रौतहटमा धारिलो हतियारको प्रहारबाट १ जना गम्भीर घाइते

रौतहट । रौतहटमा धारिलो हतियारको प्रहारबाट १ जना युवक घाइते भएको छ । जिल्लाको गढिमाई नगरपालिका–१ समनपुरमा मंगलबार राति ८ः३० बजेको समयमा धारिलो हतियारको आक्रमणबाट ती व्यक्ति गम्भीर घाइते भएका हुन् ।

मोटरसाइकलमा यात्रा गरिरहेका बेला ३५ वर्षिया चन्दन साहमाथि अज्ञात समूहले खुकुरी प्रहार गर्दा साह गम्भीर घाइते भएका हुन । ना ४८ प ४५५७ नम्बरको मोटरसाइकलमा रौतहटको गरुडा नगरपालिका–९ नरकटिया गाउँबाट समनपुरतर्फ जाँदै गर्दा अज्ञात समूहले साहमाथि खुकुरी प्रहार गरेका थिए ।

घटनामा संलग्न व्यक्तिको नाम र पहिचान हालसम्म खुल्न नसकेको रौतहट प्रहरीले जनाएको छ । आक्रमणबाट साहको टाउको, टाउकोको पछाडि र बायाँ हातमा गहिरो चोट लागेको छ । घटनापश्चात् साहलाई स्थानीय सरस्वती अस्पताल गरुडामा तत्काल उपचार गरिएको र घाइतेको अवस्था गम्भीर भएको कारणले उनलाई थप उपचारको लागि वीरगन्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा रिफर गरिएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीले जानकारी दिए ।

घटनापछि इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा खोजतलास गर्दा आक्रमणमा प्रयोग गरिएको खुकुरी र १ थान कटुवा पेस्तोल बरामद गरेको छ । प्रहरीले घटनाको अनुसन्धानलाई तीव्रता दिइरहेको छ र दोषीलाई चाँडै कानुनी दायरामा ल्याइने जानकारी दिएको छ । यस हिंसात्मक घटनाले स्थानीय समुदायमा त्रास फैलिएको छ भने प्रहरीले यसप्रति गम्भीर ध्यान दिएको बताएको डिएसपी कार्कीले बताए । घटनाको यथार्थ पत्ता लगाउन अनुसन्धान जारी रहेको र दोषीलाई कानुनको दायरामा ल्याई आवश्यक कानुनी कारबाही गरिने डिएसपी कार्कीको भनाइ छ ।

प्रतिक्रिया