वीरगन्ज । पर्सा प्रहरीले वीरगन्जका उद्योगी प्रेमकुमार जाटियालाई पक्राउ गरेको छ । व्यापारी जाटियाले लेनदेनको ५ लाख रुपैयाँ नतिरेका कारण पक्राउ परेको प्रहरीले बताएको छ ।
पर्सा अदालतको फैसला कार्यान्वयन गर्ने सिलसिलामा जाटियालाई पक्राउ गरिएको पर्सा प्रहले बताएको छ । प्रहरीका अनुसार जाटियालाई आइतबार दिउँसो वीरगन्जको गरिमा विकास बैंकमाथि रहेको युनिक फर्मास्युटिकल्सको कार्यालयबाट पक्राउ गरेको हो ।
पक्राउ परेको जाटियालाई आइतबार नै अदालतमा बुझाइएको पर्सा प्रहरीले बताएको छ । वीरगन्ज–२ छपकैयास्थित श्रीराम कोलोनीमा माटो पुरेबापत ठेकेदार कम्पनी सत्यम सप्लायर्सलाई जाटियाले ५ लाख रुपैयाँ भुक्तानी नदिएपछि विवाद उत्पन्न भएको थियो । त्यसपछि सोही विवादका कारण ठेकेदार कम्पनी आफ्नो पैसा लिन अदालत गएको थियो ।
ठेकेदार कम्पनीका सञ्चालक सञ्जयकुमार श्रीवास्तव र संगीताकुमारी वादी रहेको उक्त मुद्दामा पर्सा जिल्ला अदालतले २०७१ वैशाख ३० गते गरेको फैसलाअनुसार बिगो भराउन आदेश दिएको थियो । तर, जाटियाले बिगो नभरेपछि पुनः २०८१ कात्तिक २ मा अदालतले फेरि अर्को आदेश जारी गरेको थियो ।
उक्त आदेशमा अदालतले ६ महिना कैदमा राखेर बिगो असुल गर्ने भनेको थियो । अदालतको यही आदेशको कार्यान्वयनका लागि प्रहरीले जाटियालाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया