सिरहा । ५ जना लागुऔषध सेवनकर्ताले आफ्नै साथीको हत्या गरेको खुलेको छ । जिल्लाको गोलबजार नगरपालिका–१३ का २१ वर्षीय कृष्णकुमार महराको हत्या उनका आफ्नै साथीहरूले गरेको पुष्टि भएको छ । कृष्णको शव असोज २८ गते साँझ सुखीपुर नगरपालिका–१० स्थित गागन खोलाको किनारमा कम्मरभन्दा माथिको भाग बालुवाले छोपिएको अवस्थामा फेला परेको थियो ।
प्रहरीको अनुसन्धान अनुसार, कृष्णको हत्या उनीसँगै दुर्गामेला हेर्न गएका लागुऔषध सेवनकर्ताहरूले क्रूर यातना दिएर गरेको खुलेको हो । हत्या आरोपमा गोलबजार नगरपालिका–१३ डंगराहा टोलका २७ वर्षीय सन्तोष कुमार महरा, २८ वर्षीय रोहितकुमार महरा, २१ वर्षीय धर्मेन्द्र महरा, १९ वर्षीय धीरजकुमार राम, र २० वर्षीय मोहमद जमसेदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
असोज २७ गते राति कृष्ण र रोहित दुर्गा पूजाको मेला हेर्न सुखीपुर नगरपालिका–१० शिवचौकमा गएका थिए । त्यहाँ उनीहरूको अन्य साथीहरूसँग भेट भएको थियो । डिएसपी पासवानका अनुसार, सबैले मेला स्थलबाट पूर्वतिरको खोलानजिक गई गाँजा र नाइट्राभेट ट्याबलेट सेवन गरेका थिए । त्यसक्रममा, कृष्णले आफूले चिनेकी एक केटी साथीलाई भेट्न बोलाउने योजना बनाएका थिए, तर अन्य साथीहरूले पनि ती महिलासँग भेट्ने इच्छा व्यक्त गर्दा कृष्णले अस्वीकार गरे । यही विवादले झगडा चर्कियो र रिसको झोकमा पाँचै जनाले हत्या योजना बनाए ।
पाँचै जना मिलेर कृष्णलाई चारैतिरबाट घेरेर धारिलो कैँचीले घाँटी र पेटमा प्रहार गरी निर्ममतापूर्वक हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । अपराध लुकाउन उनीहरूले गागन खोलाको पश्चिमतर्फ खाल्डो खनी, कृष्णको शरीरको माथिल्लो भाग बालुवाले ढाकेर भागेका थिए । असोज २८ गते कृष्णको शव फेला परेपछि अनुसन्धानको क्रममा आफ्नै साथीहरूले हत्या गरेको पुष्टि भएको प्रहरीले जनाएको छ । प्रहरीले आरोपीहरूलाई पक्राउ गरी कर्तव्यज्यान मुद्दामा म्याद थप गरेर थप अनुसन्धान गरिरहेको डिएसपी पासवानले बताएका छन् ।
प्रतिक्रिया