जनकपुरधाम । श्रद्धा, भक्ति र सम्पूर्ण तराईको साझा सांस्कृतिक प्रतिविम्बको पहिचानका रूपमा ४ दिनसम्म हर्षोल्लासका साथ मनाइने छठ पर्वको तेस्रो तथा मुख्य दिन आज बिहीबार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर मनाइँदै छ । सत्य, अहिंसाप्रति मानवको रुची बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीहरूको महान चाड हो, छठ पर्व । तराईका सबै जातजातिले साझा रूपमा मनाउने यस पर्वको विशेषता हो । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा र उपासना गरिन्छ ।
पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन मंगलबार ‘नहाय–खाय’ सम्पन्न गरेका बर्तालुले बुधबार कार्तिक शुक्ल पञ्चमी तिथिका दिन ‘खरना’ गरे । बुधबार बिहान पवित्र स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सख्खरमा पकाइएको खिर कूल देवता र छठी देवीलाई चढाई बर्तालुले त्यही खिर खाने चलन छ । यो विधिलाई ‘खरना’ भनिन्छ ।
श्रद्धा, निष्ठा, समर्पणभाव र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठ पर्वको ‘खरना’ का दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सक्खर, दूध र मसिंरमा पाक्ने स्थानीय जातको धानको चामल मिलाइ पकाइएको खिर केराको पातमा राखेर छठी मातालाई चढाएर बर्तालु र परिवारका अन्य सदस्यले प्रसादको रुपमा खाने गर्छन् । बुधबार दिनभरि उपवास गर्ने बर्तालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर यो विधि सम्पन्न गरे ।
पर्वको तेस्रो दिन बिहीबार अर्थात् कात्तिक शुक्ल षष्ठी तिथिमा सूर्य उपासनाको निराहार व्रत बसेर साँझपख बर्तालुले जलाशयमा बनेको मनोरम घाटमा पुगेर कम्मरसम्म डुब्ने पानीमा चोबलिएर अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिनेछन् । यसलाई मिथिलामा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिएको छ ।
त्यसैगरी सप्तमीका दिन बिहान बर्तालुले उदाउँदो सूर्यलाई दोस्रो अघ्र्य दिएर पर्व समापन गर्ने मैथिल चलन छ । उदाउँदो सूर्यलाई दिइने अघ्र्यलाई मिथिलामा ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ । अघ्र्य दिँदा पहिले जटासहितको नरिवल र त्यसपछि क्रमशः पर्वका लागि पकाइएका मिष्ठान्न परिकार र केरासहितका फलपूmल सूर्यदेवलाई देखाउने चलन छ ।
छठ पर्वमा बनाइएका प्रसाद ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार इष्टजनलाई घरमै बोलाएर खुवाउने र आफन्तकहाँ पु¥याउन जाने मैथिल परम्परा छ । पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ । अघ्र्य दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार ढिकी–जाँतोमा कुटिएको, पिसिएको पिठोबाटै तयार गरिन्छ । पर्वमा अघ्र्य दिने पवित्र जलाशय किनारमा घाट बनाइने र सरसफाइ गरिने कामलाई महत्वका साथ लिने गरिएको छ । केही वर्ष पहिलेसम्म मधेसी मूलका हिन्दुले मात्र मनाउँदै आएको यो पर्व अब सबै मूलमा फैलिएको छ ।
छठको सामाजिक र प्राकृतिक महत्व
सूर्य उपसना गरिने यो पर्व परिवारको ज्येष्ठ महिला वा बुहारीको नेतृत्वमा ४ दिनसम्म मनाइन्छ । छठ पर्वको आरम्भदेखि अन्त्यसम्म गीतको ध्वनि गुञ्जिरहन्छ । ‘पिठो पिंध्दा, परिकार बनाउँदा, पूजा सामग्री नदी, पोखरी वा जलासयसम्म लैजाँदा, पूजा चलिरहँदा र सूर्य देउतालाई अघ्र्य चढाउने बेलामा समेत गीत गाईन्छ ।’ कात्तिक महिनाको चौथीदेखि बर्तालु भई यो पर्व मनाउन शुरु गरिन्छ र सप्तमीको विहान यो पर्वको समापन गरिन्छ । पहिलो दिन अर्थात चतुर्थीका दिनलाई ‘अरबा–अरबाइन’ वा नहान खान भन्ने गरिएको छ । यो दिनमा बर्तालुहरूले खोला, नाला, नदी, पोखरी र तलाउलगायतका जलाशयमा गई नुहाइधुवाइ गरेर शुद्ध भई चोखो खाना खाने गर्छन् । व्रतीले भोजनमा माछामासु, लसुन, प्याज र कोदो जस्तो वस्तु परित्याग गरी यसै दिनदेखि व्रत बस्न थाल्छन् । यो दिनलाई बर्तालुहरूले आँखा पनि भन्ने गरिन्छ ।
पञ्चमी तिथि (दोस्रो दिन) लाई ‘खरना’ (संरक्षण अर्थात पापको क्षय) भनिन्छ । खरना छठ पर्वको अघिल्लो दिन भएकाले यो दिन बर्तालुहरू दिनभरि निर्जला व्रत बस्छन् र साँझ पख नुहाएर चोखो भई आफ्नो कुल देवता स्थापना गरेको पूजा कोठामा नयाँ चुल्हो स्थापना गरी प्रसाद बनाउने गरिन्छ । प्रसादको रुपमा विशेषगरी पाकेको केरा र खिरलाई लिन्छ । त्यसपछि गाईको गोबरले लितपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतीले राति चन्द्रोदयपछि चन्द्रमालाई पायस (खिर) चढाई सोही प्रसाद ग्रहण गर्छन् । यस दिनपछि व्रतीले पूर्ण व्रत लिनुपर्दछ ।
षष्ठीका दिन (तेस्रो दिन) गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान–पिसान गरी सोबाट निस्केको पिठोबाट विभिन्न गुलियो खाद्य सामग्री बनाइन्छ । छठ पूजाका सामग्री तयार पर्दा विशेष चनाखो हुन्छन् । पूजाका सामग्रीलाई चोखो र शुद्ध हुनुपर्दछ, जुठो हुन गएमा अनिष्ट हुने जनविश्वास छ । त्यसैले पूजा सामग्री तयार पार्दा महिलाहरूले श्रद्धापूर्वक यस्तो गीत गाउने गर्छिन् ः
केरवा ज फरल घउरस वोपर सुगा मडराय,
मारबौ रे सुगवा धनुषस सुगा गिरे मुरझाय ।
छठ मातालाई चढाउने फलफूल जुठो हुनुहुन्न । छठ मातालाई चढाउने केरा सुगाले नखाउन भनेर गीतवाटै सचेत गराउन खोजिएको छ । सोही दिन अन्नबाहेक फलफूल, ठकुआ, भुसवा, खजुरी, पेरुकिया तथा मूला, गाजर, बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नांगलोे, कोनिया, सरबा, ढाकन, माटोको हाथी ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशयसम्म पुग्ने गर्छन् । यस अवसरमा बर्तालु महिलाले श्रद्धापूर्वक गाउने गर्छन् ।
हातबा मे फूलवा के डलिया, छठ पूजन जाय ।
छठी मैया होइब सहाय, छठ पूजन जाय ।।
(अर्थात् हातमा फूलको डालो लिएर छठी मैयाको पूजाका लागि गइरहेका छौंँ, छठी माता हामी माथि बिशेष कृपा बनाइराख्नु होला)
यस पर्वमा चढाइने वस्तुहरू पनि प्रकृतिमै आधारित छन् । जस्तै उखु, बोट समेतको बेसार र त्यसबेला उपलब्ध अन्य कृषि—खाद्य सामग्री । यसले पनि प्रकृतिको सम्मान गर्नुपर्ने पाठ नै यस पर्वले सिकाउँछ । निर्धारित जलाशयमा पुगेर परिकारहरू जलाशयको किनारमा राख्नुअघि त्यस ठाउँ र पूजा सामग्रीलाई व्रतीले पाँचपटक साष्टंग दण्डवत् गर्छन् । त्यस ठाउँलाई पवित्र पार्न परिवारका सदस्यले पहिले नै तान्त्रिक पद्धतिअनुरूप ‘अरिपन चित्र’ कोरेका हुन्छन् । त्यसपछि व्रतीले सन्ध्याकालीन अर्थात् अस्ताउन लागेको सूर्यलाई प्रसाद स्वरुप अर्घ दिनका लागि पानीमा पसेर सूर्य अस्ताउन्जेलसम्म आराधना गर्ने गर्छन् । यस क्रममा व्रतीले दुवै हत्केलामा ‘पिठार’ र सिन्दुरलगाएर अक्षेता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्पण गरेर डिलमा आउने गर्छन् ।
पर्वको चौथो दिन (अन्तिम दिन) लाई पारन (पार्वण) भनिन्छ । यस दिन बिहान उषाकालमा व्रत गर्नेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहो¥याई प्रातकालीन सूर्यलाई अर्घ दिई पर्वको समापन गरिन्छ । अर्घ सम्पन्न भएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ । व्रतीले छठ व्रतको कथा सुन्छन् र सुनाउँछन् । यस पर्वमा यथासम्भव टुप्पोमा पात भएको चारवटा उखुलाई गाडेर त्यसभित्र पूजा गर्ने चलन पनि रहेको छ । प्रातःकालीन अर्घमा दीप मालाले सजिएका जलाशयमा अपूर्वको अनुभूति पनि हुन्छ ।
महाभारतका अनुसार द्रोपदीसहित पाण्डवहरू अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डवहरू मिथिलाको बिराट राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसुयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन र त्यही बेलादेखि ‘छठ पर्व’ गर्ने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ ।
छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि त्यत्तिकै छन् । वैज्ञानिक ज्योतिष तथा चिकित्सकहरूले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् । संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । तिनको शक्तिबिना रुख, विरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सा माथि कैयौं चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणवाट केैयौं असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ । साम्ब पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ ।
छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देउता प्रसन्न भई व्रतीलाई कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट व्रत गराउने गर्छन् । आर्थिक अभावमा भिक्षा मागेरै भए पनि मानिसहरू यो पर्व मनाउने गर्छन् ।
दसैं जस्तै छठ पर्व वर्षमा दुई पटक मनाइन्छ । कात्तिक र चैत महिनाको शुक्ल पक्षमा मनाइने यो पर्व पारिवारिक सुख, सम्वृद्धि, पुत्र प्राप्ति र मनोकामना पूर्तिका लागि गरिन्छ । तराईवासीहरूको महान चाड छठ पर्व पछिल्लो दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरणतर्फ उन्मुख भएको छ । सूर्य र प्रकृतिले जसरी कसैप्रति भेदभाव गर्दैन । त्यसरी नै छठ पर्वले पनि कसैलाई भेदभाव गर्दैन । सबै जातजातिले साझा रुपमा मनाउने यस पर्वप्रतिको आस्थामा कसैमा विभेदको अनुभूति हुँदैन ।
जलेश्वरमा मात्रै ५० लाखको केरा आयात
जिल्ला सदरमुकाम जलेश्वरमा छठ पर्वमा बिक्री गर्ने उद्देश्यले व्यवसायीले भारतबाट ५० लाख बराबरका केरा भित्र्याएका छन् । बुधबार जलेश्वरमा लाग्ने अन्तिम हाटबजारमा ५० लाखको केरा ल्याइएको व्यवसायी गणेश साहले बताए । पहिलेपहिले २०–२५ लाखसम्मको केरा ल्याइने गरिएकामा यस वर्ष ५० लाख रुपैयाँको केरा ल्याइएको अर्का व्यवसायी उत्तिम साहले बताए ।
जलेश्वरमा केरा व्यवसाय गर्दै आएका पाँच–सात जना व्यापारीले सामूहिक रूपमै यसपालि २५ ट्रक केरा मगाएका छन भने उनीहरूले सो ट्रकलाई आपसमा आफूले गरेको लगानीका आधारमा बाँडेर बेच्ने गरेका छन् । विगत वर्षहरूमा १५ देखि २० ट्रकमात्र केरा आउने गरेको जलेश्वरमा यस वर्ष ४० ट्रक केरा भित्रिएको छ ।
ग्रामीण क्षेत्रबाट बसाइँसराइ र आन्तरिक रूपमै पनि जलेश्वरमा दिनानुदिन बढ्दै गरेको जनसंख्यालाई मध्यनजर गर्दै यसपालि स्थानीय केरा व्यापारीले ५० लाख रुपैयाँको केरा ल्याएको र सबै बिक्री हुने दाबी गरेका छन् । जलेश्वर बजारमा यसपालि केरा प्रतिघार छ–सात सयदेखि एक हजार, १५ सयसम्म बिक्री भइरहेको छ । बजारमा ल्याइएका गोपाल, मालभोग, वंशीभोग र मृचमान प्रजातिका केराहरू छन् । जलेश्वर नगरपालिकाको १२ वडालगायत वरपरका अन्य पालिकाका बर्तालु पनि जलेश्वर बजारमा केरा किन्न बिहानैदेखि बजार आएका छन् ।
केरा किन्नेको भीड
मिथिलाञ्चलमा भव्यतापूर्वक मनाइने छठ पर्वको तयारीमा श्रद्धालुहरू लागेका छन् । बर्तालुहरू नहाए खाए विधिसँगै छठ व्रतको शुभारम्भ गरेका छन् भने श्रद्धालुहरू छठ पर्वमा प्रयोग हुने पूजाका सामग्री जुटाउने तयारीमा लागेका छन् । छठ पर्वमा अनिवार्य रुपमा प्रयोग हुने पूजा सामग्रीमा केरा तथा नारिवल लगायतका फल पर्छन् ।
जनकपुरको फलफूल मण्डीमा केरा किन्न आउनेहरूको भीड बढेको छ । छठ पर्वको प्रमुख प्रसादको रुपमा प्रयोेग हुने केरा किन्नेहरूको जनकपुरधामका प्रमुख बजारहरूमा केही दिन यता भीड लागेको छ । प्रत्येक वर्ष जस्तै यसवर्ष पनि केराको बिक्री छठ पर्वको पूर्व सन्ध्यामा व्यापक वृद्धि भएको छ । यद्यपि अन्य वर्षहरूभन्दा महँगो मूल्यमा श्रद्धालुहरू केरा किन्न बाध्य भई रहेका छन् । यस वर्ष पछिल्लो वर्षको तुलनामा दोब्बर मूल्य तिरेर केरा किन्न परिरहेको गुनासो उपभोक्ताहरूको छ ।
छठका लागि केरा किन्न पुगेका उपभोक्ता पहिलेको तुलनामा छठ पर्व धेरै महँगिएको बताउँछन् । पहिला पहिला ३०० देखि ५०० रुपैयाँमा केरा किन्न पुग्थ्यो, तर यस वर्ष कम्तीमा ८०० देखि १ हजार रुपैयाँसम्म मात्रै केरा खरिद गर्नुमा खर्चिनु परिरहेको छ । मधेस प्रदेशको राजधानी जनकपुरधाममा मात्रै छठका लागि ५ करोड रुपैयाँ बराबरको केरा भारतबाट आयात गरिएको छ । अघिल्लो वर्ष करिब ४ करोडभन्दा बढीको केरा भित्र्याइएकामा यस वर्ष ५ करोड बराबरको ८५ ट्रक केरा आयात गरिएको व्यवसायीले जनाएका छन् ।
प्रतिक्रिया