बारा । बारामा रहेको प्रसिद्ध गढीमाई मन्दिरमा लाग्ने पञ्चवर्षीय मेलाको तयारी तीव्र रूपमा भइरहेको छ । हरेक ५ वर्षमा यस मन्दिरमा भव्य मेला लाग्ने गरेको छ । यो वर्ष १ मंसिरदेखि नै मेला लाग्ने भएको हुँदा भक्तजन तथा दर्शनार्थीको सहजताका लागि मेला समितिले आवश्यक तयारी गरिरहेको जनाइएको छ । गढीमाई मेलामा आन्तरिक दर्शनार्थीका साथै भारतबाट समेत ठुलो संख्यामा दर्शनार्थी आउने गरेका कारण यहाँको व्यवस्थापनमा समिति लागेको छ ।
गढीमाईमा लाग्ने पञ्चवर्षीय मेला १ महिनासम्म लाग्ने गर्दछ । मेलाका अवसरमा यहाँ विभिन्न पशुको बलि दिने गरिन्छ । स्थानीयका अनुसार गढीमाई मन्दिरमा आफूले चाहेको कुरा भाकल गरिन्छ र मनोकामना पूरा भएपछि यहाँ बलि दिने परम्परा रहेको छ ।
अन्य मन्दिरहरूमा प्रायः ब्राह्मण पुजारी हुन्छन् । तर, गढीमाई मन्दिरको मूल पुजारी र अन्य पुजारी भने चौधरी समुदायका रहेका छन् ।
यहाँको विशेषगरी राँगाको बलि दिइन्छ । तान्त्रिक विद्याका कारणले गढीमाई मन्दिरमा राँगा बलि दिने गरिएको बताइन्छ ।
मेला आयोजक समितिका अनुसार यो वर्ष १ महिनाको अवधिमा गरेर करिब ३ करोडको हाराहारीमा दर्शनार्थी आउने आँकलन छ ।
जसका लागि मेला समितिले यो वर्ष १ हजार बिघामा मेला लगाउने तयारी गरेको छ । सो क्षेत्रफलमा विभिन्न स्टलदेखि लिएर मनोरञ्जनका साधन, पार्किङ, सातै प्रदेशका कृषिजन्य वस्तु राख्ने तयारी गरिएको छ ।
यो वर्ष विशेष पूजाका लागि सहयोग स्वरूप ५०० रुपैयाँ तोकिएको छ । विशेष पूजाबापत संकलन भएको रकमले मन्दिरमा पूजारी राख्ने तथा अन्य सरसफाइका काममा खर्च गर्ने योजना रहेको मेला समितिले जनाएको छ ।
प्रतिक्रिया