सर्वोच्चको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेय अनुमोदित

काठमाडौं । संसदीय सुनुवाइ समितिबाट सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस नृपध्वज निरौला र नित्यानन्द पाण्डेय अनुमोदन भएका छन् ।

समितिका जेष्ठ सदस्य पशुपतिशमशेर जबराको सभापतित्वमा शुक्रबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेयलाई अनुमोदन गरेको हो ।

संसदीय सुनुवाइ समितिका ज्येष्ठ सदस्य जबराले सर्वसम्मतिले निरौला र पाण्डेयलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि अनुमोदन गरिएको जानकारी दिए ।

बैठकमा निरौला र पाण्डेयले कार्ययोजना र अवधारणा प्रस्तुत गरेका थिए । त्यसपछि सांसदले निरौलाका सम्बन्धमा प्राप्त उजुरीका आधारमा थप प्रश्न गरेका थिए । न्यायाधीश सिफारिस पाण्डेयविरुद्ध भने उजुरी परेको थिएन ।

न्याय परिषद्को असोज ११ को बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश निरौला र उच्च अदालत दाङ तुलसीपुर इजलासका मुख्य न्यायाधीश पाण्डेयलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो ।

दुवै न्यायाधीशले स्वतन्त्र, निष्पक्ष, छरितो र गुणस्तरीय न्यायसम्पादन नै न्यायाधीशको मुख्य कार्यभार एवं दायित्व हुने र सोहीअनुसार आफूले काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया