बारा । जिल्लाको पचरौता नगरपालिकामा परम्परादेखि लाग्दै आएको महाबिरी झन्डा मेलाको विवाद चर्किंदै गएको छ । पचरौता नगरपालिका–७ बेनौली गाउँमा परम्परादेखि लाग्दै आएको महाबिरी झन्डाका लागि ३ ओटा मेला समिति गठन भएपछि मेलापूर्व नै विवाद चर्केको हो ।
पचरौता नगरप्रमुख जलन्धर सिंह जैसवारले मेला लगाउने नाममा विभिन्न समूहले जबरजस्ती चन्दा उठाउने काम गरिरहेकाले तत्काल रोक्न र चन्दा उठाउनेमाथि कारबाहीको माग गरेका छन् । हरेक वर्ष छठ पर्वको समापनसँगै सुरु हुने मेलामा गत वर्ष निकै विवाद भएको थियो । विवाद बढेपछि प्रहरीले दर्जनौँ राउन्ड गोली चलाएको थियो ।
विगतदेखि मेला लाग्दै आएको भए पनि केही वर्षदेखि मेलामा विवाद हुँदै आएको छ । मेलामा हुने विवाद रोक्न वडा कार्यालयको पहलमा नगरपालिकाले मेला समिति निर्माण गरेपछि झन् विवाद चर्किएको हो । मेलाका लागि नगरपालिकाको नगरसभा तथा बोर्ड बैठकले ५ लाख रुपैयाँ छुट्याएर मेला लगाउन समितिलाई कार्यादेश दिइसकेको छ ।
केही मानिसले आफ्नो स्वार्थ पूरा नहुने देखेपछि मेला लगाउन नै रोक लगाउनुपर्ने माग गर्दै अदालतमा मुद्दा दायर गरेका थिए । अदालतले तत्कालका लागि मेला लगाउन रोक लगाउन मिल्ने कारण नदेखिएको भन्दै आदेश दिइसकेको छ ।
परम्परादेखि लाग्दै आएको मेलाको स्थानको विषयमा पनि विवाद उठेको छ । नगरपालिकाले महाबिरी झन्डा तथा ब्रह्मबाबा पुजन कार्य मेला स्थानीय विद्यालयमा हुँदै आएकामा नगरपालिकाले नजिकै रहेको पोखरीको ठुलो डिललाई स्थान तोकेको छ । पोखरीको डिलमा मेला सारिएपछि कतिपयले पहिले लाग्दै आएको विद्यालयमा नै मेला लाग्नुपर्ने भन्दै मेला समिति गठन गरेका छन् ।
विद्यालयको चौरमा मेला लगाउन उचित नहुने भन्दै अर्को समूहले विद्यालय बाहिर मेला लगाउने भन्दै तेस्रो मेला समिति पनि गठन गरेका छन् ।
विद्यालयभित्र र विद्यालय बाहिर मेला लगाउने भन्दै आफूखुसी मेला समिति गठन गरेका समूहहरूले स्थानीयसित चन्दा असुल गरिरहेको नगर प्रमुख जैसवारको भनाइ छ ।
मेला लगाउन, नाच, जात्रा गराउन तथा मदिराको बिक्रीका साथै जुवाबाट रकम असुल गर्न केही मानिसले महाबिरी मेलालाई बदनाम गराउन चाहेको नगरप्रमुख जैसवारको भनाइ छ । नगरप्रमुख जैसवारले सोमबार पत्रकार सम्मेलन गरी मेलालाई सभ्य र भव्यतापूर्वक लगाउन स्थानीयलाई सहयोगका लागि आग्रह गरेका छन् । मेलामा कुनै किसिमको विकृति हुन नदिनको लागि र नगरपालिकाले तोकेको ठाउँसँगै अन्यत्र सोही मितिमा मेला लगाउन दिँदा झैझगडा हुने भएकोले अन्यत्र मेला लाग्न नदिन नगरप्रमुखले माग गरेका छन् ।
नगरप्रमुख जैसवारले शान्ति सुरक्षाको लागि जिल्ला प्रशासन कार्यालय बारा र जिल्ला प्रहरी कार्यालय बारासित तिन सय प्रहरीको माग गरिएको बताउँदै नगर प्रहरी तथा स्वयंसेवकहरू पनि मेलाको व्यवस्थापन तथा शान्ति सुरक्षाको लागि परिचालन गरिने बताएका छन् । नगरपालिकाले तोकेको ठाउँभन्दा अन्यत्र मेला लाग्न नहुने र सम्बन्धित निकायले पनि ध्यान दिनुपर्ने जैसवारको तर्क रहेको छ ।
यता सोही नगरपालिका–४ का वडाध्यक्ष एवं नगर प्रवक्ता लक्ष्मी यादवले सबै कुराको स्मरण गराउँदै प्रेस रिलिज पढेर सुनाए । उनले पनि वडाको अनुमतिबिना कुनै किसिमको मेला, नाटक, झाँकी, नाच गर्न नहुनेमा जोड दिए । सो अवसरमा मेला आयोजना भइरहेको वडा नम्बर ७ का वडाध्यक्ष बनारसी बिन, शिक्षा सहायक प्रमुख मुकेशकुमार सिंह, भैयाराम यादवको पनि उपस्थिति थियो ।
प्रतिक्रिया