बज्जिकाको अक्षयकोषमा ५ हजार थप

रौतहट । बज्जिका भाषा र साहित्यको विकासमा अत्यन्त विशिष्ट भूमिका निर्वाह गरेको तुलसी साहित्य पुरस्कारमा ५ हजार १०० रुपैयाँ थप गरिएको छ । पुरस्कार संस्थापक समाजसेवी धर्मनाथप्रसाद जयसवालले पुरस्कारको अक्षयकोषमा ५ हजार १०० रुपैयाँ थप गरेका हुन् । दसैँको अवसर पारेर समाजसेवी जयसवालले पुरस्कारको अक्षय कोषमा रकम वृद्धि गरेका हुन् ।

हरेक वर्ष १ जना कविलाई १० हजार रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्र उपलब्ध गराउँदै आएको तुलसी साहित्य पुरस्कार कोष हरेक वर्ष वृद्धि हुँदै गएको छ । पुरस्कारको स्थापना हुँदा १ हजार रुपैयाँबाट सुरु भएको थियो । १ हजारबाट ५ हजार हुँदै अहिले पुरस्कारको राशि १० हजार रुपैया पुगेको हो । देश र विदेशमा रहेका विभिन्न बज्जिका साहित्यकारले तुलसी साहित्य पुरस्कार प्राप्त गरिसकेका छन् । नेपालमा पहिलो बज्जिका पुरस्कारको रूपमा स्थापित तुलसी साहित्य पुरस्कार रहेको छ ।

समयसमयमा संस्थापक समाजसेवी जयसवालले पुरस्कारको अक्षय कोषमा रकम वृद्धि गरिरहेका छन् । पुरस्कारको अक्षय कोषमा रहेको रकम साधारण ब्याजमा लगानी गरिएको छ । अक्षय कोषमा वृद्धिका लागि रकम बिस्तार गर्दै समाजसेवी जयसवालले भने ‘मैले आफ्नो जीवनमा गरेका राम्रा कामहरूमध्ये एक पुरस्कारको स्थापना पनि हो । बज्जिका भाषाको विकासमा तुलसी साहित्य पुरस्कारले योगदान दिइरहेको छ भन्ने सुनेर हाम्रो परिवारलाई सन्तुष्टि लाग्ने गरेको छ ।’ भविष्यमा पुरस्कारको अक्षय कोषको रकम र पुरस्कारको राशि दुवैमा क्रमशः वृद्धि गरिँदै लगिने प्रतिबद्धता जयसवालले व्यक्त गरेका छन् ।

प्रतिक्रिया