महोत्तरी । औरहीमा मंगलबार राति डाकाहरूको एक समूहले लाखौँको धनमाल लुटपाट गर्नुको साथै घरधनीलाई कुटपिट गरी घाइतेसमेत बनाएको छ । औरही नगरपालिका–१ बस्ने केबल साहको घरमा ६ जनाको डाका समूहले लुटपाट गरेका हुन् । मध्यरातमा घरको पछाडि पट्टी पूर्वतिरको ढोका खोली प्रवेश गरी लुटपाट मचाएका थिए ।
डाकाहरूले नगद, सुनचाँदीका गरगहनासमेत गरी ५ लाख ९२ हजार ६०० बराबरको धनमाल लुटेर लगेको पीडितले जनाएका छन् । डाकाहरूले रडले प्रहार गरी रंजित साहलाई घाइतेसमेत बनाएका थिए । साहको टाउकोमा ९ वटा टाका लगाउनु परेकोे र निजको औरही बजारमा रहेको राधाकृष्ण हस्पिटलमा उपचार भइरहेको छ ।
सो घटना संलग्न हुन सक्ने आशंकामा साहको मिलमा पहिला काम गर्ने कामदार औरहीकै अस्लम अंसारीलाई पक्राउ गरिएको छ । साथै उक्त घट्नापश्चात औरही नगरपालिका–१ बस्ने श्रम मन्त्री शरत सिंह भण्डारीको घरमा वाल जम्प गरी प्रवेश गरेर त्यहाँबाट चार्जमा रहेको मोबाइल १ थान र माथिल्लो कोठामा रहेको दराजबाट लुगा र चेकबुक लगेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया