सङ्घ (निट) नेपालका महासचिवसमेत रहेका ५५ वर्षीय वाग्लेको आइतबार साँझ ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको पर्यटन व्यवसायी पशुपति कँडेलले जानकारी दिए ।

अकस्मात कलेजोको समस्या देखिएपछि वाग्लेलाई कात्तिक १९ गते उक्त अस्पतालमा भर्ना गरिएको थियो । नेपाली कांग्रेस गोरखाका महाधिवेशन प्रतिनिधिसमेत रहेका वाग्लेले काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा होटल, ट्राभल, टुर्सलगायत व्यवसाय सञ्चालन गर्दै आएका थिए ।

उनले जलविद्युत्, बीमा, बैङ्कलगायतमा समेत लगानी गरेका थिए । वाग्लेको सोमबार बिहान पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने उनको परिवारिक श्रोतले जनाएको छ । रासस

प्रतिक्रिया