छठी पर्वले मधेसी पहाडीबीच बढाएको एकता

जनकपुरधाम । सत्य, अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नेे महान चाड हो, छठी पर्व । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ । विभिन्न जातजातिमा विभाजित हिन्दू समाजले उत्पादन गर्ने सानोदेखि ठुलो स्थानीय वस्तुको प्रयोग हुने संसारको एक मात्र पर्वको रूपमा पनि छठी पर्व रहेको छ । नेपालको परिप्रेक्षमा मधेसमा मात्र सीमित रहेको छठी अहिले पहाडमा पनि उतिकै श्रद्धा र भक्तिपूर्वक मनाउनु नै यस पर्वको महानताको रूपमा लिन सकिन्छ ।

४ दिनसम्म निकै श्रद्धाका साथ मनाइने यस पर्वको पहिलो दिन अर्थात चतुर्थीका दिनलाई ‘अरबा–अरबाइन’ वा नहाय खाय भन्ने गरिएको छ । यो दिनमा व्रतालुहरूले खोला, नाला, नदी, पोखरी र तलाउ लगायतका जलाशयमा गई नुहाइधुवाइ गरेर शुद्ध भई चोखो खाना खाने गर्छन् । व्रतीले भोजनमा माछामासु, लसुन, प्याज र कोदो जस्ता वस्तु परित्याग गरी यसै दिनदेखि व्रत बस्न थाल्छन् ।

पञ्चमी तिथि (दोस्रो दिन) लाई ‘खरना’ (संरक्षण अर्थात पापको क्षय) भनिन्छ । खरना छठ पर्वको अघिल्लो दिन भएकाले यो दिन व्रतालुहरू दिनभरि निर्जला व्रत बस्छन् र साँझपख नुहाएर चोखो भई आफ्नो कुल देवता स्थापना गरेको पूजाकोठामा नयाँ चुल्हो स्थापना गरी प्रसाद बनाउने गर्छन् । प्रसादको रूपमा विशेषगरी पाकेको केरा र खिरलाई लिइन्छ । त्यसपछि गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतीले राति चन्द्रोदयपछि चन्द्रमालाई पायस (खिर) चढाई सोही प्रसाद ग्रहण गर्छन् । यस दिनपछि व्रतीले पूर्ण व्रत लिनुपर्दछ ।

षष्ठीका दिन (तेस्रो दिन) गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान–पिसान गरी सोबाट निस्केको पिठोबाट विभिन्न गुलियो खाद्य सामग्री बनाइन्छ । छठी पूजाका सामग्री तयार पर्दा विशेष चनाखो हुन्छन् । पूजाका सामग्रीलाई चोखो र शुद्ध हुनुपर्दछ, जुठो हुन गएमा अनिष्ट हुने जनविश्वास छ । हुनतः अहिले आएर छठीको सामग्री खरना सम्पन्न भएको १२ बजे रातीदेखि नै बनाएर तेस्रो दिन बिहानदेखि नै छठीघाटमा राख्न थालिएको छ । पर्वको चौथो दिन (अन्तिम दिन) लाई पारन (पार्वण) भनिन्छ । यस दिन बिहान उषाकालमा व्रत गर्नेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहो¥याइ प्रातकालीन सूर्यलाई अघ्र्य दिई पर्वको समापन गरिन्छ ।

मानवलाई सर्वप्रथम उज्यालो दिने, जिउमा गर्मी उत्पन्न गर्ने, रोगव्याधिबाट जोगाउने सूर्य नै भएकाले स्वभावतः मानव सूर्यप्रति आकर्षित भई सूर्य आराधनाको क्रम सुरू भएको मान्यता रहेको छ । छठ पूजामा छठीमाईको पूजा गर्ने चलन पनि वैदिक अनुष्ठानमा तान्त्रिक अनुष्ठानको सम्मिश्रण रूप मानिन्छ । यो पर्वको सम्पादन षष्ठी तिथिमा हुने भएकाले यसको तद्भव रूप छठले परमेश्वरीका रूपमा लोकमानसमा आस्थाको महापर्वको स्थान ग्रहण गरेको देखिन्छ ।

सूर्यको महिमा सबै सम्प्रदाय र ग्रन्थमा रहेको छ । ऋग्वेदमा भनिएको छ, ‘हे आकाशकी छोरी उषा मलाई अन्न, धन, छोराछोरी देउ, वरदान देउ कि म सधैँ बिहान ओछ्यानबाट उठेर बलिष्ठ छोराहरूको मुख देख्न सकौँ ।’ सूर्याेपनिषद्मा सूर्यलाई नै ब्रह्माको साकार रूप बताइएको छ । यति मात्र होइन, यस ग्रन्थमा सूर्यलाई जगतको पति भनी सम्बोधन पनि गरिएको छ ।

यो पर्व कबुला (भाकल) गरेअनुसार गरिन्छ । भाकल नगरी यो व्रत गरिँदैन । भाकल पनि अनेक प्रकारले गरिएको पाइन्छ । कोही अरूको हातबाट अघ्र्यदान गराउने भाकल गर्छन्, भने कोही आफैँ व्रत गर्ने भाकल गरेका हुन्छन् । यस्तै एउटा अघ्र्य चढाउनेदेखि जोडा अघ्र्यका साथै पूर्णप्रति अघ्र्यदान गर्ने समेत भाकल गरिएका हुन्छन् ।

यसमा कोसिया, कुरबार, छिट्टा, अघ्र्य इत्यादि सबैथोक २–२ प्रति चाहिने हुन्छ । यस्तै माटोका हात्तीमाथि अघ्र्य चढाउने, आँगन तथा घाटमा आँचलमाथि नटुआनाच गराउने, बाजा बजाएर अघ्र्यदान गर्ने, भिख मागेर छठ गर्ने भाकल पनि गर्ने गरिएको पाइन्छ । त्यस्तै साधारणतः अघ्र्य दिने, पानीमा उभिने, घरदेखि घाटसम्म दण्ड दिँदै जाने तथा पानीमा उभिनेजस्ता भाकलसमेत गर्छन् भक्तालुले । यस्ता भाकल १ वर्षका लागि गर्नुका साथै ५ वर्ष, १० वर्ष अथवा आजीवन समेतका लागि गरिने गरिएका हुन्छन् ।

वैज्ञानिक दृष्टिकोणले छठअन्तर्गत उपवास, सरसफाइ र विशेष अनुशासनले मस्तिष्कलाई निविर्षीकरणमा टेवा पु¥याउँछ, आधा शरीर पानीमा डुबाई उभिनुले प्राप्त शक्ति बाहिर आउनमा कमी आउनु र शक्ति मस्तिष्कमा केन्द्रित रहनु, कौस्मिक शक्तिले आँखाको रेटिना र छालाको माध्यमले पिट्युटरी, हाइपोथालामस र पिनियल ग्रन्थीमा प्रवेश गर्नु, कौस्मिक शक्तिले निष्क्रिय तन्तुलाई सक्रिय पार्ने मान्यता पाइन्छ । वैज्ञानिक रूपले सूर्योदय र सूर्यास्तको बेला मानव सुरक्षित तवरले सौर्य शक्ति प्राप्त गर्न सक्ने तथ्य रहेको छ ।

छठपर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि त्यत्तिकै छन् । वैज्ञानिक ज्योतिष तथा चिकित्सकहरूले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् । संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । तिनको शक्तिबिना रुख, विरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सामाथि कैयौँ चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणबाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ । साम्ब पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको श्रापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ ।

छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देउता प्रसन्न भई व्रतीलाई कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट व्रत गराउने गर्छन् । आर्थिक अभावमा भिक्षा मागेरै भए पनि मानिसहरू यो पर्व मनाउने गर्छन् ।

खेतीपाती र लोकजीवनसँग गहिरो सम्बन्ध, सांस्कृतिक समन्वय र समाजिक सद्भावको मियोका रूपमा रहेको यो पर्व कर्मशीलता प्रदर्शनको पनि पर्व हो, यसले धार्मिक समन्वय र सहिष्णुताको कार्य पनि गरेको छ । मुलुकका सत्तासीनदेखि लिएर नेतृत्ववर्गले नै मधेसीलाई पाखा लगाएर समाजमा उत्पन्न गरिएको मधेसीप्रतिको सृजित भावको उत्पन्न द्वेसले नेपालमा मधेसी र पहाडीबीच तनाव उद्गममा पु¥याएका थिए । जुन २०६३ सालको मधेस आन्दोलनपछि मथ्थर हँुदै गए । पहाडले पनि मधेसीको देशभक्तिलाई बुझ्दै गएर मधेसप्रतिको हीनताबोधलाई समाप्त गरे । तर, सदियौँ देखिको यस हीनताबोधलाई चिर्नका लागि छठी पर्वले जुन किसिमको भूमिका खेलेको छ त्यो नेपालमा कालान्तरसम्म स्मरण गरिनेछ ।

मधेसले मात्र मनाउँदै आएको छठी पर्व कुनै जात, वर्ग वा धर्ममा आधारित नरहेको र समाजका सबै मानिसले एउटै उद्देश्यका लागि सामूहिक रूपमा पूजा गरी समाजमा समानता र भाइचारा बढाउने पर्वको रूपमा बुझ्दै जादा यसपर्वप्रति पहाडी समुदायको आस्था बढ्दै गएको छ । धार्मिक यस पर्वले एकअर्कालाई हेर्नसमेत नचाहने दुवै समुदाय एक ठाउँमै बसी श्रद्धाका साथ छठी मनाउन सुरु गरे, यसले दुवै समुदायबीच आपसी सद्भाव बढाएको अनुभूत गराउँछ ।

नेपालमा यसवर्ष बिहीबार अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर छठी मनाइँदै छ । यसै अवसरमा मुलुकका राष्ट्रपति, प्रधानमन्त्रीदेखि सातै प्रदेशका मुख्यमन्त्रीले समाजिक र एकताको महानपर्वको रूपमा परिभाषित गर्दै छठी पर्वको शुभकामना दिएका छन् । छठी माईले पनि मुलुकको विकासका लागि हाम्रा देशका नेताहरूमा सद्बुद्धि प्रदान गरुन् कामनाका साथै सम्पूर्ण श्रद्धालुमा छठी पर्वको हार्दिक मंगलमय शुभकामना ।

छठ पर्वको मुख्य दिन बिहीबार, अस्ताउँदो सूर्यलाई अघ्र्य दिइयो

छठ पर्वको मुख्य दिन बिहीबार अस्ताउँदो सूर्यलाई अघ्र्य दिई मनाइयो । तराई मधेसका साथै देशका विभिन्न स्थानका ताल पोखरीमा श्रद्धालुले अस्ताउँदो सूर्यको उपासना गर्दै अघ्र्य दिएर पर्व मनाए ।

बिहीबार छठको तेस्रो अर्थात् मुख्य दिन व्रतालु निराहार बस्छन् । पञ्चमीका दिन बुधबार मध्यरातअघि खरना विधि गरेर सक्खरको खिर प्रसादस्वरूप खाएपछि निराहार व्रत सुरु भएको हो ।

निराहार व्रतमा रहेका व्रतालुले बिहीबार साँझ पवित्र जलाशयमा सजाइएका घाटमा विविध परिकार राखिएका डाली हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिए । यो विधिलाई मिथिलाको बोलीचालीमा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिन्छ ।
छठ पर्वको अन्तिम दिन शुक्रबार सप्तमी तिथिका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ विधिवत् रूपमा समापन हुनेछ ।

प्रतिक्रिया