जनकपुरधाम । जनकपुरधाममा भूमि लोक उत्सवको दोस्रो संस्करण आयोजना हुने भएको छ । यही कात्तिक १० गते शनिबार भूमि फाउन्डेसनको आयोजनामा सो उत्सव हुन लागेको छ ।
जनकपुरधाममा आइतबार पत्रकार सम्मेलनमार्फत भूमि फाउन्डेसनका संस्थापक अध्यक्ष रञ्जन झाले भूमि लोक उत्सवको दोस्रो संस्करण जनकपुरधामस्थित तिरहुतिया गाछीमा आयोजना हुने जानकारी दिए । आधुनिकतासँगै मिथिला क्षेत्रका लोक गीत, परम्परा, रितिरिवाजहरू लोपोन्मुख अवस्थामा रहेकाले सोको संरक्षण र प्रवद्र्धनमा विशेष योगदान हुने उनले बताए ।
भूमि लोक उत्सवमा ख्यातिप्राप्त संगीत साधकहरू सहभागी हुने बताउँदै उनले उत्सव अवधिभर मिथिला–मधेस क्षेत्रको झल्को दिने गरी लोक झाँकी, लोक नाच प्रदर्शन गरिने कार्यक्रम रहेको बताए ।
मिथिला क्षेत्रको सांगीतिक एवं सांस्कृतिक विरासतलाई बृहत्तर मञ्चमा उजागर गर्दै, आञ्चलिक, राष्ट्रिय, तथा अन्तर्राष्ट्रिय कलाकारहलाई एकै ठाउँमा प्रस्तुत गर्ने उद्देश्यले गत वर्षदेखि सुरु गरिएको भूमि लोक उत्सवको दोस्रो संस्करण यही कात्तिक १० गते शनिबार आयोजना गर्न लागिएको बताए । उनले राष्ट्रिय मूलधारबाट बहिष्करणमा परेका मधेस र मिथिला क्षेत्रका समृद्ध कला तथा सांस्कृतिक अभिव्यक्तिको संरक्षण र पुनरुत्थानमा सहयोग गर्ने उत्सवको मुख्य लक्ष्य रहेको बताए ।
पूर्वी पहाडका लिम्बू समुदायको संगीत एवं मुन्धुम संस्कृतिलाई आफ्नो कुशल गायनमार्फत् संसारमा फैलाउन सफल प्रख्यात गायिका एवं शोधकर्ता झुमा लिम्बूदेखि भारत गौरव सम्मानबाट सम्मानित वरिष्ठ मैथिली लोक गायिका डा. रञ्जना झा र ४ दशकदेखि नेपाल र भारतको नाट्य एवं कला क्षेत्रमा सक्रिय नाट्यसमूह मिथिला नाट्यकला परिषद् (मिनाप) देखि समसामयिक नेपाली आधुनिक संगीतमा अत्यन्त सफल गायक तथा लेखक सुशान्त घिमिरेसम्मले उत्सवलाई जीवन्त र स्मरणीय बनाउने उनले बताए ।
संस्थापक अध्यक्ष झाले मधेस र मिथिला क्षेत्रको संगीत र कलाको संरक्षण एवं पुनरुत्थान अहिलेको ठूलो आवश्यकता रहेको बताउँदै भूमि लोक उत्सवले मधेसको सांस्कृतिक पुनर्जागरणमा महत्वपूर्ण सहजीकरण गर्ने बताए ।
उत्सव अवधिभर मधेस र मिथिलाको झल्को दिने विभिन्न नाचगान र सांस्कृतिक झाँकी प्रदर्शन गरिनुका साथै विभिन्न स्टलसमेत राखिने आयोजकले जनाएको छ । उत्सवमा फोटो सर्कलसँगको सहकार्यमा ‘सार्वजनिक जीवनमा महिला’ नामक फोटो प्रदर्शनीसमेत सामेल हुने बताइएको छ । जनकपुरधामको तिरहुतिया गाछीमा कात्तिक १० गते शनिबार दिउँसो १ बजेदेखि उत्सवको औपचारिक प्रस्तुति सुरु हुनेछ ।
सो उत्सवमा विभिन्न १२ वटा समूहका गरी कूल ५० जनाभन्दा बढी कलाकारहरूको सहभागिता रहने अध्यक्ष झाले जानकारी दिए । उत्सवमा करिब ३५ लाख रुपैयाँसम्म खर्च हुने उनको भनाइ छ ।
प्रतिक्रिया